काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकमा (माघ-चैत)मा ३.५१ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ।
केन्द्रीय तथ्यांक कार्यालयका अनुसार विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम संकलन, व्यापार, सेवालगायत क्रियाकलापमा सामान्य सुधार देखिएको छ।
१८ वटा औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक अन्य औद्योगिक वर्गीकरणको वृद्धिदर धनात्मक हुने अनुमान गरिएको छ। जसमध्ये विद्युत तथा ग्यास सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै २४.८८ प्रतिशत छ।
यस औद्योगिक वर्गीकरणलाई पछ्याउँदै वित्तीय तथा बिमासम्बन्धी क्रियाकलाप, यातायात तथा भण्डारण र थोक तथा खुद्रा व्यापारमा क्रमश: १०. २७ प्रतिशत, ७.८३ प्रतिशत र ५.२५ प्रतिशत वृद्धि भएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार २०८१/८२ को तेस्रो त्रैमासको तुलनामा २०८२/८३ को तेस्रो त्रैमासमा निर्माण सामग्रीको आयात, धान बालीको उत्पादन तथा केही वस्तुको घरेलु उत्पादनमा भएको गिरावटका कारण वृद्धिदर सामान्य अवस्थामा रहेको देखिन्छ।
अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। धान बालीको उत्पादनमा कमी आएको भए पनि पशुपन्छी, तरकारीबाली तथा फलफुल र वन पैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको कार्यालयले बताएको छ।
त्यसैगरी अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ५.२५ प्रतिशत छ। व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा वृद्धिका कारण यस क्षेत्रको वृद्धिदर ५.२५ प्रतिशत भएको हो।
सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन वृद्धिदर भने क्रमश: १.५९ प्रतिशत र ०.५४ प्रतिशतले ऋणात्मक भएको प्रारम्भिक अनुमान कार्यालयले गरेको छ।











