काठमाडौं। राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब अनलाइनबाटै अनुगमन गरिने भएको छ।
पहिलो चरणमा सिक्टा, रानी जमरा-कुलरिया, भेरी-बबई, सुनकोशी-मरिन, महाकाली र बबई सिँचाइ आयोजना अनलाइनबाट अनुमगमन गरिने भएको हो। यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एकीकृत डिजिटल अनुगमन पोर्टल सञ्चालनमा ल्याएको छ।
पोर्टल सञ्चालनमा आएसँगै अब मन्त्री र सचिवले आफ्नै कार्यकक्षबाट आयोजनाको भौतिक तथा वित्तीय प्रगति, बजेट खर्च, ठेक्का व्यवस्थापन, निर्माणको अवस्था तथा आयोजना उत्पन्न समस्यालाई प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्।
यसअघि आयोजनाको वास्तविक अवस्था स्थलगत निरीक्षण वा वर्षको अन्त्यमा प्राप्त हुने प्रतिवेदनमार्फत मात्र जानकारी हुने अवस्था थियो।
अब प्रत्येक आयोजना प्रमुखले हरेक साता भौतिक प्रगति, वित्तीय अवस्था, ठेक्का कार्यान्वयन, दाबी, विवाद, निर्माणमा देखिएका अवरोध तथा समाधानका प्रयासबारे विवरण अनिवार्य रूपमा पोर्टलमा प्रविष्ट गर्नुपर्ने छ।
यो प्रणालीले आयोजनामा देखिएका समस्यालाई नक्सासहित देखाउने, स्वचालित प्रगति प्रतिवेदन तयार गर्ने तथा कुन प्याकेज किन ढिलो भएको, कति समयदेखि समस्या रहेको र त्यसको समाधानको जिम्मेवारी कुन निकाय वा व्यक्तिमा रहेको छ भन्ने विवरणसमेत स्पष्ट रूपमा प्रस्तुत गर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पोर्टललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको अनुगमन प्रणालीसँग समेत एकीकृत गरिनेछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हालै सिक्टा, रानी जमरा-कुलरिया, भेरी-बबई र बबई सिँचाइ आयोजनाको स्थलगत निरीक्षण गरेपछि आयोजना व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ प्रणाली सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
मन्त्री श्रेष्ठले यसबाट आयोजनाको काम अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘महिनौंसम्म फाइलमा सीमित रहने समस्या अब समयमै पहिचान भइ समाधानका लागि निर्णय प्रक्रिया छिटो छरितो हुने विश्वास छ,’ उनले भने।











