ढोरपाटनमा बन्दैछ भ्लगरदेखि ठूला व्यापारीसम्मको लक्जरी होटल, किन बढ्यो एकाएक आकर्षण?



प्रमिला भट्ट
२०८३ असार १६ गते १५:४७ | Jun 30, 2026
ढोरपाटनमा बन्दैछ भ्लगरदेखि ठूला व्यापारीसम्मको लक्जरी होटल, किन बढ्यो एकाएक आकर्षण?

काठमाडौं। ‘साथीहरु नमस्ते। तपाईंहरुलाई थाहा छ, ढोरपाटनको सिज्जुको क्याम्प बनाउने क्रममा छौं। र, यात्राको क्रममा आज हामी जाँदैछौं म्याग्दी। जाँदाजाँदै हामी बडीगाडमा पुगेका छौं, जहाँबाट इन्टरलक ईंटा लिएका थियौं घर बनाउनका लागि।’

Tata
GBIME
Nepal Life

घुम्ने इच्छाले ट्राभल भ्लगर बन्ने पुगेकी सिर्जना ओली(सिज्जु)ले ढोरपाटनमा पर्यटकीय होटल निर्माण गर्दैछिन्। त्यहाँ होटल बनाउन उनी ६ महिनादेखि क्याम्प खडा गरेर बसिरहेकी छिन्। ७ वर्षअघि सुरु भएको उनी भ्लगको यात्रासँगै होटल व्यवसायमा प्रवेश गरेकी हुन्।

नेपालको एकमात्र सिकार आरक्ष क्षेत्रका रूपमा परिचित ढोरपाटनको स्यालपाखेमा तयार भइरहेको होटलका लागि सिज्जुले तीन रोपनी जग्गा किनेकी छन्। होटल निर्माण गर्नुअघि उनले पर्यटक आगमनको तथ्यांक पनि हेरेकी थिइन्।

काठमाडौंबाट छोटो समयमै पुग्न सकिने ढोरपाटनमा ‘हाई इन्ड’ पर्यटक सिकारका लागि जाने गर्छन्। नाउर र झारल सिकारका लागि जाने विदेशी पर्यटकलाई बासको राम्रो व्यवस्था नहुँदा व्यवस्थापकलाई पनि समस्या हुने गरेको थियो।

तस्बिर : रासस

तर, पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दो क्रममा रहेको छ। एक जना सिकार गर्ने व्यक्तिले आधा करोडसम्म खर्च गर्ने ढोरपाटनमा पर्यटकीय होटलको अभाव छ। त्यही देखेर ओलीले होटल निर्माण थालेकी हुन्।

‘होटल बन्दैछ। अहिले धेरै कुरा नगरौ होला,’ उनी धेरै खुल्न चाहिनन्।

सिज्जु धेरै खुल्न नचाहेपनि आफ्नो सामाजिक संजाल टिकटकमा भने होटल निर्माणको प्रगति दिनहुँजस्तो पोस्ट गर्छिन्।

होटल निर्माण टिकटकमा राखेपछि ढोरपाटन विस्तारै लोकप्रिय बन्दै गएको छ। आफ्नो होटल निर्माणमा प्रयोग भएको ईंटा वातावरणमैत्री रहेको उनी बताउँछिन्। इन्टरलक ईंटा र स्थानीय काठबाट बनेका झ्यालढोका होटलमा प्रयोग गरिएको छ। होटल निर्माणमा करिब पाँच करोड खर्च हुने देखिएको छ। त्यो ठाउँमा एक रोपनी जग्गाको मूल्य ६ लाख रुपैयाँ हाराहारी छ।

तारे होटल पनि बन्दै

ढोरपाटनमा अरु दुई वटा हाई इन्ड पर्यटकलाई लक्षित गर्दै उच्चस्तरीय होटल पनि निर्माणको क्रममा छ।

ग्लोबल सफारिज कम्पनीका प्रबन्ध निर्देशक शम्शेर पराजुलीले ढोरपाटनमा दुईवटा होटलका लागि नक्सा समेत तयार भएर निर्माणको चरणमा जाने तयारीमा भएको जानकारी दिए।

‘यहाँ पहिला होमस्टे मात्रै थियो। विस्तारै एट्याच ट्वाइलेट बाथरुम भएका गेष्टहाउस बनेका थिए,’ उनले बिजमाण्डूसँग भने, ‘चर्चित भ्लगर सिज्जुले पर्यटकीय होटल निर्माण गरिरहनुभएको छ। अर्को दुई वटा राम्रा होटल बन्दैछ। विस्तारै ढोरपाटन राम्रो पर्यटकीय हब बन्ने देखिएको छ।’

ग्लोबल सफारिजले ढोरपाटनमा आउने विदेशी पर्यटकलाई सिकारको प्याकेज बिक्री गर्छ। पर्यटकीय होटल बनेपछि आन्तरिक पर्यटकको आगमन पनि बढ्ने उनको अनुमान छ। मनसुनको समयमा फूल फूलेर मनोरम हुने र जाडोको समयमा हिउँले छपक्कै ढाक्ने भएकाले आन्तरिक पर्यटकका लागि राम्रो गन्तव्य बन्ने पराजुलीको विश्वास छ।

‘काठमाडौंबाट एकै दिनमा पुग्न सकिने गन्तव्य हो। बुर्तिबाङदेखि ढोरपाटनसम्मको पाँच किलोमिटर बाटो बनाउन सकियो भने आन्तरिक पर्यटकले थेग्न सकिँदैन,’ उनले भने, ‘बस्ने बास राम्रो भयो भने दुई दिन विदाको इफेक्ट पनि आउँछ।’

ढोरपाटन क्षेत्रमा ३९ वटा निजी होटल, होमस्टे तथा गेष्टहाउस रहेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ। गतवर्ष ढोरपाटन क्षेत्रमा २३ हजार ६९२ पर्यटक भित्रिएको तथ्यांक छ।