भर्डेविरुद्ध गोल गर्न सकेन युरोपियन च्याम्पियन स्पेनले, विश्वकप डेब्यु खेलमै अंक



बिजमाण्डू
२०८३ असार २ गते ०४:३२ | Jun 16, 2026
भर्डेविरुद्ध गोल गर्न सकेन युरोपियन च्याम्पियन स्पेनले, विश्वकप डेब्यु खेलमै अंक
स्पेन र केप भर्डेको प्रतिस्पर्धा। Photo: FIFA

काठमाडौं। फिफा विश्वकप २०२६ मा डेब्यु गरेको केप भर्डेले प्रतियोगिताकै अप्रत्यासितमध्येको एक नतिजा निकाल्न सफल भएको छ। उसले गएराति सम्पन्न खेलमा युरोपियन च्याम्पियन स्पेनसँग गोलरहित बराबरी खेल्दै डेब्यु खेलमै उपाधिको दाबेदार टोलीसँग अंक खोसेको हो।

Tata
GBIME
Nepal Life

समूह ‘एच’ अन्तर्गत जर्जियाको एटलान्टा स्टेडियममा सोमबार राति भएको खेलमा स्पेनले सुरुदेखि अन्त्यसम्म दबाब बनाए पनि केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हाको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेन। खेल गोलरहित बराबरीमा टुंगियो।

स्पेनले खेलभर २७ प्रहार गर्दा सात वटा प्रहार गोलपोस्टको दिशामा थिए। तर ४० वर्षीय गोलरक्षक भोजिन्हाले सबै प्रयास विफल पार्दै टोलीलाई ऐतिहासिक अंक दिलाए। केप भर्डेले भने जम्मा ६ प्रहार गरेको थियो, जसमा कुनै पनि स्पष्ट अवसर सिर्जना हुन सकेन।

पहिलो हाफको ४१औँ मिनेटमा स्पेन गोल नजिक पुगेको थियो। मार्क कुकुरेलाको पासमा फेरान टोरेसले पाँच यार्डबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो। त्यसपछि मिकेल ओयारजाबालको हेडरलाई भोजिन्हाले उत्कृष्ट बचाउ गर्दै केप भर्डेलाई संकटबाट जोगाएका थिए।

पहिलो हाफको इन्जुरी समयमा पनि भोजिन्हाले एमेरिक लापोर्टेको शक्तिशाली हेडरलाई उत्कृष्ट बचाउ गरे। त्यसअघि टोरेसको अर्को प्रहार पनि उनले रोक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा पनि खेलको स्वरूप उस्तै रह्यो। स्पेनले लगातार आक्रमण गरे पनि केप भर्डेको रक्षापंक्ति निकै अनुशासित देखियो। ७१औँ मिनेटमा लामिन यामाल मैदान प्रवेश गरेपछि स्पेनको आक्रमण केही तीव्र बने पनि गोल निकाल्न सकेन।

विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेका लागि यो अंक इतिहासकै सबैभन्दा महत्वपूर्ण उपलब्धिमध्ये एक बनेको छ। अर्कोतर्फ उपाधिको प्रमुख दाबेदार मानिएको स्पेनले भने प्रतियोगिताको सुरुआतमै अप्रत्याशित झट्का बेहोरेको छ।