काठमाडौं। पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा पुगेको छ। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा क्रोएसियामाथि २-१ गोलको संघर्षपूर्ण जित निकाल्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा पुगेको हो।
योसँगै क्रोएसिया विश्वकपबाट बाहिरिँदा पोर्चुगलले क्वाटरफाइनल पुग्न अब स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
क्रोएसियालाई हराउन कप्तान क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसको गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा क्रोएसियाले उत्कृष्ट सुरुआत गरेको थियो। खेलको ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए। जोसिप स्टानिसिचको क्रसमा निस्किएको पासमा पेरिसिचले बल नियन्त्रण गर्दै तल्लो कुनामा प्रहार गरेका थिए।
त्यसपछि पोर्चुगलले लगातार दबाब सिर्जना गर्यो। ६६औँ मिनेटमा भिएआरमा निकोला भ्लासिचले रेनाटो भेइगालाई पेनाल्टी क्षेत्रभित्र तानेको देखिएपछि पोर्चुगलले पेनाल्टी पायो। ६८औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए। विश्वकपको नकआउट चरणमा रोनाल्डोको यो पहिलो गोल पनि बन्यो।
खेल अतिरिक्त समयमा प्रवेश गरेपछि दुवै टोली जितका लागि आक्रामक बने। इन्जुरी समयको चौथो मिनेटमा राफाएल लेआओले दिएको आकर्षक क्रसमाथि गोन्कालो रामोसले शक्तिशाली हेडर गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए।
क्रोएसियाले हार नमानी अन्तिम क्षणसम्म संघर्ष गर्यो। इन्जुरी समयको १३औँ मिनेटमा जोस्को ग्भार्डियोलले बल जाली चुमाउँदै खेल बराबरीमा ल्याएको जस्तो देखिए पनि त्यसअघि मारियो पासालिच अफसाइड रहेको भीएआरबाट पुष्टि भएपछि गोल रद्द भयो।
अब अन्तिम ३२ को बाँकी रहेका चार खेल शनिबार नै टुंगिनेछन्। आइतबारबाट प्रिक्वाटरफाइनलका खेल सुरु हुनेछन्।










