बजेटबारे एफएनसीसीआईका अध्यक्ष अन्जनले भने- निजी क्षेत्रको स्वर सुनिएको छ



बिजमाण्डू
२०८३ जेठ २५ गते १३:४१ | Jun 8, 2026
बजेटबारे एफएनसीसीआईका अध्यक्ष अन्जनले भने- निजी क्षेत्रको स्वर सुनिएको छ


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठले बजेटमार्फत नीतिगत परिवर्तनका‌ लागि लिइएका पहलले लगानी गर्न मनोबल बढाएको बताएका छन्।

Vigo
GBIME
Tata

उनले सोमबार बजेटको समीक्षा कार्यक्रममा कतिपय व्यवस्थाले निजी क्षेत्रलाई उत्साहित तुल्याएको बताए।

‘यो बजेटले निजी क्षेत्रको स्वर सुनेको छ। नीतिगत परिवर्तनका‌ लागि लिइएका पहलले लगानीकर्ताको मनोबल बढाएको छ। लगानी भित्र्याउन र बाहिर लैजान गरिएका सहजीकरणले हामीलाई उत्साहित बनाएको छ,’ उनले भने, ‘उद्योगको‌ पुँजी वृद्धि गर्दा उद्योग विभागलाई जानकारी गराउँदा मात्रै हुने व्यवस्थाले निजी क्षेत्रलाई सहज बनाउने छ। पुँजीगत‌ लाभकरलाई अन्तिम मानिनु असाध्यै ठीक भएको छ। आयकरमा गरिएको परिवर्तनले मध्यम वर्गलाई राहत दिने अपेक्षा छ।’

एफएनसीसीआईका अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको स्वर सुनिए पनि एफएनसीसीआईले बजेटको समर्थन वा विरोध नगर्ने बताए। ‘निजी क्षेत्रले बजेटको‌ समर्थन वा विरोध गर्दैन। यसले लगानी बढाउन कति भूमिका खेल्छ भनेर हेर्छ,’ उनले भने।

कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि सहभागी थिए।

श्रेष्ठले सरकारले कर घटाएको भने पनि वास्तविक भार कायमै रहेको बताए। ‘करको वास्तविक भार घटेको छैन। नाम फेरेर भार कायम गर्दा अन्ततः व्यवसायी र उपभोक्तालाई नै समस्या पर्छ। करमा अझै अन्तरविरोध छन्। यसको तत्काल सम्बोधन गर्न आवश्यक छ,’ उनले भने।

उनले सरकारलाई उद्योग आफैं चलाउने बाटोमा नलाग्न आग्रह गर्दै सार्वजनिक निजी साझेदारीको मोडलमा अगाडि बढ्न आग्रह गरे। ‘सरकारले उद्योग चलाउने होइन, सहजीकरण गर्ने हो। त्यसैले सार्वजनिक निजी साझेदारीलाई वित्तीय पहुँच विस्तारको माध्यम बनाउन आवश्यक छ,’ उनले भने।

उनले सार्वजनिक निकायमा बसेका व्यवसायीलाई सम्पत्ति विवरण भर्न बाध्य पारेर सरकारले निजी क्षेत्रलाई हतोत्साहित बनाएको आरोप पनि लगाए। ‘सार्वजनिक निकायमा बसेका व्यवसायीलाई सम्पत्ति विवरण भर्न बाध्य पारिएको छ। यसले निजी क्षेत्रलाई हतोत्साही बनाएको छ,’ उनले भने।