सार्वजनिक सवारीसाधन दर्ताबारे विभागको नयाँ सर्कुलर, जेठ ८ सम्म एलसी खोलिएका दर्ता गरिने



बिजमाण्डू
२०८३ असार ८ गते १५:२९ | Jun 22, 2026
सार्वजनिक सवारीसाधन दर्ताबारे विभागको नयाँ सर्कुलर, जेठ ८ सम्म एलसी खोलिएका दर्ता गरिने

काठमाडौं। सरकारले जेठ ८ गतेसम्म एलसी खोलिएका सार्वजनिक सवारीसाधनका हकमा दर्ता खुलाएको छ।

Tata
GBIME
Nepal Life

सार्वजनिक सवारीसाधन दर्तामा रोक लगाएको ठिक एक महिनापछि यातायात व्यवस्था विभागले जेठ ८ गतेसम्म एलसी खोलिएका गाडी दर्ता गर्ने निर्णय गरेको हो।

विभागले सोमबार सातै प्रदेशका यातायात कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘अन्य व्यवस्था यथावत राखी २०८३ जेठ ८ गतेसम्म प्रतीतपत्र (एलसी) खोली सार्वजनिक सवारी साधन ल्याउन तथा दर्ता प्रक्रिया अघि बढाइ सकेका सवारी साधनका आयातकर्ता कम्पनीलाई सम्बन्धित कागजात पेस गर्न लगाई सोही अनुरुप देखिएमा ती सार्वजनिक सवारी साधन दर्ता गर्न कुनै बाधा नपर्ने व्यहोरा निर्णय अनुसार अनुरोध छ।’

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको निर्देशनमा विभागले गत जेठ ७ गते सार्वजनिक सवारीसाधनको दर्ता अनिश्चतकालका लागि बन्द गर्न सबै प्रदेशका यातायात कार्यालयलाई पत्राचार गरेको थियो।

बागमती प्रदेश सरकारले भने विभागको पत्रलाई बेवास्ता गर्दै डेढ सातापछि दर्ता खुलाएको थियो।