काठमाडौं। युरोपियन च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। राउण्ड अफ ३२ अन्तर्गत आज सम्पन्न खेलमा अस्ट्रियालाई ३-० गोलले हराउँदै स्पेन प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको हो।
बुधबार लस एन्जलसमा भएको खेलमा स्पेनलाई जित दिलाउन मिकेल ओयारजबाल नायक बने। उनले दुई गोल गरे भने पेड्रो पोरोले एक गोल थपे। मार्क कुकुरेलाले दुईगोलका लागि निर्णायक पास उपलब्ध गराउँदै उत्कृष्ट प्रदर्शन गरे।
खेलको सुरुदेखि नै स्पेनले बलमाथि नियन्त्रण कायम राख्दै अस्ट्रियामाथि दबाब बनाएको थियो। अग्रता बनाउनका लागि भने स्पेनलाई ३६ मिनेट लाग्यो। कुकुरेलाले दिएको लो क्रसलाई ओयारजाबालले नजिकबाट गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाए।
पहिलो हाफको इन्जुरी समयमा एलेक्स बाएनाको २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक पोस्टमा लाग्दा स्पेन दोस्रो गोलबाट थोरैले चुकेको थियो। त्यसलगत्तै लामिन यामालको नजिकको प्रहार अस्ट्रियाका गोलकिपर अलेक्जेन्डर स्लागरले उत्कृष्ट बचाउ गरेका थिए।
दोस्रो हाफको सुरुआतमा अस्ट्रियाले खेलमा फर्किने अवसर पाएको थियो। मैदान प्रवेश गरेको केही क्षणमै सासा कालाज्ड्जिचले मार्सेल साबिट्जरको क्रसमाथि गरेको हेडर बारमाथिबाट बाहिरिँदा टोली बराबरी गोल गर्न असफल रह्यो।
त्यसको पाँच मिनेटपछि स्पेनले अग्रता दोब्बर बनायो। ६६औं मिनेटमा कुकुरेलाले बल खोसेपछि एलेक्स बाएनालाई पास दिए। बाएनाको क्रसमा पेड्रो पोरोले गोल गर्दै स्पेनलाई २-० गोलको अवस्थामा पुर्याए।
८९औं मिनेटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासमा ओयारजाबालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको ३-० गोलको सहज जित पक्का गरे।
खेलभर स्पेन पूर्ण रूपमा हाबी रह्यो। स्पेनले २३ प्रहार गर्दा १० वटा टार्गेटमा राख्यो भने अस्ट्रियाले पाँच प्रहार गरे पनि एउटा पनि अन टार्गेट शट निकाल्न सकेन।
यो जितसँगै स्पेन प्रि-क्वाटरफाइनलमा पुगेको छ। अब उसले पोर्चुगल र क्रोएसियाबीच हुने खेलको विजेतासँग क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।











