काठमाडौं। फिफा विश्वकप २०२६ को आयोजकमध्येको टोली हो- अमेरिका। समूह ‘डी’ मा अमेरिकासँगै टर्कीए, पाराग्वे र अस्ट्रेलिया छन्।
घरेलु समर्थकको साथ, अनुभवी प्रशिक्षक र प्रतिभाशाली खेलाडी। यी सबै कारणले आयोजक अमेरिका समूह ‘डी’का प्रमुख दाबेदार मानिएको छ तर यो त्यति सजिलो पनि छैन। अमेरिकासहित टर्कीए, पाराग्वे र अस्ट्रेलिया रहेको यो समूह विश्वकप २०२६ का सबैभन्दा सन्तुलित समूहहरूमध्ये एक मानिएको छ। यो समूहमा सबैटोली एकै स्तरको छन्।
आयोजक राष्ट्र भएकाले अमेरिकामाथि समूह चरण पार गर्ने मात्र नभएर नकाउटमा पनि अघि बढ्ने सपना छ। तर, उसका विपक्षी पाराग्वेको दक्षिण अमेरिकी अनुभव, टर्कीएको युरोपेली स्तर र अस्ट्रेलियाको डटिरहने शैलीले यात्रा सहज नहुने देखिन्छ।
गतवर्ष अमेरिकाले यी तीनवटै विपक्षीसँग मैत्रीपूर्ण खेल खेलिसकेको छ। पछिल्ला मैत्रीपूर्ण खेलहरूमा भने अमेरिकाले यी टोलीलाई हराएको छ।
अमेरिका
अमेरिकाको पहिलो ध्यान लगातार दोस्रो विश्वकपको नकआउट चरणमा पुग्नेमा हुनेछ। प्रशिक्षक माउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको टोलीमा युरोपका शीर्ष लिगमा खेल्ने धेरै खेलाडी छन्। आयोजक राष्ट्र भएकाले घरेलु समर्थकको साथ पनि अमेरिकाको ठूलो बल हुनेछ।
अमेरिकी टोलीको गति, प्रेसिङ र आक्रामक खेलशैलीले कुनै पनि टोलीलाई समस्या दिन सक्छ। तर, ठूला प्रतियोगितामा निरन्तरता देखाउनु उसको मुख्य चुनौती रहनेछ। त्यस्तै, गोलकिपर र रक्षापंक्ति पनि अमेरिकाको टाउको दुखाउन सक्नेछ।
प्रतियोगिताको सहआयोजक हुनाको नाताले ‘ड्र’ मा पाएको सुविधाका कारण १६औं वरीयताको अमेरिकाले विश्व वरियताको २७औं स्थानमा रहेको अस्ट्रेलियासँग खेल्दै घरेलु विश्वकप यात्रा सुरु गर्नेछ। त्यसपछि टोलीले ४०औं वरीयताको पाराग्वे र विश्व वरीयताको २२औं स्थानमा रहेको टर्कीएसँग खेल्नेछ।
क्रिस्टियन प्युलिसिक हालको अमेरिकी फुटबलका सबभन्दा ठूला स्टार हुन्। तर, उनले नै सन् २०२४ यता एउटै अन्तर्राष्ट्रिय गोल गर्न सकेका छैनन्।
सन् १९३० मा विश्वकप सुरु भएयता अमेरिकाले अहिलेसम्म सेमिफाइनल पुग्ने उपलब्धि हासिल गर्न सकेको छैन। सन् २००२ मा पछिल्लो पटक अमेरिका क्वाटरफाइनल पुगेको थियो।
टर्कीए
टर्कीए लामो समयपछि विश्वकपमा फर्किएको छ। सन् २००२ को विश्वकप तथा २००८ को युरोपियन च्याम्पियनसिपमा सनसनीपूर्ण प्रदर्शनका साथ सेमिफाइनल पुगेको टर्कीए विश्वकपमा लगातार पछिल्ला पाँच संस्करणमा अनुपस्थित थियो।
२४ वर्षपछि विश्वकपमा पुनरागमन उसलाई युरोपेली छनोट र प्लेअफमा गरेको प्रदर्शनका आधारमा समूहको ‘डार्क हर्स’ पनि मानेका छन्। प्राविधिक रूपमा सक्षम र आक्रामक फुटबल खेल्ने टोलीका रूपमा टर्कीएले अमेरिका र पाराग्वेलाई कडा चुनौती दिन सक्छ।
टर्कीएका यो तेस्रो विश्वकप सहभागिता हुनेछ। टर्कीएको टिम २२ अन्तर्राष्ट्रिय गोल गरेका कप्तान हाकान काल्हानोग्लु र १५ गोल गरेका केरिम आर्टुरकोग्लुबाट उच्च प्रदर्शनको अपेक्षामा हुनेछ। अर्दा गुलेर केनन यिल्डिजजस्ता प्रतिभाशाली खेलाडीबाट पनि टर्कीएलाई ठूलो अपेक्षा हुनेछ।
पाराग्वे
८ पटक विश्वकप खेलिसकेको पाराग्वे कुनै बेला विश्वकपको ‘डार्क हर्स’ भनेर चिनिन्थ्यो। दक्षिण अमेरिकाबाट ६ टोली सोझै विश्वकपलाई छानिनेमा पाराग्वे छैटौं भएर छनोट भएको हो। सन् २०१० यता पाराग्वेले पहिलो पहिलो पटक विश्वकप खेल्दैछ।
सन् २०१० मा क्वार्टरफाइनल पुग्नु पाराग्वेको विश्वकपमा अहिलेसम्मको सर्वोत्कृष्ट नतिजा हो। पाराग्वेको यो नवौं विश्वकप सहभागिता हो। पछिल्ला खेलहरूमा मेक्सिको, ग्रीसजस्ता टोलीलाई हराउँदै आफूमा आत्मविश्वास पनि भरेको छ।
यो टोलीमा हेर्नपर्ने खेलाडी हुन सक्छन् – गुस्तोभो गोमेज। टोलीबाट ८८ खेल खेलिसकेका ३३ वर्षे यी सेन्टरब्याक टोलीको मेरुदण्डका रुपमा रहने गरेका छन्।
अस्ट्रेलिया
अस्ट्रेलिया नेपालको प्रतिद्वन्द्वी भएर खेलेको धेरै भएको छैन। नेपालले अस्ट्रेलियासँग विश्वकप छनोटमै पनि खेलिसकेको छ। विश्वकपमा भने अस्ट्रेलियाले ७ औँ पटक चुनौती पेस गर्दैछ। दुईपटक प्रिक्वाटरफाइनलमा पुग्नु उसको हालसम्मको ठूलो उपलब्धि हो। सन् २००६ र २०२२ मा अस्ट्रेलिया राउण्ड अफ १६ मा पुगेको थियो।
कतार विश्वकपमा अस्ट्रेलिया ट्युनिसिया र डेनमार्कलाई पराजित गर्दै टोली विश्वकप २०२२ को नकआउट चरण पुगेको थियो तर त्यहाँ अर्जेन्टिनासँग २-१ ले पराजित हुन पुगेको थियो। अनुभवी गोलकिपर म्याथु रायन अस्ट्रेलियाली टिमका कप्तान हुन्।
एलेसान्ड्रो सिर्काटी यो टोलीका मुख्य खेलाडी बन्न सक्छन्। अस्ट्रेलियाको बलियो डिफेन्सका पछाडिका मुख्य खेलाडी हुन् यी।










