काठमाडौं। ब्राजिलले हाइटीमाथि प्रभावशाली जित निकालेको छ। फिलाडेल्फिया स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को खेलमा ब्राजिलले हाइटीलाई ३-० गोलअन्तरले हराएको हो। पहिलो खेलमा मोरोक्कोसँग बराबरीमा रोकिएको ब्राजिलको जारी संस्करणमा यो पहिलो जित हो।
एकतर्फी खेलको पहिलो हाफमै तीन गोल गर्दै ब्राजिलले खेल आफ्नो नियन्त्रणमा लिएको थियो।
खेलको सुरुआती २० मिनेटसम्म हाइटीले डिफेन्सिभ रणनीति लिँदै ब्राजिललाई रोक्न सफल भएको थियो। तर, २३औं मिनेटमा म्याथियस कुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। भिनिसियस जुनियरको प्रहार हाइटीका गोलरक्षक जोनी प्लासिडेले फुत्काएपछि डिफेन्डर हानेस डेलक्रोइक्सले क्लियर गर्न खोजेको बल कुन्हाको शरीरमा लागेर गोलमा परिणत भएको थियो।
३६औं मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गरे। भिनिसियसको पासमा उनले पेनाल्टी क्षेत्रभित्रबाट शक्तिशाली प्रहार गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए।
पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले पनि गोल गरे। लुकास पकेटाको उत्कृष्ट लामो पासमा अफसाइड ट्र्याप तोड्दै अघि बढेका उनले गोलरक्षकलाई बिट गर्दै सहज फिनिस गरे। यससँगै ब्राजिलले पहिलो हाफ ३-० ले आफ्नो पक्षमा समाप्त गर्यो।
दोस्रो हाफमा हाइटीले केही आक्रामक खेल देखाए पनि गोल गर्न सकेन। ६३औं मिनेटमा रिकार्डो अडेको हेडरमा ब्राजिलका गोलकिपर एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दै क्लिनसिट जोगाए।
ब्राजिलले थप गोल गर्ने अवसर पनि सिर्जना गरेको थियो। ७८औं मिनेटमा एन्ड्रिकले गरेको गोल अफसाइडका कारण मान्यता पाएन भने गाब्रियल मार्टिनेलीको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।
खेलभर ब्राजिलले बलमा नियन्त्रण कायम राख्दै हाइटीमाथि दबाब बनाइरह्यो। हाइटीले केही अवसर सिर्जना गरे पनि प्रभावकारी फिनिसिङ गर्न नसक्दा गोलविहीन रह्यो।
यो जितसँगै ब्राजिल समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ। दुई खेलबाट चार अंक जोडेको ब्राजिल गोलअन्तरका आधारमा शीर्षमा पुगेको हो। दोस्रो स्थानमा समान ४ अंकसहित मोरोक्को छ। अब ब्राजिलले स्कटल्यान्डसँग खेल्नेछ।
उता लगातार दोस्रो हार बेहोरेको हाइटी प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ। हाइटीले आफ्नो अन्तिम समूह चरणको खेलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ।










