फिफाको अप्रत्याशित निर्णय : बेल्जियमविरुद्ध खेल्न पाउने भए रेड कार्ड पाएका बालोगुन



बिजमाण्डू
२०८३ असार २२ गते ०८:४१ | Jul 6, 2026
फिफाको अप्रत्याशित निर्णय : बेल्जियमविरुद्ध खेल्न पाउने भए रेड कार्ड पाएका बालोगुन
Photo: AFP


काठमाडौं। अमेरिकाका स्टार स्ट्राइकर फोलारिन बालोगुन रेड कार्डका बावजुद फिफा विश्वकपको अन्तिम १६ को खेलमा बेल्जियमविरुद्ध खेल्न पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

फिफाले उनीमाथि रेड कार्ड पाएछि लागेको एक खेलको स्वतः प्रतिबन्ध स्थगित गर्ने निर्णय गरेपछि अमेरिकालाई ठूलो राहत मिलेको छ। यो निर्णयसँगै विश्व फुटबलमा नयाँ विवाद पनि सुरु भएको छ।

बालोगुनले बोस्निया तथा हर्जगोभिनाविरुद्ध अमेरिकाले २-० ले जितेको अन्तिम ३२ को खेलमा रेड कार्ड पाएका थिए। उनले बोस्नियाका तारिक मुहारेमोभिचको दायाँ खुट्टाको कुर्कुच्चामा टेकेको भन्दै रेफ्रीले रातो कार्ड देखाएका थिए।

विश्वकपमा हालसम्म ३ गोल गरिसकेका बालोगुन अमेरिकाका प्रमुख एट्याकर मानिन्छन्।

सामान्यतया रेड कार्ड पाएपछि एक खेलको प्रतिबन्ध स्वतः लाग्छ। तर, फिफाले उक्त प्रतिबन्ध एक वर्षको परीक्षण अवधिसम्मका लागि स्थगित गरेको घोषणा गरेको छ।

बालोगुनले यो अवधिमा उस्तै प्रकृतिको अर्को गल्ती गरे अहिलेको प्रतिबन्ध स्वतः लागू हुनेछ। नयाँ कारबाही पनि त्यसमा थपिने फिफाले जनाएको छ।

अमेरिकी टोलीले पनि यो निर्णय अप्रत्याशित रूपमा थाहा पाएको थियो। प्रशिक्षणका लागि होटलबाट बसमा जाँदै गर्दा सामाजिक सञ्जालमार्फत समाचार आएपछि खेलाडीहरू सुरुमा विश्वास गर्न नसकेको अमेरिकी डिफेन्डर क्रिस रिचर्ड्सले बताएका छन्।

उनका अनुसार धेरै खेलाडीले सुरुमा यो समाचार एआईबाट बनाइएको हो कि भन्ने सोचेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफाको निर्णयको खुलेर स्वागत गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्यायपूर्ण निर्णय फिर्ता लिएर सही काम गरेकोमा फिफालाई धन्यवाद्!’

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पले बालोगुनको रेड कार्ड पुनरावलोकन गर्न फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोनसमेत गरेका थिए। इन्फान्टिनोले पछिल्लो समय ट्रम्पसँग निकट सम्बन्ध बनाउँदै आएका छन्।

उता बेल्जियमले भने फिफाको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ। रोयल बेल्जियन फुटबल एसोसिएसनले पनि आफूहरू ‘आश्चर्यचकित’ भएको जनाएको छ।

एसोसिएसनले विज्ञप्ति जारी गर्दै फिफाको निर्णय विश्वकप प्रतियोगिता नियमावलीसँग प्रत्यक्ष रूपमा बाझिएको दाबी गरेको छ। साथै, निष्पक्ष खेलको सिद्धान्त जोगाउन उपलब्ध सबै कानुनी विकल्पबारे अध्ययन भइरहेको जनाएको छ।

अमेरिकी कप्तान क्रिस्टियन पुलिसिकले पनि बालोगुनको पक्ष लिएका छन्।

उनले भने, ‘यदि त्यो फउललाई हेर्ने हो भने त्यसमा कुनै पनि खराब नियत नै थिएन। मलाई लाग्छ यो प्रतियोगितामा यसभन्दा धेरै खराब फउलहरू पनि भएका थिए।’

फिफाले आफ्नो निर्णय अनुशासन समितिको नियमावलीको धारा २७ अनुसार गरिएको स्पष्ट पारेको छ। उक्त व्यवस्थाअनुसार अनुशासनात्मक कारबाहीको कार्यान्वयन पूर्ण वा आंशिक रूपमा निश्चित अवधिका लागि स्थगित गर्न सकिने व्यवस्था छ।

विश्वकपमा सन् १९७० देखि कार्ड प्रणाली लागू भएयता रातो कार्ड पाएपछि पनि अर्को खेल खेल्न पाउने बालोगुन पहिलो खेलाडी बनेका छन्।

यसअघि गत नोभेम्बरमा फिफाले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोमाथिको तीन खेलको प्रतिबन्धमध्ये अन्तिम दुई खेल स्थगित गरेको थियो। त्यसका कारण उनले विश्वकपको सुरुआती खेल खेल्न पाएका थिए।

सन् १९६२ को विश्वकपमा ब्राजिलका गारिन्चालाई पनि राजनीतिक दबाबपछि सेमिफाइनलमा रातो कार्ड पाए पनि फाइनल खेल्न अनुमति दिइएको थियो।