ग्वाडालाजारा (मेक्सिको)। स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्दै विश्वकपको नकआउट चरणमा स्थान बनाएको छ। मेक्सिकन समयअनुसार शुक्रबार भएको खेलमा हारसँगै दक्षिण अमेरिकी शक्तिशाली टोली उरुग्वे प्रतियोगिताबाट बाहिरिन बाध्य भएको छ।
उरुग्वेले दुई पटकको विश्वकप विजेतालाई रोक्न संघर्षपूर्ण प्रयास गरेको थिोय। समूह चरणका तीनै खेलमा कुनै पनि जित निकाल्न सकेन र बिना जित घर फर्किने भएको छ। स्पेनले भने समूह एचमा ७ अंकसहित शीर्ष स्थान हासिल गर्यो र अब समूह ‘जे’ को दोस्रो स्थानमा रहने टोली अस्ट्रिया वा अल्जेरियासँग अमेरिकाको इङ्गलवुड, क्यालिफोर्नियामा बिहीबार खेल्नेछ।
खेलको निर्णायक गोल ४२औं मिनेटमा आएको थियो, जब स्पेनका आलेक्स बाएनाले प्रहार गरेको बललाई उरुग्वेका गोलकिपर फर्नान्डो मुस्लेऱाले पूर्ण रूपमा रोक्न सकेनन्। यससँगै मुस्लेऱाको यो प्रतियोगितामा यो तेस्रो गल्ती बन्यो, र उनले पहिलो हाफपछि नै प्रशिक्षक मार्सेलो बिएल्सालाई आफूलाई परिवर्तन गर्न आग्रह गरेका थिए।
बिएल्साले भने, ‘उनी आफैंले बाहिरिने निर्णय गरे।’
अनुभवी अर्जेन्टिनी प्रशिक्षक बिएल्साले उरुग्वेको प्रदर्शनलाई हेर्दा टोलीले अझ राम्रो नतिजा पाउनुपर्ने बताए। उनका अनुसार समूह चरणमा दुई अंक होइन, सात अंक कम्तीमा हुनुपर्ने थियो। तर उनले सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन्। ‘अब कोही पनि स्पष्टीकरण सुन्न चाहँदैन,’ उनले भने, ‘दोष मेरो हो, असफल कामको जिम्मेवारी म लिन्छु। मसँग गुणस्तरीय खेलाडीहरूको समूह थियो।’
फिफा वरीयतामा १९औं स्थानमा रहेको उरुग्वे यस प्रतियोगिताबाट बाहिरिने सबैभन्दा उच्च वरीयताको टोली बनेको छ।
त्यसै समूहको अर्को खेलमा केप भर्डेले साउदी अरेबियासँग ०–० को बराबरी खेलेपछि तीन अंकसहित समूहमा दोस्रो स्थान बनायो। उरुग्वे समान अंक भए पनि गोल अन्तर र अन्य समीकरणका कारण तेस्रो स्थानमा रह्यो र नकआउट चरणमा पुग्न सकेन।
खेलपछि उरुग्वेका केही खेलाडी मैदानमै रोएका देखिए भने धेरै समर्थकले टोलीलाई हुटिङ गरेका थिए।
प्रतियोगिताको धेरै प्रतीक्षा गरिएको खेल भए पनि दुवै टोलीले उल्लेखनीय गोल अवसर बनाउन सकेनन्।
आलेक्स बाएनाले भने, ‘हामीले राम्रो प्रतिस्पर्धा गर्यौं, गरेको काममा म गर्व गर्छु।’
अन्तिम क्षणतिर उरुग्वेले पेनाल्टीको माग गर्दै कडा आपत्ति जनाएको थियो, जब फेडेरिको भिन्यास पेनाल्टी क्षेत्रमा लडेको देखियो। खेलको अन्त्यतिर तनाव पनि बढ्यो, जब उरुग्वेका अगुस्टिन कानोबियोले अतिरिक्त समयमा स्पेनका डिफेन्डर पाउ कुर्बासीमाथि कडा ट्याकल गरेपछि रातो कार्ड पाए। उनलाई मैदानबाट बाहिर लैजान सहकर्मीहरूले सहयोग गर्नुपरेको थियो, र खेल सकिएपछि उनी फेरि रेफ्रीसँग कुरा गर्न फर्किएका थिए।
उरुग्वे १९३० र १९५० का विश्वकप विजेता हो। समूह चरणमा साउदी अरेबिया र केप भर्डेसँग बराबरीपछि टोली संकटमा थियो। उरुग्वेली मिडियामा प्रशिक्षक बिएल्सासँग केही खेलाडी असन्तुष्ट रहेको समाचार पनि आएका थिए।
स्पेन, दोस्रो विश्वकप उपाधि खोजिरहेको टोली, सुरुमा केप भर्डेसँग ०–० को बराबरीमा रोकिए पनि साउदी अरेबियालाई ४–० ले हराएको थियो। सन् २०१० पछि स्पेन अन्तिम १६ भन्दा अघि बढ्न सकेको थिएन।
स्पेनका युवा स्ट्राइकर लामिन यामाल, जो चोटका कारण पूर्ण फिट थिएनन्, यस खेलमा पनि पूरा समय खेल्न सकेनन् र ७६औं मिनेटमा फेरान टोरेससँग बदलिएका थिए। उनी पहिलो खेलमा आधा समयपछि बाहिरिएका थिए भने दोस्रो खेलमा बेन्चबाट आएका थिए।
उरुग्वेका मिडफिल्डर म्यानुएल उगार्ते खेलको अन्त्यतिर घुँडामा चोट लागेपछि मैदान छोड्नुपरेको थियो। उनी मैदानमै उपचार लिइरहेका बेला स्पेनले गोल गरेको थियो र पछि उनलाई स्ट्रेचरमा बाहिर लगिएको थियो।
स्पेनका राजा फेलिपे छैटौं ४५,०६५ दर्शकको उपस्थितिमा खेल हेर्न स्टेडियममा उपस्थित थिए।
खेल सुरु हुनु अघि भेनेजुएलामा बुधबार राति आएका लगातार भूकम्पमा ज्यान गुमाउनेहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।(एपी)











