प्रधानमन्त्री र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ : अर्थमन्त्री वाग्ले



बिजमाण्डू
२०८३ जेठ २७ गते ०९:५० | Jun 10, 2026
प्रधानमन्त्री र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालितपोषितबाट प्रधानमन्त्री र आफूमाथि आक्रमण भइरहेको बताएका छन्। प्रतिनिधि सभाको अर्थ समितिमा बुधबार आयोजित बजेट सम्बन्धि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

Tata
GBIME
Nepal Life

‘प्रधानमन्त्रीज्यु र म माथि नियोजित रुपमा घेराबन्दी र आक्रमण भइरहेको छ,’ उनले भने, ‘नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमा यो विषय अदालत पुग्दैछ। हामीसँग रुष्ट तिनै समूहबाट पालितपोषितबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको मलाई शंका लागेको छ।’

बजेटमा गरिएका व्यवस्थालाई लिएर आलोचना खेपेका अर्थमन्त्री वाग्लेले आफ्नाविरुद्ध आएका अनर्गल आरोपमा सत्यता नभएको दाबी गरे। सांसदहरुलाई त्यस्ता समूहका नियोजित आक्षेपबाट प्रभावित नहुन उनले आग्रह गरे। संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुने पनि उनले बताए।

बजेटको सूचना चुहिएको शंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको घटनामा अर्थमन्त्री वाग्ले संसद्मा विपक्षीको निसाना पारेका छन्। सवारी आयातका प्रक्रिया र अर्डरअनुसार भित्रिन लाग्ने समयको हिसाबकिताब नकेलाइ आलोचना भइरहँदा सबैजसो मञ्चमा उनले जवाफ दिनुपरेको छ।

‘सरकारले कतै पनि सूचना चुहाएको छैन। संसदीय छानबिन सस्तो भयो,’ समितिमा उनले भने, ‘नियमित प्रक्रियालाई पनि संसदीय छानबिन भनिदिने? सांसदहरु एक-दुई पत्रिकाले उचालेकोमा छानबिन भनिदिने?’ उनले सांसदहरुले अवस्थाको यथार्थ बुझ्नुपर्ने बताए। धेरैले राम्रो भनेको बजेटमाथि कुनै आधार नै नभएको आरोप लगाउने प्रयास भएको भन्दै आफ्नो बचाउ गरे।