विश्वकपको माहोलमा निलम्बित नेपाली फुटबललाई अर्को झड्का, तीन प्रतियोगिता खेल्न नपाउने



बिजमाण्डू
२०८३ असार १७ गते १७:१२ | Jul 1, 2026
विश्वकपको माहोलमा निलम्बित नेपाली फुटबललाई अर्को झड्का, तीन प्रतियोगिता खेल्न नपाउने

काठमाडौं। विश्वभर फिफा विश्वकपको माहोल चलिरहँदा नेपाली फुटबल भने थप संकटतर्फ उन्मुख देखिएको छ।

Tata
GBIME
Nepal Life

एन्फामाथि फिफाको निलम्बनका कारण नेपाली राष्ट्रिय टोली र क्लब आगामी एएफसी प्रतियोगिताबाट बाहिरिने जोखिममा परेका छन्।

सरकारी हस्तक्षेप देखाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको फिफाले नेपालले सहभागिता जनाउन लागेको प्रतियोगितामा रोक लगाउने संकेत देखाएको छ।

एशियाली फुटबल महासंघ (एएफसी)ले एन्फा महासचिव किरण राईलाई असार १३ गते पठाएको पत्रमा फिफाको निलम्बनको प्रत्यक्ष असर नेपालका अन्तर्राष्ट्रिय सहभागितामा पर्ने उल्लेख गरिएको छ। यसको सीधा अर्थ निलम्बन फुकुवा नभएसम्म नेपालका कुनै पनि फुटबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने छैनन्।

एएफसीको पत्रअनुसार निलम्बनका कारण एन्फाले फिफा सदस्यका रूपमा पाउने सबै अधिकार गुमाएको छ। नेपालका राष्ट्रिय टोली र क्लब अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन अयोग्य रहेको एएफसीले उल्लेख गरेको छ।

एन्फाले २०२६/२७ को सिजनमा विभिन्न प्रतियोगिताका लागि टोली दर्ता गरिसकेको भए पनि निलम्बन कायम रहे ती टोलीलाई सम्बन्धित प्रतियोगिताबाट हटाइने चेतावनी एएफसीले दिएको छ।

एएफसी महिला च्याम्पियन्स लिग २०२६/२७ मा सहभागी हुने नेपाली टोलीका लागि असार १५ सम्म एन्फामाथिको निलम्बन फुकुवा हुनुपर्ने थियो। त्यसैले यो प्रतियोगिता नेपालले नखेल्ने पक्का भएको छ।

त्यसैगरी एएफसी यू-१७ महिला एसिया कप छनोटका लागि १३ जुलाई र एएफसी यू-२० एसिया कप छनोटका लागि १ अगस्टसम्म निलम्बन हट्नुपर्ने छ। अन्यथा यी प्रतियोगितामा पनि नेपालले सहभागिता जनाउन पाउने छैन।

यसबाहेक देशभित्रको लिग पनि अन्योलमा परेको छ। महिला लिग र राष्ट्रिय लिग चल्दाचल्दै विदेशी खेलाडीको श्रम स्वीकृति विवादले बीच रोकिएका थिए। भदौमा नेपाल सुपर लिग (एनएसएल)को घोषणा भए पनि फिफाको निलम्बन कायम रहे प्रतियोगिता हुने छैन।

‘अर्ली इलेक्सन’ गराएरै छाड्ने एन्फा संस्थापन र कुनै हालतमा गर्न नदिने सरकारी ‘हठ’का बीच सुरु भएको विवादबीच एन्फा अध्यक्ष र महासचिवलाई विश्वकप हेर्न जाने क्रममा अध्यागमनबाट फर्काएपछि फिफाले असार १० गते एन्फालाई निलम्बन गरेको थियो।