काठमाडौं। सरकारले लगानी विविधीकरणको बाटो खुला गरेसँगै अवकाश कोषले नयाँ क्षेत्रमा लगानी गर्ने तयारी तीव्र बनाएका छन्।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल (पीईभीसी) मा लगानी गर्न नियमावली र लगानी निर्देशिका संशोधनको प्रक्रिया अघि बढाएका छन्।
सरकारले गत वैशाखको तेस्रो साता कानुन संशोधन गर्दै तीनवटै अवकाश कोषलाई पीईभीसीमा लगानी गर्न कानुनी बाटो खुला गरेको थियो। त्यसयता कोषहरूले नयाँ लगानी उपकरणमा रकम परिचालन गर्न आवश्यक आन्तरिक तयारी गरिरहेका छन्।
नागरिक लगानी कोषकी कामु कार्यकारी निर्देशक सोभा श्रेष्ठका अनुसार कोषले यसअघि नै लगानी विविधीकरणका लागि पीईभीसीमा लगानी गर्ने तयारी गरिरहेको थियो।
‘कोषले लगानी गर्न ओर्कआउट गरिरहेको थियो। अध्यादेशबाट ऐन संशोधन भए पनि नियमावली तथा अरु विषयहरू संशोधन नभइसकेकाले कार्यान्वयनमा आइसकेको छैन,’ श्रेष्ठले भनिन्, ‘यसका लागि अहिले नियमावली संशोधनको क्रममा छ। कोषका लागि पीईभीसी लगानीको वैकल्पिक उपकरण हुनेछ। तर, अहिलेको अर्थतन्त्रको अवस्था र रिर्टन हेर्दा कता रिस्की पनि हो कि भन्ने परेको छ।’
हाल नागरिक लगानी कोषको आकार ३ खर्ब ३० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। मुद्दती निक्षेपबाट मात्रै पर्याप्त प्रतिफल नआएपछि कोषले विभिन्न बचत योजना र कर्जा कार्यक्रममार्फत रकम परिचालन गर्दै आएको छ।
ऐन संशोधनपछि अब कोषले पीईभीसीमा समेत लगानी गर्ने गरी तयारी अघि बढाएको हो। नागरिक लगानी कोषसँगै कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषले पनि यही क्षेत्रमा लगानी गर्न आवश्यक गृहकार्य गरिरहेका छन्।
‘कोषले आन्तरिक रुपमा पीईभीसीको लगानीका लागि निर्देशिकाको मस्यौदामा काम गरिरहेको छ,’ कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक दामोदर सुवेदीले भने, ‘सरकारले पीईभीसीमा लगानी खुला गरेपछि हाम्रो लगानी परिचालन गर्न सकिने भएको छ। तर, लगानी सुरु गर्न केही समय अझै लाग्छ।’
कर्मचारी सञ्चय कोषको आकार हाल ५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। कोषले अधिकांश रकम मुद्दती निक्षेपमा लगानी गरेको छ। त्यसबाहेक सञ्चयकर्तालाई विशेष सापटी, शैक्षिक सापटी, घर सापटी लगायत विभिन्न कर्जा योजना पनि संचालन गर्दै आएको छ।
बैंकको ब्याजदर ऐतिहासिक रूपमा न्यून रहेको र ठूला निक्षेपसमेत बैंकहरूले स्वीकार गर्न अनिच्छुक देखिएका बेला नयाँ लगानी उपकरण उपलब्ध हुनु दीर्घकालीन रूपमा सकारात्मक हुने कोष व्यवस्थापकहरूको विश्वास छ। उनीहरूका अनुसार यसले पुँजी परिचालन बढाउनुका साथै कोषको आम्दानी र अर्थतन्त्र दुवैलाई लाभ पुग्न सक्छ।
सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक कृष्ण अधिकारीले पनि पीईभीसीमा लगानीका लागि आवश्यक कार्यविधि संशोधन भइरहेको जानकारी दिए।
‘कोषको लगानी कार्यविधि संशोधनको प्रक्रियामा छ। कोषले विभिन्न फण्ड हेरेर ५ प्रतिशतसम्म लगानी गर्नसक्छ,’ उनले भने।
हाल सामाजिक सुरक्षा कोषको आकार १ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। कोषबाट हालसम्म २० अर्ब ९४ करोड रुपैयाँ दाबी भुक्तानी भइसकेको छ। योगदानकर्तालाई विभिन्न कर्जा योजनामार्फत पनि रकम परिचालन गरिँदै आएको छ।
तीनवटै कोषको अधिकांश लगानी अहिले बैंकको मुद्दती निक्षेप र डिबेञ्चरमा केन्द्रित छ। तर, बैंक ब्याजदर लगातार घट्दै जाँदा प्रतिफलमा दबाब परेको छ। यही कारण सरकारले लगानी विविधीकरणको नीति अघि सारेपछि कोषहरू जोखिमयुक्त भए पनि उच्च प्रतिफल दिन सक्ने नयाँ क्षेत्रमा प्रवेशको तयारीमा लागेका हुन्।
अवकाश कोषमा लगानी व्यवस्थापन गरिरहेका कर्मचारीहरूका अनुसार जोखिम मूल्यांकनका आधारमा एउटा कोषले २० देखि २५ अर्ब रुपैयाँसम्म पीईभीसीमा लगानी गर्न सक्ने सम्भावना छ। विशेषगरी कर्मचारी सञ्चय कोषजस्ता ठूलो आकारका कोषको रकम नयाँ क्षेत्रमा परिचालन गर्न यसले सहयोग पुग्ने उनीहरूको भनाइ छ।
पीईभीसीलाई तुलनात्मक रूपमा जोखिमयुक्त लगानी उपकरण मानिन्छ। प्राइभेट इक्विटी फण्डले कोष व्यवस्थापकमार्फत विभिन्न कम्पनी र स्टार्टअपमा लगानी गर्छन्। भेन्चर क्यापिटलले भने सेयर बजारमा सूचीकृत नभएका र प्रारम्भिक चरणका व्यवसायमा लगानी गर्ने गर्छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को विशिष्टीकृत लगानी कोष नियमावलीअनुसार कोष व्यवस्थापकहरूले पीईभीसी संचालनका लागि अनुमति लिएर फण्ड परिचालन गर्दै आएका छन्। यस्ता फण्डका लागि आवश्यक पुँजी विभिन्न लगानी उपकरणमार्फत जुटाइने व्यवस्था छ।











