काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। नेपाल र एडीबी बीचको ६० वर्ष लामो साझेदारीको अवसरमा काठमाडौं आएका उनले आज बालेनसँग भेट गरेका हुन्।
आजको भेटमा नेपालको आर्थिक रुपान्तरण, रोजगारी सिर्जना र लगानी बढाउने विषयमा छलफल भएको एडीबीले जनाएको छ।
भेटका क्रममा कान्डाले नेपाल अहिले एउटा निर्णायक मोडमा रहेको बताएका थिए। उनले नेपालसँग थप गतिशील र उत्थानशील अर्थतन्त्र निर्माण गर्ने अवसर रहेको पनि जनाएका थिए।
नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रुपमा एडीबीले आफ्नो सहयोगलाई तीव्रता दिइरहेको जनाएको छ। सहयोग रकमलाई सन् २०२९ सम्ममा २.४ अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ।
‘हाम्रो ध्यान जनताका लागि प्रत्यक्ष परिणाम ल्याउनमा केन्द्रित रहेको छ। यसअन्तर्गत रोजगारी सिर्जना, व्यवसायलाई सबल बनाउने र नेपालभरिका समुदायका लागि उत्तम जीविकोपार्जन निर्माण गर्नु रहेको छ,’ कान्डाले भने।
कान्डाको नेपाल भ्रमणका क्रममा एडीबीले आफ्नो वार्षिक प्रतिबद्धता अन्तर्गत कुल १६ करोड ५० लाख अमेरिकी डलर बराबरको दुईवटा ऋण सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ।
११ करोड ५० लाख डलरको खानेपानी तथा सरसफाइ परियोजनाले ८ लाख ५० हजारभन्दा बढी मानिसलाई भरपर्दो र सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने एडीबीले उल्लेख गरेको छ।
व्यापार सहजीकरण नीतिगत ऋण अन्तर्गत ५ करोड डलरले नेपालको सीमापार सामान ढुवानी गर्ने प्रणालीलाई आधुनिक बनाउने विश्वास लिइएको छ। डिजिटल प्रणालीको प्रयोग र प्रक्रियाहरुलाई सरल बनाएर व्यवसायीहरुको लागत घटाउन, दक्षता सुधार्न र प्रतिस्पर्धात्मक क्षमता बढाउन यसले सहयोग पुर्याउने जनाइएको छ।
भ्रमणका क्रममा कान्डाले एडीबीको लगानीमा संचालित विभिन्न आयोजनाहरुको स्थलगत निरीक्षण पनि गरेका थिए। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि नर्वेकी राजदूत ड्याग्नी मजोससँगको भेटका क्रमममै काठमाडौंको विद्युत आपूर्तिलाई थप सुदृढ बनाउन निर्माण गरिएका दुईवटा विद्युत सबस्टेशनहरुको उद्घाटन गरेका थिए।
यस्तै, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँगै कान्डाले सन् २०१५ को भूकम्पपछि पुनर्निर्माण गरिएका विद्यालय र विज्ञान र प्रविधि प्रयोगशालाको भ्रमण पनि गरेका थिए।
परिवर्तनशिल श्रम बजार अनुसार सीप सिकाउनका लागि विद्यालयहरूमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ बारे पढाउन नयाँ पाइलट कार्यक्रमहरू पनि सुरु गरिएको भनिएको छ।
कान्डाले सोमबार नै अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरेका थिए। त्यसक्रममा नेपालको व्यावसायिक वातावरणमा सुधार, लगानी परिचालन र सरकारको आर्थिक वृद्धि तथा उत्थानशीलताका प्राथमिकताहरुमा एडीबीको सहयोगबारे छलफल भएको थियो।
त्यससँगै कान्डाले नेपालका व्यवसायीहरुसँग पनि भेट गरेका थिए। भेटका क्रममा लगानीका अवसर, चुनौती, निजी क्षेत्रको विकास र रोजगारी सिर्जनाबारे चर्चा भएको थियो।
एडीबीले नेपालका लागि तयार पारेको ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी (२०२५–२०२९)’ अन्तर्गत वार्षिक ऋण प्रवाहलाई यो वर्ष ६६ करोड डलरसम्म र समग्रमा २.४ अर्ब डलर पुर्याउने योजना बनाइएको छ ।
यो सहयोग मुख्य गरेर रोजगारी सिर्जना, निजी क्षेत्रको विकास, दिगो पूर्वाधार निर्माण, सार्वजनिक सेवा प्रवाहमा सुधार, सामाजिक सशक्तीकरण र डिजिटल रूपान्तरणमा केन्द्रित हुने एडीबीले जनाएको छ।











