विद्युत प्राधिकरणबाट आएको त्यो सूचना जसले झस्कायो ऊर्जामन्त्री विराजभक्तलाई



जनक वली
२०८३ असार २६ गते १९:११ | Jul 10, 2026
विद्युत प्राधिकरणबाट आएको त्यो सूचना जसले झस्कायो ऊर्जामन्त्री विराजभक्तलाई


काठमाडौं। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बिहीबार राति नेपाल विद्युत प्राधिकरणका प्रदेश प्रमुखहरुसँग भर्चुअलरुपमा छलफल गरे।

Tata
GBIME
Nepal Life

मन्त्री श्रेष्ठले केही दिनअघि नेपालगञ्ज वितरण केन्द्रको निरीक्षणका क्रममा लुम्बिनी प्रदेश तथा बाँके जिल्लाका वितरण शाखा प्रमुखसँग छलफल गरेका थिए।

ऊर्जामन्त्री श्रेष्ठका लागि पछिल्ला दिन तनावपूर्ण देखिएको छ। एकातिर संसद्‍ बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदले बिजुलीको आपूर्तिलाई लिएर पेचिला प्रश्न सोध्न थालेका छन् भने अर्कातिर देशैभर विद्युत झ्याप झ्याप जाने (ट्रिपिङ) समस्या बढिरहेको छ।

त्यही कारण मन्त्री श्रेष्ठले वितरण प्रणाली चुस्त बनाउने सम्बन्धमा प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अधिकारीलाई सँगै राखेर बिहीबार राति प्रदेश प्रमुखसँग छलफल गरेका हुन्।

ट्रिपिङको समस्या चर्किएपछि मन्त्री श्रेष्ठले एउटा समिति पनि गठन गरेका छन्।

मन्त्रालयका सहसचिव सन्दिपकुमार देवको नेतृत्वमा समिति गठन गरिनुको कारण ट्रिपिङका साथै मन्त्रालयमा परेको उजुरी पनि हो।

‘पछिल्लो समय देशभर बत्ती झ्याप झ्याप जाने समस्या बढेको छ। यस विषयमा हामीले छलफल गर्दै जाँदा प्राधिकरणको ट्रान्सफर्मरमा प्राविधिक समस्या रहेको गुनासो आयो। प्राधिकरणभित्रैबाट कपरबिनाको ट्रान्सफर्मर खरिद गरेकाले अहिले ट्रान्सफर्मरमा समस्या आएको भन्ने उजुरी आयो,’ मन्त्रालय स्रोतले भन्यो, ‘कपरबिनाको ट्रान्सफर्मर खरिद गरेर ठूलो घोटाला गरिएको र अहिले समस्या देखिएको उजुरी नै परेपछि समिति बनाएर छानबिन थालिएको छ।’

प्राधिकरणका कर्मचारीका अनुसार कपरबिनाका ट्रान्सफर्मर कम गुणस्तरका हुन्छन्। ती ट्रान्सफर्मरले लोड धान्न सक्दैनन्। प्राधिरणकै कर्मचारीबाट ट्रान्सफर्मरलाई लिएर उजुरी परेपछि मन्त्री श्रेष्ठले यसबारे सत्यतथ्य बुझ्न समिति बनाएका हुन्।

समिति फिल्डमा खटिइसकेको छ। समितिले सुरुमा ट्रान्सफर्मरको ‘स्याम्पलिङ’ अध्ययन गर्नेछ। ‘स्याम्पलिङ’ अध्ययनका क्रममा कैफियत भेटिए समितिले विस्तृत रुपमा छानबिन गर्ने स्रोतले बतायो। ‘टोलीले सुरुमा ट्रान्सफर्मर कपरबिनाको हो/ होइन स्याम्प्लिङ गरेर हेर्छ। पुष्टि भयो भने विस्तृत रुपमा छानबिन हुन्छ,’ स्रोतले भन्यो।

प्राधिकरणको तथ्यांकअनुसार जेठ महिनामा घोराहीमा मात्र १४४ पटक विद्युत अवरुद्ध भएको छ। ‘हामीकहाँ बिजुली आउने र जाने ठेगान छैन। हिसाब गरेर साध्य नै छैन। बिजुली हुँदा पनि भोल्टेज पुग्दैन। पंखा चल्नै मुस्किल पर्छ,’ दाङका प्रवीण चौधरीले भने। उनका अनुसार असार लागेपछि ट्रिपिङको समस्या झनै बढेको छ।

तराईमा अहिले अधिक गर्मी छ। जसका कारण एसीदेखि पंखा चलाउनका लागि विद्युतको माग बढेको छ। तर उपभोक्ताले यहीबेला ट्रिपिङको समस्या दिनहुँ झेलिरहेका छन्।

‘दिनमा कति पटक बिजुली जान्छ भनेर गन्न नै छाडियो। बिजुली आएका बेला पनि पंखा घुम्दैन। गर्मीले सुत्न नसकेर प्राधिकरणको नो-लाइटमा फोन गर्दा फोन नै उठ्दैन,’ नेपालगंजका स्थानीय सरोज गौतमले भने।

पूर्वसूचनाबिना बत्ति झ्याप झ्याप जानाले तराईको जनजीवन कष्टकर बनेको छ। उद्योग व्यवसाय प्रभावित भएका छन्। किसानले रोपाइँ गर्नका लागि पानी तान्न पाएका छैनन्।

प्राधिकरणका कर्मचारी पनि काठमाडौं उपत्यका बाहिर बिजुली आपूर्तिमा ठूलो समस्या देखिएको स्वीकार गर्छन्। ‘तराई क्षेत्रमा अहिले गर्मीका कारण बिजुलीको माग उच्च छ। तर हाम्रो वितरण प्रणाली एकदम कमजोर देखियो,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘माग धान्न नसकेर ट्रान्सफर्मर बिग्रिरहेका छन्। यसले ट्रान्सफर्मरमा कमजोरी छ कि भन्ने देखाउँछ।’

ट्रिपिङको समस्या बढेपछि ऊर्जामन्त्री श्रेष्ठले ट्रान्सफर्मरलगायत उपकरणको गुणस्तरका विषयमा धेरैतिरबाट प्रश्न उठेको भन्दै यस विषयमा सूक्ष्मरुपमा अध्ययन गरिरहेको बताएका छन्।

पूर्वाधार संरचना कमजोर हँदा समस्या बढ्यो

प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ बुटवलदेखि पश्चिम क्षेत्रमा मुख्य रूपमा प्रसारण पूर्वाधारको कमजोरीका कारण बिजुली जाने समस्या धेरै देखिएको स्वीकार गर्छन्।

‘गर्मीमा तराई क्षेत्रमा लोड अत्यधिक बढ्छ। सिँचाइका लागि सँगै फ्यान, एसी लगायत उपकरणको प्रयोग बढ्दा समग्र सिस्टममा लोड थपिएको छ,’ श्रेष्ठले भने, ‘त्यसले गर्दा तार जल्ने, ट्रान्सफर्मर पड्किने जस्ता थुप्रै समस्याले बिजुली ट्रिपिङ भइरहेको हो। हावाहुरीका कारण रुख ढल्दा पनि बिजुली अवरुद्ध भइरहेको छ। तर वनले रुख काट्न दिंदैन। यसले पनि हामीलाई समस्या भइरहेको छ।’

श्रेष्ठले समस्या समाधानका लागि प्राविधिक टोली निरन्तर मर्मत सम्भारमा खटिएको दाबी गरे।

गर्मीयाममा तराईमा विद्युतको माग बढेको यो पहिलो पटक होइन। प्राधिकरणका कतिपय कर्मचारी व्यवस्थापकीय कमजोरीका कारण यसपालि धेरै समस्या देखिएको बताउँछन्।

‘वर्षा लागेपछि पानी पर्छ, हावाहुरी आउँछ, गर्मीमा लोड बढ्छ भन्ने कुरा पहिले नै थाहा हुने कुरा हो। कुलमान घिसिङ र हितेन्द्रदेव शाक्य हुँदा पनि पूर्वाधार यही नै थियो। त्यतिबेला अहिलेजस्तो समस्या निम्तिएको थिएन। पूर्वानुमान गरेर मर्मत सम्भार दुरुस्त राखिएको थियो। यसपालि त्यो हुन सकेन। व्यवस्थापकीय कमजोरी देखियो,’ प्राधिकरणका एक कर्मचारीले भने।