फुटबलमा पैसा बगाइरहेको साउदी र महरथी उरुग्वेलाई ‘आउट’ गर्दै केप भर्डे नकआउटमा



बिजमाण्डू
२०८३ असार १३ गते ०९:३६ | Jun 27, 2026
फुटबलमा पैसा बगाइरहेको साउदी र महरथी उरुग्वेलाई ‘आउट’ गर्दै केप भर्डे नकआउटमा
केप भर्डेको सेलिब्रेसन। Photo: FIFA

काठमाडौं। विश्वफुटबलमा पछिल्ला केही वर्षहरुमा ह्वात्तै लगानी बढाएको राष्ट्र हो साउदी अरब। युरोपमा खेलिरहेका खेलाडीलाई मागेजति पैसा दिएर उसले आफ्नो लिगलाई माथि लग्न हरसम्भव प्रयास गरेको छ। त्यस्तै, विश्वकप फुटबलमा सँधैको हेभिवेट टोली हो उरुग्वे। दुईपटक विश्वकप जितिसकेको उरुग्वेसँग एकसेएक हाइ प्रोफाइल खेलाडीको कमी छैन।

Tata
GBIME
Nepal Life

यी दुबै टोली जारी विश्वकपमा समूह ‘एच’मा थिए। यो समूहमा उनीहरुसहित पूर्वविश्वविजेता स्पेन र यसैपाला विश्वकपमा डेब्यु गरेको कमजोर वरीयताको केप भर्डे थिए। फुटबल विश्लेषको विश्लेषणमा स्पेनसँगै उरुग्वे र साउदीबीच नकआउटका लागि चर्को प्रतिस्पर्धा हुनुपर्ने थियो। तर, यो समूहमा भइदियो ठीक उल्टो।

प्रतियोगितामै कमजोरमध्येमा आँकिएको केप भर्डे समूहको उपविजेता र स्पेन समूहको विजेता बन्दै नकआउटमा पुग्दा यी दुई टोली जिल्ल परेका छन्।

आज सम्पन्न खेलमा उरुग्वेमाथि १-० गोलको कठिन जित निकाल्दै स्पेन फिफा विश्वकप २०२६ को समूह ‘एच’ को विजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गर्‍यो।

आजै सम्पन्न अर्को खेलमा साउदी अरबसँग गोलरहित बराबरी खेल्दै केप भर्डे पनि समूह उपविजेता विजेताका रुपमा नकआउट चरणमा पुगेको हो। यसैपाला विश्वकपमा डेब्यु गरेको भर्डेले तीनै खेलमा बराबरी खेल्दै ३ अंक जोड्यो। यो समूहबाट बलिया ठानिएका साउदी अरब र उरुग्वे भने बाहिरिए।

शनिबार ग्वाडालाजारामा भएको खेलमा एलेक्स बाएनाको निर्णायक गोलले स्पेनलाई जित दिलायो।

खेलको पहिलो हाफमा स्पेनले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राख्दै दबाब सिर्जना गरेको थियो। ४२औँ मिनेटमा मार्कोस लोरेन्तेको पासमा बाएनाले गरेको प्रहार रोक्न उरुग्वेका गोलकिपर फर्नान्डो मुस्लेराले गल्ती गर्दा गोल गर्दै स्पेनले अग्रता लिएको थियो।

गोल खाएपछि उरुग्वेले बराबरीका लागि प्रयास गरे पनि स्पष्ट अवसर सिर्जना गर्न सकेन। दोस्रो हाफमा डार्विन नुनेज, रोड्रिगो बेन्तान्कुर र निकोलास डे ला क्रुजले केही अवसर बनाए असफल रहे।

खेलको इन्जुरी समयमा उरुग्वेका अगुस्टिन कानोब्बियोले पाउ कुबार्सीमाथि खतरनाक ट्याकल गरेपछि सिधै रातो कार्ड पाए।

समूहको अर्को खेलमा डेब्यु टोली केप भर्डे र साउदी अरेबियाबीच गोलरहित बराबरी भएपछि केप भर्डे दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्यो। पहिलो खेलमा स्पेनलाई गोलरहित बराबरीमा रोकेको भर्डेले उरुग्वे र साउदीलाई पनि अंक बाँड्न बाध्य बनाएका छ। बराबरी मात्रै खेलेर नकआउट पुगेको ‘डार्क हर्स’ भर्डेलाई अबको चरणमा भने जित्नै पर्ने दवाब हुनेछ।