विश्वका ४६ प्रतिशत गरिब जनसंख्याको भन्दा इलन मस्कको सम्पत्ति बढी हुने



बिजमाण्डू
२०८३ जेठ २९ गते १३:२५ | Jun 12, 2026
विश्वका ४६ प्रतिशत गरिब जनसंख्याको भन्दा इलन मस्कको सम्पत्ति बढी हुने
न्यूयोर्क टाइम्स डिलबुक समिटमा मस्क। File Photo: AFP

विश्वकै धनाढ्य व्यक्ति इलन मस्क चाँडै नै पहिलो ट्रिलियनर बन्ने सम्भावना छ। उनको सम्पत्ति १ ट्रिलियन डलर पुगेमा उनी विश्वका सबैभन्दा गरिब ४६ प्रतिशत जनसंख्या अर्थात् करिब ३ अर्ब ८० करोड मानिसभन्दा पनि धनी हुनेछन्।

Tata
GBIME
Nepal Life

अन्तर्राष्ट्रिय संस्था अक्सफामले सार्वजनिक गरेको नयाँ विश्लेषणअनुसार स्पेसएक्सको आईपीओपछि मस्कको सम्पत्ति १ ट्रिलियन डलर नाघ्न सक्ने अनुमान गरिएको छ। त्यसो भएमा उनी इतिहासकै पहिलो ट्रिलियनर बन्ने भएका हुन्।

अक्सफामका अनुसार पछिल्लो एक वर्षमा मात्रै मस्कको सम्पत्ति ५५० अर्ब डलरभन्दा बढीले बढेको छ। औसतमा उनको सम्पत्ति प्रति मिनेट १० लाख डलरभन्दा बढीले वृद्धि भएको देखियो।

यस्तो असाधारण सम्पत्तिको सञ्चिति दशकौँदेखि धनी वर्गलाई लाभ पुग्ने गरी बनाइएका आर्थिक र राजनीतिक नीतिको परिणाम भएको अक्सफामको दाबी छ।

अक्सफाम अमेरिकाका आर्थिक न्याय विभागका वरिष्ठ निर्देशक नबिल अहमदले मस्कको सम्भावित ट्रिलियनर यात्रा लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएका छन्। उनका अनुसार यति ठूलो सम्पत्ति एक व्यक्तिमा केन्द्रित हुनु संयोग नभई सीमित व्यक्तिहरूलाई मात्रै असाधारण रूपमा लाभ पुर्‍याउने राजनीतिक र आर्थिक निर्णयहरूको प्रतिफल हो।

अक्सफामको विश्लेषणमा मस्कले दैनिक १० लाख डलर खर्च गरे भने पनि १ ट्रिलियन डलर सक्न उनलाई करिब २ हजार ७ सय ४० वर्ष लाग्ने उल्लेख छ। त्यति रकमबाट पृथ्वीका हरेक मानिसलाई १०० डलर बाँड्दा पनि उनीसँग १८४ अर्ब डलरभन्दा बढी सम्पत्ति बाँकी रहने अनुमान गरिएको छ।

अक्सफामले मस्कको सम्पत्तिमा १० प्रतिशत कर लगाइएमा विश्वभरको चरम गरिबी एक वर्षका लागि अन्त्य गर्न सकिने दाबी गरेको छ। त्यसबाट ८० करोडभन्दा बढी मानिसलाई चरम गरिबीको रेखाभन्दा माथि उठाउन सकिने संस्थाको भनाइ छ।

प्रतिवेदनले आर्थिक असमानताले राजनीतिक असमानता पनि बढाउने उल्लेख गरेको छ। अर्बपतिहरू सामान्य नागरिकको तुलनामा राजनीतिक पदमा पुग्ने सम्भावना ४ हजार गुणाभन्दा बढी रहेको अक्सफामको अनुमान छ।

अत्यधिक धन र प्रभावले लोकतान्त्रिक प्रक्रियामा असर पार्ने जोखिम बढाउने प्रतिवेदनमा उल्लेख छ।

मस्कमाथि आफ्नो आर्थिक शक्ति र प्रभाव प्रयोग गरेर राजनीतिक निर्णयहरूमा प्रभाव पार्ने, आफ्ना व्यावसायिक हित सुरक्षित गर्ने तथा सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाउन सहज वातावरण सिर्जना गरेको आरोप पनि प्रतिवेदनमा लगाइएको छ। विशेषगरी सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर) खरिद गरेपछि प्लेटफर्ममा गलत सूचना र घृणात्मक अभिव्यक्ति बढेको विभिन्न अध्ययनहरूले देखाएको ओक्सफामले जनाएको छ।

संस्थाले विश्वभरका सरकारहरूलाई बढ्दो आर्थिक असमानता नियन्त्रण गर्न ठोस कदम चाल्न आग्रह गरेको छ। अत्यधिक सम्पत्ति र एकाधिकार शक्तिमाथि नियन्त्रण, अति धनी व्यक्तिहरूमाथि प्रभावकारी कर व्यवस्था, सार्वजनिक सेवामा लगानी वृद्धि तथा श्रमिक अधिकार सुदृढीकरण आवश्यक रहेको अक्सफामको सुझाव छ।