काठमाडौं। कुनै बेला दाजुभाइकै रुपमा सुमधुर सम्बन्ध थियो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापाबीच।
२०७९ को निर्वाचनअघि टेलिभिजन कार्यक्रममा लोकप्रियता कमाएका लामिछाने एकाएक पार्टी खोलेर राजनीतिक यात्रा गर्दासमेत दुई जनाको सम्बन्ध बिग्रिएको थिएन।
कतिसम्म भने २०७९ को मंसिरमा भएको निर्वाचनमा काठमाडौं ४ बाट रास्वपा सभापति लामिछानेलाई गगनसँग चुनावी प्रतिस्पर्धा गर्न सुझाएका थिए। लामिछानेको क्रेज सहरी क्षेत्रमा बढे पनि उनी चितवन २ मा झरे। २०७९ को मंसिरमा भएको निर्वाचनमा रविले उक्त क्षेत्रमा रास्वपाको कुनै पनि उम्मेदवार उठाएनन्। ‘गगनकै लागि लामिछाने चितवन झरेका थिए,’ रास्वपाका एक नेताले भन्छन्।

रवि चितवन २ बाट निर्वाचित बनेर आए, गगन काठमाडौं ४ बाट। दुई भाईको सम्बन्ध झनै बलियो बन्यो। उक्त निर्वाचनका बेला गगन काग्रेसका महामन्त्री थिए। उनी रास्वपासँग मिलेर सरकार बनाउनुपर्छ भन्ने लाइनमा थिए। ‘रविलाई प्रधानमन्त्रीका रुपमा सारेर भए पनि कांग्रेस सरकारमा जानुपर्छ, माओवादीको भर छैन,’ गगन निकट नेताहरु त्यतिबेला सुझाउँथे।
तर पार्टीको संस्थापन पक्ष अर्थात् शेरबहादुर देउवा पक्ष बलियो थियो, चुनावी गठबन्धन गरेकै कारण माओवादी केन्द्रसँग तालमेल गरी सरकार बनाउने तयारीमा लाग्यो कांग्रेस। देउवा प्रधानमन्त्री बन्ने दाउमा थिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने रास्वपासमेत समेटेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको मिलेमतोमा सरकार बनाए। उक्त सरकारमा लामिछाने उपप्रधानसहित गृहमन्त्री बने।
त्यतिबेला लामिछानेविरुद्ध दोहोरो नागरकिता र पासपोर्ट लिएको आरोप लाग्यो। उक्त आरोप लागेपछिको संसद पदसमेत गुम्यो।
चितवन २ मा २०८० वैशाख १२ गते उपनिर्वाचन घोषणा भयो। लामिछाने सोही क्षेत्रमा उम्मेदवार बने। कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउँदा गगनलाई चुनावी कमान्डर बनाएर पठाए। त्यसपछि दुई भाइको तिक्तता बढ्न थाल्यो।
यता तनहुँ १ मा उपनिर्वाचन हुँदै थियो। रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै उक्त क्षेत्रमा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार बने। उक्त क्षेत्रमा पनि गगन चुनावी कमान्डर थिए। स्वर्णिम र लामिछाने निर्वाचन बनेसँगै लामिछाने पुन गृहमन्त्री बने।
त्यसपछि भने लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लाग्यो। यो आरोपमा गगनले सदनमा पटकपटक आवाज उठाए।

२०८२ असारमा कांग्रेस एमालेबीच गठबन्धन भयो र एमाले अध्यक्ष ओलीको नेतृतवमा सरकार बनेपछि सहकारी प्रकरण छानबिनका लागि समिति नै गठन भयो। त्यतिबेला एमाले सांसद रहेका सूर्य थापाको नेतृत्वमा गठन भएको समितिले लामिछानेलाई सहकारीको रकम दुरुपयोग गरेको प्रतिवेदन तयार गर्यो।
सोही प्रतिवेदनको आधारमा लामिछाने दोषी भएको गगनको तर्क थियो। ‘जीबी राईसँग मिलेर मननीय रवि लामिछानेले सुयदर्शन सुप्रिम स्वर्णलक्ष्मीजस्ता थुप्रै सहकारीबाट हजारौं बचतकर्ताको करौडौ रुपैयाँ गोर्खा मिडिया लगायतको संस्थाहरु प्रयोग गरेर अपचलन गर्नुभएको ठगी गर्नुभएको हाम्रो दाबी छ,’ गगनले सार्वजनिक रुपमा भन्न थाले। त्यसपछि भने दुई भाइबीचको टकराव बढ्न थाल्यो।
यसले रास्वपाको नेतादेखि कार्यकर्तासमेत गगनविरुद्ध सामाजिक सञ्जालमा खनिन थालेका थिए। खासगरी गगनलाई पार्टीमा देउवाले रविविरुद्ध प्रयोग गरेको बताइन्थ्यो।
भदौ २३ र २४ को जेनजी विद्रोहपछि गत मंसिरमा भएको विशेष महाधिवेशनबाट गगन कांग्रेस सभापति बने। तर फागुन २१ गतेको निर्वाचनबाट भने रास्वपा १८२ सिटसहित पहिलो दल बन्दा कांग्रेसले ३८ सिटमै चित्त बुझायो।
झन्डै दुई तिहाई नजिकैको शक्तिशाली सरकार बनाएको रास्वपाले आफूले पाएको जनमतलाई संगठनमा ल्याउन असार ७ गते पहिलो महाधिवेशन आयोजना गर्यो। यो महाधिवेशनमा प्रमुख प्रतिपक्षी दलको सभापतिको हैसियतमा गगनलाई पनि निम्तो आयो।
गगन जाने कि नजाने भन्ने दोधारमा थिए। कांग्रेसमा एक पक्षले जान हुने र अर्को पक्षले जाँदा राम्रो हुने सुझाव दियो। यसबारे अनिर्णित भएका गगनले आइतबार बिहानै सामाजिक सञ्जालमा शुभकामना सन्देश दिए।
डेमोक्रेटिक पार्टीको सभापतिले कार्यक्रमस्थलमै पुगेर शुभकामना दिनुपर्छ – उक्त सन्देशमा धेरैले उनलाई सुझाए। त्यसपछि दिउँसो एकाएक उनी चितवनको गेस्टहाउस चौरमा शुभकामना दिन तयार भए। ‘प्रजातान्त्रिक संस्कार देखाउनु पनि गगनको लागि यो महत्वपूर्ण अवसर थियो। त्यसैले यसलाई मिस गर्न हुन्न भन्ने सुझाव धेरैतिरबाट आयो, त्यसपछि उहाँ जानुभएको हो,’ गगनको सचिवालयले भन्यो। गगनले महाधिवेशनको मञ्चमा पुगेर रास्वपका नेता कार्यकर्तालाई नेतृत्वमाथि प्रश्न गर्न सुझाए। आफूहरु प्रश्न गर्न ढिला हुँदा पार्टी कमजोर बनेको गगनको भनाईको सार थियो।
सभापति बनेपछि गगन पार्टीको ठूलो मञ्चमा पहिलोपटक उभिएका हुन्। यसअघि रास्वपाको स्थापनाको समयमा राष्ट्रिय सभा गृहमा गगन पुगेका थिएनन्। यता विशेष महाधिवेशनमा पनि गगनले अरु पार्टीका नेताहरुलाई निम्तो दिन पाएका थिएनन्।










