काठमाडौं। सिजनको अन्तिम चरणमा पनि नेपाली उपभोक्ताको आँपप्रतिको मोह भने घटेको छैन। मीठो स्वाद र पाकेको स्वदेशी आँपको खोजी बढिरहेकाले बजारमा माग उच्च छ। यही उच्च माग र घट्दो आपूर्तिको प्रभाव मूल्यमा देखिन थालेको छ। व्यापारीहरूका अनुसार अब सिजन सकिँदै जाँदा आँपको भाउ अझै उकालो लाग्ने संकेत देखिएको छ।
थोक बजारमै आँपको भाउ प्रति क्रेट ५०० रुपैयाँसम्म महँगिएको हो। काठमाडौंको कुलेश्वरस्थित फलफूल बजारका व्यापारीले माल्दा आँपको मूल्य प्रति क्रेट २४०० रुपैयाँ लिन थालेका छन्।
नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँले सिजन सकिंदै गएका कारण आँपको भाउ दिनहुँ बढ्दै गएको बताए। ‘सिजनको सुरुवाती समयमा माल्दा आँपको मूल्य प्रति क्रेट १४०० देखि १६०० रुपैयाँ थियो। अब सिजन सकिंदै जान थालेकाले भाउ दिनहुँ बढिरहेको छ,’ उनले भने, ‘केही दिनकै अन्तरमै होलसेलमै प्रति क्रेट भाउ ५०० रुपैयाँ बढेको छ।’

एक क्रेटमा २२/२३ किलो हुन्छ। भाउ महँगिए पनि बजारमा आँपको माग घटेको छैन। मालदह आँप उपभोक्ताले सबैभन्दा बढी खोज्ने गरेका छन्। बानियाँका अनुसार कुलेश्वर बजारमा दैनिक एक करोड रुपैयाँभन्दा बढीको आँप किनबेच हुने गरेको छ।
बजारमा जेठ दोस्रो सातादेखि तराईका जिल्लाबाट आँप आउन थालेको थियो। सुरुवाती दिनमा कुलेश्वर बजारमा दैनिक ५० गाडी आँप भित्रिएकामा अहिले विस्तारै कम हुन थालेको छ। व्यापारीहरुका अनुसार यसपालि स्वदेशी आँपले राम्रो मूल्य पाएको छ।
पोहोर यतिखेर आँपको मूल्य प्रति क्रेट २००० रहेकामा अहिले २४०० रुपैयाँ पुगेको छ। ‘मूल्य बढे पनि मालदह आँपको माग घटेको छैन,’ बानियाँले भने, ‘त्यसैले प्रति क्रेट मूल्य ३००० नाघ्ने देखिन्छ।’

बजारमा स्वदेशी आँपको आपूर्ति कम हुँदै गएपछि व्यवसायीले भारतबाट दशहरी आयात गर्न थालेका छन। मालदह पाएसम्म दशहरी उपभोक्ताको रोजाइमा पर्दैन।
‘दशहरी आँप स्वदेशी माल्दा भन्दा महँगो हुन्छ। ढुवानी भाडा नै महँगो रहेकाले हामीलाई नै प्रति केजी ११० रुपैयाँभन्दा बढी पर्न थालेको छ,’ बानियाँले भने, ‘स्वदेशी आँपको सिजन सकिंदै गएकाले महँगो परे पनि बजारमा भारतबाट भित्र्याउने क्रम बढेको छ।’
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार मालदह आँप थोकमा प्रति केजी ९५ रुपैयाँ छ भने दशहरी किलोको ११५ रुपैयाँ छ। स्वदेशी आँपको आपूर्ति घट्न थाल्दा अब मालदहबाहेकका अन्य प्रजातिका आँप बिक्रीका लागि आइरहेका छन्।

व्यवसायीहरूका अनुसार सिजनको अन्त्यतिर उत्पादन घट्दै जाँदा आपूर्ति सीमित हुने भएकाले मूल्य बढ्नु स्वाभाविक हो। पछिल्ला केही दिनदेखि तराईका प्रमुख उत्पादन क्षेत्रबाट काठमाडौं आउने आँप बोकेका सवारीसाधनको संख्या पनि घटेको छ। बजारमा अहिले मालदहसँगै कलकत्तिया, बम्बैया र अन्य स्थानीय प्रजातिका आँप पनि आउन थालेका छन्।
खुद्रा बजारमा भने गुणस्तर र स्थानअनुसार मालदह आँप प्रतिकिलो १३० देखि १५० रुपैयाँसम्ममा बिक्री भइरहेको व्यापारी बताउँछन्। पर्याप्त आपूर्ति नहुँदा आगामी केही दिनभित्र मूल्य अझै बढ्न सक्ने उनीहरूको अनुमान छ। त्यसपछि भने बजारमा भारतीय आँपको हिस्सा झन् बढ्ने अपेक्षा गरिएको छ।











