खेल हारेर पनि विश्वकपमा मन जितेका भोजिन्हालाई मेस्सीले खेलपछि भेटेर के भने?



बिजमाण्डू
२०८३ असार २० गते १८:५० | Jul 4, 2026
खेल हारेर पनि विश्वकपमा मन जितेका भोजिन्हालाई मेस्सीले खेलपछि भेटेर के भने?
केप भर्डेका गोलकिपर भोजिन्हा।(RSS/AP Photo/Chris Carlson)


काठमाडौं। फिफा विश्वकपको साविक विजेता अर्जेन्टिना सदाबहार उपाधिको दाबेदार टोली हो। त्यसमा पनि लियोनल मेस्सी त एकपछि अर्को कीर्तिमान बनाइरहेका फुटबलका सुपरस्टार। यसै कारण पनि हुनसक्छ उनको टोली अर्जेन्टिना प्रि-क्वाटरफाइनलमा पुग्नुलाई समर्थकहरुले धेरै ठूलो उपलब्धि मानेका छैनन्। समर्थक चाहन्छन् – अर्जेन्टिनाले यसपाला पनि विश्वकप जितोस्। प्रतिस्पर्धामा भने यसपाला सानदेखि ठूला टोलीको उत्तिकै कडा चलिरहेको छ।

Tata
GBIME
Nepal Life

तर, यही विश्वकप सुरु हुनुअघि कमजोर टोलीको सूचिमा राखिएको केप भर्डेले भने नकआउट चरण पार गर्दा धेरै छक्क परेका थिए। विश्वकप विजेताहरुलाई बराबरीमा रोक्दै नकआउट चरण पुगेको केप भर्डेमाथि अन्तिम ३२ मा अर्जेन्टिनाको एकतर्फी जित हुने अनुमान धेरै थियो। तर, यी सबै अनुमानलाई भर्डेले शतप्रतिशत सही हुन दिएन्।

आजसम्पन्न खेलमा अर्जेन्टिनाले यसै संस्करणमा विश्वकप डेब्यु गरेको केप भर्डेलाई अतिरिक्त समयमा पुगेर मुस्किलले ३-२ गोलले हरायो। जित अर्जेन्टिनाको भए पनि विश्वभरबाट वाहवाही केप भर्डेले कमायो।

विश्वकपमा केप भर्डेले वाहवाही कमाउँदा चर्चामा रहेका त्यहाँका खेलाडी हुन् भोजिन्हा। टोलीले हेभिवेटलाई रोक्न सक्नुको मुख्य कारण नै यिनै गोलकिपर रहँदै आए। आज अर्जेन्टिनाविरुद्ध पनि उनको उस्तै प्रदर्शन रह्यो।

आजको खेल सकिएपछि मैदानमै यस्तो दृश्य देखियो, जसले धेरैको ध्यान तान्यो। अर्जेन्टिनी कप्तान लियोनल मेस्सी आफैं गएर विपक्षी गोलरक्षक भोजिन्हालाई अङ्गालो हाले। यी दुईबीच के कुराकानी भयो त? भोजिन्हा आफैंले यसको खुलासा गरेका छन्।  ३-२ को रोमाञ्चक जितसँगै अर्जेन्टिना अन्तिम १६ मा पुगे पनि जित्न धौधौ परेको थियो। भोजिन्हाले अर्जेन्टिनी ८ वटा प्रभावकारी प्रहारलाई सानदार बचाउ गर्दै अर्जेन्टिनाको एक समय सातो खाएका थिए।

खेलपछि मेस्सीले उनलाई अङ्गालो हालेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। ‘तपाईं महान हुनुहुन्छ! तपाईंका जनताले तपाईंमाथि गर्व गर्नुपर्छ!’ मेस्सीसँगको संवादलाई उदृत गर्दै भोजिन्हाले भनेका छन्।  मेस्सीको यो भनाइले आफू निकै भावुक बनेको बताउँदै भोजिन्हाले धन्यवाद दिएको बताए।

‘लियो मेस्सीजस्तो हस्तीबाट यस्तो सुन्न पाउनु मेरो जीवनकै सबैभन्दा विशेष क्षण हो। मैले पनि उहाँलाई ‘तपाईं उत्कृष्ट हुनुहुन्छ’ भन्दै धन्यवाद दिएँ।’ उनले भने। साथै मेस्सीले जर्सी साट्ने पनि वचन दिएको उनले बताए।

यही खेलबाट विश्वकपमा आफ्नो २०औं गोल पूरा गर्दै मेस्सीले फ्रान्सका किलियन एम्बाप्पेलाई पनि २ गोलले पछि पारेका छन्। उनी विश्वकपको सर्वाधिक गोलकर्तामा बलियो स्थितिमा पुग्ने सँगै यस संस्करणमा ‘गोल्डन बुट’ हत्याउने होडमा सबैभन्दा अघि छन्।