म्याग्दी हुँदै ११ महिनामा मुस्ताङमा सात लाख पर्यटक, आवागमन सर्वाधिक गत जेठमा



बिजमाण्डू
२०८३ असार ६ गते १२:२४ | Jun 20, 2026
म्याग्दी हुँदै ११ महिनामा मुस्ताङमा सात लाख पर्यटक, आवागमन सर्वाधिक गत जेठमा

म्याग्दी। म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी-जोमसोम सडक भएर चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा सात लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगेका छन्।

Tata
GBIME
Nepal Life

मुस्ताङको घाँसास्थित सीमा प्रहरी चौकीको तथ्यांक अनुसार चालु आवको साउनदेखि जेठसम्म ७ लाख ५ हजार ७५४ स्वदेशी र विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्। यो सङ्ख्या गत आर्थिक वर्षको १२ महिनाको बराबर हो।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी–जोमसोम सडक भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसामा प्रहरीले सवारीसाधनमार्फत भित्रने पर्यटकको अभिलेख राख्ने गरेको छ। ११ महिनामा १ लाख ५१ हजार १६० सवारीसाधनमार्फत ४ लाख ६० हजार ९२४ स्वदेशी र २ लाख ४४ हजार ८३० विदेशी पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी गत जेठमा २७ हजार ४८८ सवारीसाधनमार्फत ९० हजार ९३९ विदेशी र ४० हजार ८३८ स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। भारत सरकारले लिएको डलर बचत गर्ने नीतिका कारण गर्मीमा पोखरा, मुस्ताङलगायत ठाउँमा भारतीय पर्यटकको चाप बढेको छ।

लगातार चार दिन सार्वजनिक बिदा परेको जेठ तेस्रो साता नेपाली पर्यटकको रोजाइमा मुस्ताङ परेको थियो। पर्यटकको चापका कारण बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तातोपानी, दानाका होटल भरिभराउ हुने गरेका छन्। बर्खायामको सुरुआती समयको अनुकूल वैशाख-जेठमा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ्ने गरेको हो।

मुस्ताङ भित्रिएका बाह्य पर्यटकमध्ये करिब ८० प्रतिशत भारतीय पर्यटक हुने गरेको प्रहरी निरीक्षक बस्यालले बताए। गत आर्थिक वर्ष ७ लाख ५ हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए।

वारागुङ मुक्तिक्षेत्र-१ मा अवस्थित पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने उद्देश्यले भारतीय र नेपाली पर्यटक मुस्ताङ आउने गर्छन्। यसका साथै कागबेनीधाममा श्राद्ध र तर्पण गर्ने, कोरला नाका र लोमान्थाङको अवलोकन गर्ने उद्देश्यले मुस्ताङमा पर्यटकको उपस्थित हुने गरेको हो।

पृथक भूगोल, जैविक विविधता, प्राचीन कला संस्कृति, रहनसहन, हिमाली सौन्दर्यता र यहाँको विशेष प्रकारको मौलिकताका कारण मुस्ताङमा पर्यटकीय आकर्षण बढ्दै गएको छ। रासस