काठमाडौं। इरान र इजिप्ट बराबरीमा रोकिएका छन्। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को अन्तिम खेलमा इजिप्ट र इरानले १–१ को बराबरी खेलेका हुन्। खेलको इन्जुरी समयमा इरानले गरेको विजयी गोल भीएआरबाट अफसाइड ठहरिएपछि दुवै टोलीले अंक बाँडे।
आजै सम्पन्न यही समूहको अर्को खेलमा भने बेल्जियमले न्युजिल्याण्डमाथि ५-१ गोलको फराकिलो जित निकाल्दै समूह विजेता बन्यो। उसले र इजिप्टले समान ५ अंक बनाउँदा नकाउटमा स्थान बनाउँदा तीनवटै खेलमा बराबरी खेलेको इरानले पनि तेस्रो स्थानको टोलीमध्ये उत्कृष्ट बन्दै नकआउट पुग्ने सम्भावना जीवित राखेको छ।
सिएटलमा भएको प्रतिस्पर्धामा इजिप्टले पाँचौं मिनेटमै अग्रता लिएको थियो। मोहम्मद सलाहको प्रहार इरानी गोलरक्षक अलिरेजा बेइरानभान्डले राम्रोसँग नियन्त्रण गर्न नसक्दा रिबाउन्डमा महमुद साबेरले सहज गोल गरे।
इरानले त्यसको केहीबेरमै बराबरी गर्ने अवसर पाए पनि मेहदी तारेमीको पेनाल्टी इजिप्टका गोलरक्षक मोस्तफा शोबेरले उत्कृष्ट बचाउ गरे। तर १४औँ मिनेटमा मिलाद मोहम्मदीको प्रहार शोबेरले रोके पनि फर्किएको बललाई रामिन रेजाएयानले जाली चुमाउँदै खेल १–१ को बराबरीमा ल्याए।
दोस्रो हाफमा दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि गोल थप्न सकेनन्। खेलको ९३औँ मिनेटमा सोजा खालिलजादेहले इरानका लागि गोल गर्दै जित दिलाएको जस्तो देखिए पनि भिएआर परीक्षणपछि उनी अफसाइड रहेको पुष्टि भयो र गोल रद्द गरियो। त्यसपछि इन्जुरी समयकै अन्तिम क्षणमा इरानको अर्को प्रयास क्रसबारमा लागेपछि खेल बराबरीमै टुंगियो।
त्यस्तै अर्को खेलमा बेल्जियमले न्युजिल्याण्डमाथि ५-१ गोलको प्रभावशाली जित निकाल्यो। खेलको २८औँ मिनेटमा लिआन्ड्रो ट्रोसार्डले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा पूर्ण रूपमा दबाब बनाए पनि बेल्जियमले एक गोलको मात्र अग्रता लिन सफल भयो।
दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै ट्रोसार्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि ६६औँ मिनेटमा कप्तान केभिन डी ब्रुयनाले उत्कृष्ट प्रहारमार्फत तेस्रो गोल थपे।
८४औँ मिनेटमा इलाइजा जस्टले शानदार प्रहार गर्दै न्युजिल्यान्डका लागि सान्त्वना गोल फर्काए। तर त्यसको दुई मिनेटपछि मैदान प्रवेश गरेका रोमेलु लुकाकुले पहिलो टचमै निकोलस रास्किनको क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै बेल्जियमलाई ४–१ ले अघि बढाए।
इन्जुरी समयमा लुकाकुले नै एलेक्सिस सालेमेकर्सलाई पास मिलाइदिएपछि उनले अर्को गोल गर्दै बेल्जियमको ५–१ को प्रभावशाली जित सुनिश्चित गरे।











