काठमाडौं। नेपालमा पहिलो पटक जेडब्लू म्यारियट होटल काठमाडौं भ्याली सञ्चालनमा आउने भएको छ।
यसका लागि एमएस ग्रुप अन्तर्गतको क्यापिटल होटल एन्ड हस्पिटालिटीले सोमबार म्यारियट इन्टरनेसनलसँग होटल व्यवस्थापन सम्झौता गरेको छ।
सम्झौतापत्रमा क्यापिटल होटल एन्ड हस्पिटालिटीका संचालक तथा प्रबन्ध निर्देशक गौरव अग्रवाल र म्यारियट एशिया-प्यासिफिक (चीनबाहेक) क्षेत्रका अध्यक्ष राजिव मेननले हस्ताक्षर गरेका छन्।
क्यापिटल होटलका तर्फबाट शशीकान्त अग्रवाल र म्यारियट इन्टरनेसनलका तर्फबाट डेभिड म्यारियटबीच थप सम्झौता आदानप्रदान गरिएको छ।

दुई कम्पनीले चौथो सहकार्य गर्न लागेका हुन्। ‘म्यारियटसँग पुनः सहकार्य गर्न पाउनु हाम्रो लागि अत्यन्तै महत्वपूर्ण अवसर हो। यस साझेदारीमार्फत हामी नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान पुर्याउने एक प्रतिष्ठित लक्जरी होटल स्थापना गर्नेछौं,’ गौरवले भने।
सन् २०३१ को प्रारम्भमा सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण गरिने लक्जरी होटलमा २२१ वटा विलासी अतिथि कक्ष रहनेछन्। होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ मिनेटको दूरीमा रहने कम्पनीले जनाएको छ।
होटलबाट काठमाडौंका युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थल तथा अन्य सांस्कृतिक सम्पदा स्थल मा सहज पहुँच हुनेछ। होटलमा विभिन्न भोजनालय, स्पा, फिटनेस सेन्टर, स्विमिङ पुल, जेडब्ल्यू गार्डेन तथा १,६०० वर्ग मिटरभन्दा बढी क्षेत्रफलको कार्यक्रम तथा सभा स्थल रहनेछन्।










