रास्वपाको कार्यक्रममै नजाने बालेन महाधिवेशनमा भाग लिनेमा रवि आशावादी, वरिष्ठ नेता पद ‘रिजर्भ’



प्रकाश भण्डारी
२०८३ असार ४ गते २२:२९ | Jun 18, 2026
रास्वपाको कार्यक्रममै नजाने बालेन महाधिवेशनमा भाग लिनेमा रवि आशावादी, वरिष्ठ नेता पद ‘रिजर्भ’

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने पहिलो महाधिवेशनमा सहभागी हुनेमा सभापति रवि लामिछाने आशावादी बनेका छन्। फागुन २१ गतेको चुनावमा मनोनयन अघि माघ ४ गते पार्टी प्रवेश गरेका शाह पार्टीका अरू कार्यक्रममा सहभागी नभएको भए पनि असार ७, ८ र ९ गते हुने महाधिवेशनमा भने सहभागी हुनेमा लामिछाने आशावादी देखिएको रास्वपाका एक सचिवालय सदस्यले बताए।

Tata
GBIME
Nepal Life

लामिछानेले बिहीबार बसेको बैठकमा शाह सहभागी हुने ब्रिफिङ गरेका थिए। ‘उहाँ हाम्रो वरिष्ठ नेता हो। महाधिवेशनमा सहभागी नहुँदा राम्रो सन्देश जाँदैन त्यही भएकोले सहभागी हुनुहुन्छ,’ लामिछानेको ब्रिफिङबारे जानकारी दिँदै एक सचिवालय सदस्यले भने।

शाहको सचिवालयले भने प्रधानमन्त्री महाधिवेशनमा सहभागी हुनेबारे अहिलेसम्म तय भइनसकेको जानकारी दिएको छ।

पार्टी प्रवेशपछि शाहले लामिछानेबाट शपथ लिएका थिएनन् भने कुनै पनि बैठकमा भाग लिएका थिएनन्। चुनावी अभियानका क्रममा देशव्यापी दौडाहा गर्ने बाहेक उनले रास्वपाका गतिविधिमा भाग लिएनन्। पुस १३ को लामिछानेसँगको ७ बुँदे सहमति अनुसार वरिष्ठ नेता हुँदै संसदीय दलको नेता तथा करिब दुई तिहाइ बहुमतको प्रधानमन्त्री बनेपछि शाह रास्वपाका गतिविधिबाट झनै टाढा छन्।

पार्टी गतिविधिमा नजोडिएका शाहका लागि रास्वपाले वरिष्ठ नेता पद भने ‘रिजर्भ’ गर्ने भएको छ। सचिवालय बैठकको निर्णयबाट वरिष्ठ नेता बनाएको रास्वपाले अब भने शाहलाई महाधिवेशनबाटै वरिष्ठ नेता मनोनीत गर्ने तयारी गरेको छ। सचिवालय बैठकमा वरिष्ठ नेतामा चुनाव नगरी मनोनीत गर्ने समझदारी पनि जुटेको हो। सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठित विधान संशोधन समितिले तयार पारेको प्रतिवेदनमा बिहीबार बिहान बसेको सचिवालय बैठकले वरिष्ठ नेता पद थपेको छ।

यसअघि सचिवालय बैठकको निर्णयबाट शाह वरिष्ठ नेता बनेका थिए। रास्वपाको विधानमा वरिष्ठ नेता पद थिएन। ‘यसअघि वरिष्ठ नेताको पद थिएन। अब हाम्रो विधानबाटै यो पदको व्यवस्था गरिएको छ,’ रास्वपा सचिवालय सदस्य लिमा अधिकारीले भनिन्।

बढे पदाधिकारी र केन्द्रीय सदस्य

यस्तै, रास्वपाले पदाधिकारीको संख्या १९ जना बनाएको छ। यसअघि पदाधिकारीको संख्या १३ सदस्यीय हुने रास्वपा विधानको २५ नम्वर बुँदामा उल्लेख छ।

विधान संशोधन समितिले तयार पारेर सचिवालयमा प्रस्तुत भएको प्रतिवेदनले सभापति १, वरिष्ठ नेता १ तथा उपसभापति ३ जना हुने व्यवस्था गरेको छ। उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ।

महामन्त्रीको संख्या २ जना नै कायम भएको छ। शाहसँगको सहमतिपछि हाल रास्वपामा कवीन्द्र बुर्लाकोटी र भूपदेव शाह महामन्त्री छन्। सहमहामन्त्रीको संख्या ५ रहेकोमा १ जना महिला अनिवार्य गरिएको छ। प्रवक्ता १ तथा सहप्रवक्ता ३ जना हुनेछन्। सहप्रवक्तामा पनि १ जना महिला अनिवार्य गरिएको छ। कोषाध्यक्ष १ तथा २ जना सहकोषाध्यक्षमा १ जना महिला हुनेछन्। समावेशी बनाउन पदाधिकारी संख्या बढाइएको नेताहरूको भनाइ छ।

बिहीबार बसेको सचिवालय बैठक

रास्वपाको अहिलेको विधानमा २५ जनाको सचिवालय रहने व्यवस्था रहेकोमा बढाएर ३३ सदस्यीय हुने व्यवस्था गरिएको छ। केन्द्रीय समिति सदस्य संख्या १५८ हुने छ। यसअघि विधानमा १२९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था थियो। सभापतिले २२ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ५१ पुर्‍याइएको छ। विधानको संशोधनलाई शुक्रबार बस्ने केन्द्रीय कमिटीबाट पारित गर्ने रास्वपाको तयारी छ।

महाधिवेशनमा पदाधिकारीमा सकेसम्म सहमति खोज्ने पनि बिहीबारको सचिवालयको बैठकले निर्णय गरेको छ। केन्द्रीय सदस्यमा चुनाव गर्ने तयारी भए पनि २०७९ मा पार्टी गठन भए यता पहिलो पटक हुन लागेको महाधिवेशनमा पदाधिकारी सर्वसम्मत बनाउन तयारी रास्वपाले गरेको हो।