चिया निर्यात खुलाउन उद्योगीले गराए सरकारको ध्यानाकर्षण, मन्त्रीले भने, ‘कूटनीतिक पहल भइरहेको छ’



बिजमाण्डू
२०८३ असार ४ गते २१:०५ | Jun 18, 2026
चिया निर्यात खुलाउन उद्योगीले गराए सरकारको ध्यानाकर्षण, मन्त्रीले भने, ‘कूटनीतिक पहल भइरहेको छ’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले नेपाली चिया निर्यातको अवरोध हटाउन कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्री शिशिर खनाललाई आग्रह गरेको छ। निर्यातको अवरोधका कारण इलाम र झापाका सयभन्दा बढी उद्योग बन्द भइसकेका छन्।

Tata
GBIME
Nepal Life

महासंघ अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको टोलीले बिहीबार मन्त्री खनाललाई भेटेर समस्या समाधानको लागि पहल गर्न आग्रह गरेको हो।  भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योग धराशायी बनेको भन्दै समस्या समाधानका लागि पहल गर्न ध्यानाकर्षण गराइएको हो।

भेटमा मन्त्री खनालले अवरोधप्रति सरकार गम्भीर रहेको र यस विषयमा भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको जानकारी दिए।

‘नेपाली चियाको निर्यातमा देखिएका समस्या समाधानका लागि हामीले भारतीय अधिकारीहरूसँग कुराकानी अगाडि बढाइसकेका छौं। समस्याको व्यवहारिक समाधान निकास निकाल्न कूटनीतिक तहबाट ठोस पहल भइरहेको छ। भारतीय पक्षबाट प्राप्त जानकारी अनुसार यसको छिट्टै समाधान निस्किनेछ।’

खनालले चियालगायत अन्य वस्तुको निर्यातमा समेत आउने यस्ता समस्याको दीर्घकालीन समाधानका लागि समेत भारतीय पक्षसँग कुराकानी भइरहेको जानकारी दिए।

महासंघका अध्यक्ष श्रेष्ठले वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार हुने चिया क्षेत्र संकटमा पर्दा समग्र अर्थतन्त्र र लाखौँको जीविकोपार्जनमा असर पर्ने बताए। उनले दीर्घकालीन समाधानका लागि नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापनामा जोड दिए।

वाणिज्य सचिव कृष्णबहादुर राउतले प्रक्रियागत सहजीकरणका लागि मन्त्रालयले पनि आफ्नो च्यानलबाट कुरा गरिरहेको र छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको जानकारी दिए।

महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्ष नरेशलाल श्रेष्ठ, पूर्वउपाध्यक्ष हेमराज ढकाल, नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली लगायतका उद्योगी व्यवसायीहरूले भारतीय चिया बोर्डद्वारा जारी गरिएको नयाँ स्टान्डर्ड अपरेटिङ सिस्टम (एसओपी) का कारण नेपाली चिया निर्यातमा थप जटिलता उत्पन्न भएको जानकारी गराएका थिए। उनीहरूले नेपाली चियाको गुणस्तरमा कुनै समस्या नरहेकोले बताउँदै भारतीय पक्षसँग द्विपक्षीय व्यापारिक संयन्त्रहरूमा विषयलाई प्रमुखताका साथ उठाउन सुझाए।