चितवन। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार पाँच वर्ष चल्नेमा निर्धक्क हुन आग्रह गरेका छन्।
रास्वपाको महाधिवेशन उद्घाटनका क्रममा विभिन्न राजनीतिक दलका नेताले रास्वपा सभापति रवि लामिछानेसँग आफ्नो सम्बन्धमा कारण सरकार कुनै पनि बेला ढल्न सक्ने जोखिम औंल्याएपछि बालेनले निर्धक्क हुन आग्रह गरेका हुन्।
‘हाम्रो गाडी लोकल रोडमा होइन, एक्सप्रेस वेमा हिँडेको हो। गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ,’ उनले भने।
बालेनले पासपोर्ट छपाइको ठेक्का प्रकरणमा अनुसन्धान गर्न अख्तियारका पदाधिकारीलाई बोलाएर दबाब दिएको देखि सीमाका विषयमा आफूले दिएको अभिव्यक्तिलाई लिएर भएको विवादका बारेमा महाधिवेशन उद्घाटन समारोहलाई प्रष्टीकरण दिने मञ्चका रुपमा उपयोग गरेका छन्।
‘अख्तियारलाई पाँच घण्टा होइन पाँच वर्षै राखेर सल्लाह लिन्छौं,’ उनले भने। प्रधानमन्त्रीको सचिवालयले गत सोमबार अख्तियारका पदाधिकारीलाई बोलाएर पासपोर्ट छपाइको ठेक्का प्रकरणमा अनुसन्धान गर्न दबाब दिएको थियो।

बालेनले सरकारी सम्पत्ति दुरुपयोग भएको हकमा सरकार निर्मम बन्ने बताए। उनले सुकुमबासी र सहकारी समस्या सरकारले यही कार्यकालमा पूरा गर्ने र अर्को चुनावमा नयाँ एजेण्डा लिएर जनतामा जाने बताए।
‘सुकुमबासी र सहकारी समस्या यही कार्यकालमा पूरा गर्छौ। अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जान्छौं। यही एजेन्डा बोकेर जाँदैनौं,’ उनले भने।
बालेनले पार्टीका नेताहरुलाई गुटबन्दीमा नलाग्न आग्रह गर्दै त्यस्ता गतिविधिमा लाग्नेप्रति पनि निर्मम हुने बताए। ‘पार्टीको महाधिवेशन चल्दैछ। समूह बनाउने प्रयास गर्न नहाल्नुहोला। त्यस्तो बीउ रोप्ने प्रयास नगर्नुहोला जुन बीचैमा उखेल्न नपरोस्,’ उनले भने।
बालेनले महाधिवेशन उद्घाटन समारोहमा ९ मिनेट सम्बोधन गरेका थिए। सार्वजनिक मञ्चमा बालेनले गरेको यो अहिलेसम्मकै लामो सम्बोधन हो। उनले चुनावी सभाहरुमा पनि ३ मिनेटभन्दा बोलेका थिएनन्।










