काठमाडौं। सरकारले उपसचिव र त्यसमाथिका बहालवाला तथा अवकाशप्राप्त कर्मचारी र राजनीतिक पूर्वपदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन भनेपछि त्यसको प्रभाव घरबहाल करमा देखिएको छ। आम्दानीको स्रोत देखाउन पछिल्लो समय भएको दौडले घरबहाल करबापतको रकम ह्वात्तै बढेको छ।
काठमाडौं महानगरमा पोहोर जेठमा साढे १९ करोड रुपैयाँ घरबहाल कर उठेकोमा यो जेठमा ८० प्रतिशत बढेको छ। महानगरकी राजस्व विभागका उपनिर्देशक विमला कोइरालाका अनुसार यसपालि जेठमा ३४ करोडभन्दा बढी घरबहाल कर उठेको छ।
‘यसपटक जेठमा ३४ करोड २ लाख ३९ हजार ४७९ रुपैयाँ घरबहाल कर उठेको छ। अघिल्लो जेठमा १९ करोड ५७ लाख उठेको थियो,‘ उपनिर्देशक कोइरालाले भनिन्। काठमाडौं महानगरमा वैशाखमा २१ करोड ३ लाख ३३ हजार ८१४ रुपैयाँ घरबहाल कर उठेको थियो। यो शीर्षकमा पोहोर वैशाखमा महानगरले जम्मा १२ करोड ३७ लाख ८३ हजार उठाएको तथ्यांक छ।
सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले वैशाख मसान्तमा सम्पत्ति विवरण बुझाउन सूचना निकालेको थियो। आयोगमा पूर्वमन्त्रीदेखि पूर्वसांसद, संवैधानिक निकायका पूर्वपदाधिकारी र राजनीतिक नियुक्त पाएका अन्य व्यक्तिसम्मले असार मसान्तसम्म सम्पत्ति विवरण बुझाउनुपर्नेछ।
सम्पत्ति विवरण बुझाउनुपर्नेको सूचीमा विश्वविद्यालयका पूर्वपदाधिकारीदेखि सरकारी आयोग, बोर्ड, समिति, प्रतिष्ठान लगायतका पूर्वपदाधिकारी पनि छन्। सम्पत्ति विवरण बुझाउनुपर्नेको सूचीमा करिब ५० हजार रहेको आयोगको अनुमान छ।
आयोगको सूचनापछि सम्पत्तिको स्रोत देखाउन घरबहाल कर बुझाउने क्रम बढेको महानगरका एक वडाध्यक्षले बताए।
‘अहिले बहालवालादेखि अवकाए पाएका कर्मचारीहरु घरबहाल कर तिर्न लाइन बस्न थालेका छन्। यसअघि करको दायरामा नआएकाहरु धमाधम आउन थालेका छन्,’ एक वडाध्यक्षले भने, ‘पूर्वमन्त्री र पूर्वसांसदलाई पनि लाइन बसेको देखेका छौं।’ घरबहाललाई सम्पत्तिको स्रोतको रुपमा देखाउन घरबहाल कर तिर्नुपर्छ।
स्थानीय तहले घरबहालमा १० प्रतिशत कर लिने गरेका छन्। घरबहाल करबापतको रकम ह्वात्तै बढेको काठमाडौं महानगरमा मात्र होइन, ललितपुर महानगरमा पनि यसपालि जेठमा घरबहाल कर धेरै उठेको तथ्यांक छ।
ललितपुर महानगरको राजस्व विभागकी लेखा अधिकृत रजनी शाक्यले यसपालि जेठमा घरबहाल करबापत ९ करोड ३९ लाख रुपैयाँ उठेको जानकारी दिइन्। महानगरले वैशाखमा ६ करोड २८ लाख ५० हजार रुपैयाँ घरबहाल कर उठाएको थियो।
सिंहदरबारमा कार्यरत एक उपसचिवले जेठ महिनामा आफूले एक वर्षको घरबहाल कर एकमुष्ट तिरेको जानकारी दिए। काठमाडौंको तीनकुने सुविधानगरका ती उपसचिवले २ लाख रुपैयाँ घरबहाल कर तिरेका हुन्।
चारतले घरका धनी ती उपसचिवले महिनामा डेढ लाख रुपैयाँभन्दा बढी घर भाडा उठाउने गरेका छन्। ‘पहिले घरबहाल कर नबुझाए पनि कसैले मतलव गर्दैनथ्यो। अहिले सम्पत्तिको स्रोत देखाउनका लागि नबुझाइ नहुने अवस्था आयो,’ ती उपसचिवले भने।
आयोगले सम्पत्ति विवरण बुझाउन भनेपछि काठमाडौं र ललितपुर महानगरमा जस्तै अन्य स्थानीय तहमा पनि घरबहाल कर बुझाउनेहरु एकाएक बढेका छन्। खासगरी काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न नगरपालिकामा घरबहाल कर बुझाउनेको संख्या बढेको हो।
कानुनमा घरबहाल कर बुझाउनुपर्ने व्यवस्था भए पनि अधिकांशले छल्दै आएका छन्। जस्तो कि काठमाडौं महानगरले चालु आर्थिक वर्ष ८२/८३ मा ६ अर्ब २५ करोड रुपैयाँ घरबहाल कर उठाउने लक्ष्य लिएकामा जेठ मसान्तसम्म ३ अर्ब ६ लाख ५८ हजार रुपैयाँ संकलन भएको छ।
काठमाडौं महानगरले २०७७/७८ मा १ अर्ब ६१ करोड, २०७८/७९ मा २ अर्ब ३ करोड, २०७९/८० मा २ अर्ब ५६ करोड, २०८०/८१ मा २ अर्ब ९१ करोड र २०८१/८२ मा ३ अर्ब १५ करोड घरबहाल कर उठाएको तथ्यांक छ।
यस्तै ललितपुर महानगरले चालु आर्थिक वर्ष ११ महिनामा ७२ करोड ७५ लाख २५ हजार २७४ रुपैयाँ घरबहाल कर उठाएको छ। महानगरको राजस्व विभागका अनुसार २०८१/८२ मा ९५ करोड ८९ लाख ८९ हजार, २०८०/८१ मा ८४ करोड ९९ लाख ३६ हजार र २०७९/८० मा ६९ करोड ७० लाख ८ हजार रुपैयाँ घरबहाल कर उठेको थियो।









