काठमाडौं। विश्वकपको सर्वाधिक सफल टोली ब्राजिल यसपाला प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ। फिफा विश्वकप २०२६ अन्तर्गत आज न्युजर्सीमा सम्पन्न अन्तिम १६ को खेलमा नर्वेले २-१ गोलले जित निकाल्दा ब्राजिल विश्वकपबाट बाहिरिएको हो। नर्वेले भने इतिहास बनाउँदै पहिलो पटक फिफा विश्वकपको क्वाटरफाइनलमा पुगेको छ।
नर्वेको जितमा दुबै गोल अर्लिङ हाल्याण्डले गरे। विश्वकपको गोल्डनबुटको होडमा रहेका हाल्याण्डले फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनल मेस्सीसँग गोल बराबरीसमेत गरेका छन्। यी तीनैजनाले विश्वकपमा ७ गोल गरेका छन्।
अधिकांश समय बराबरी जस्तो देखिएको खेल अन्त्यतिर नर्वेले आफ्नो अवसरको भरपुर सदुपयोग गर्यो। खेलको ७९औं मिनेटमा आन्द्रियास स्केल्डेरुपको आकर्षक क्रसमा हाल्यान्डले शक्तिशाली हेडरमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाए।
खेलको ९०औं मिनेटमा स्केल्डेरुपकै पासमा हाल्यान्डले अर्को गोल थपेपछि ब्राजिलको पुनरागमनको सम्भावना अझ कमजोर भएको थियो।
नर्वेका गोलकिपर ओर्जान नाइल्यान्ड जितका अर्को नायक बने। उनले खेलभरि उत्कृष्ट प्रदर्शन गर्दै ब्रुनो गुइमाराएसको पेनाल्टीसहित ब्राजिलका थुप्रै अवसर विफल पारे।
ब्राजिलले १४औं मिनेटमा अग्रता लिने सुनौलो अवसर पाएको थियो। भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा पछि पेनाल्टी पाए पनि ब्रुनो गुइमाराएसको कमजोर प्रहार नाइल्यान्डले शानदार बचाउ गरे।
त्यसपछि भिनिसियस जुनियर, गाब्रिएल मार्टिनेली, एन्ड्रिक र नेयमार मैदानमा आएपछि पनि ब्राजिलले बराबरी गोल फर्काउन सकेन। दोस्रो हाफमा एन्ड्रिकले पाएको उत्कृष्ट अवसरसमेत खेर फालेका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नर्वेले बलमाथि राम्रो नियन्त्रण राखे पनि निर्णायक प्रहार दोस्रो हाफको अन्तिम १५ मिनेटमा मात्र गर्न सफल भयो। ब्राजिलले भने अवसर सिर्जना गरे पनि फिनिसिङ कमजोर रह्यो। नेयमारले इन्जुरी समय अन्तिम मिनेटमा पेनाल्टीमार्फत गोल गरे पनि त्यो केवल सान्त्वना गोल बन्यो।
सन् १९९८ को विश्वकपमा ब्राजिललाई हराएको इतिहास दोहोर्याउँदै नर्वेले यसपटक पनि दक्षिण अमेरिकी महाशक्तिलाई स्तब्ध पार्यो। विश्वकप इतिहासमा पहिलोपटक क्वार्टरफाइनल पुगेको नर्वेले अब इंग्ल्यान्ड र मेक्सिकोबीचको विजेतासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।











