नेइमारको संन्याससँगै ब्राजिलियन फुटबलको एउटा युगको अन्त्य, नयाँ पुस्ताको काँधमा जिम्मेवारी



बिजमाण्डू
२०८३ असार २२ गते ०९:०५ | Jul 6, 2026
नेइमारको संन्याससँगै ब्राजिलियन फुटबलको एउटा युगको अन्त्य, नयाँ पुस्ताको काँधमा जिम्मेवारी
Photo: AP


काठमाडौं। ब्राजिलका स्टार फरवार्ड नेइमारले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका छन्।

Tata
GBIME
Nepal Life

विश्वकपको अन्तिम १६ मा नर्वेसँग २-१ ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएलगत्तै उनले अब ब्राजिलका लागि नखेल्ने घोषणा गरेका हुन्

खेलपछि भावुक बनेका ३४ वर्षीय नेइमारले भने, ‘मैले सक्दो प्रयास गरेँ। यो यात्रा मेटलाइफ स्टेडियमबाट सुरु भएको थियो, र यहीँ आएर टुंगियो। अब यो अध्याय समाप्त भएको छ।’

नेइमारले सन् २०१० अगस्ट १० मा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलबाट ब्राजिलका लागि अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका थिए। त्यो खेल पनि अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममै भएको थियो। संयोगवश उनले राष्ट्रिय टोलीबाट अन्तिम खेल पनि त्यही मैदानमा खेले।

नर्वेविरुद्धको खेलमा नेइमार दोस्रो हाफमा बेन्चबाट मैदान प्रवेश गरेका थिए। उनले खेलको अन्तिम समयमा पेनाल्टीमार्फत एक गोल पनि गरे। तर, त्यो गोल ब्राजिललाई हारबाट जोगाउन पर्याप्त भएन।

दायाँ खुट्टाको पिँडुलामा लामो समयदेखि रहेको चोटका कारण नेइमारले यस विश्वकपमा ५ मध्ये २ खेल मात्र खेले। समूह चरणमा स्कटल्यान्डविरुद्ध पनि उनले केवल १५ मिनेट मैदानमा बिताएका थिए।

पछिल्ला केही वर्षयता पटक-पटकको चोटले उनको प्रदर्शनमा असर परेको थियो। एक दशकभन्दा बढी समय ब्राजिलको प्रमुख खेलाडीका रूपमा रहेका नेइमारको बहिर्गमनसँगै अब टोली नयाँ पुस्ताको नेतृत्वमा अघि बढ्ने भएको छ।

ब्राजिलका कप्तान मार्किन्होसले समर्थकलाई नयाँ पुस्ताप्रति विश्वास राख्न आग्रह गरेका छन्।

उनले भने, ‘हामी सबैसँग अनुरोध गर्छौं कि नयाँ पुस्ताप्रति धैर्य राखिदिनुहोस् र सुरुदेखि नै उनीहरूलाई साथ र समर्थन दिनुहोस्।’