काठमाडौं। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा दोस्रो चरणको निर्माण कार्य अघि बढाउन नयाँ बोलपत्र (ग्लोबल टेण्डर)आह्वान गरिएको छ।
पटेल-रमण जेभीसँगको ठेक्का सम्झौता तोडिएको साढे ६ महिनापछि नयाँ बोलपत्र आह्वान गरिएको हो। सम्झौता अवधिको ६१ प्रतिशत समयमा पटेल-रमण जेभीले जम्मा १० प्रतिशत मात्र काम गरेपछि गत मंसिर दोस्रो साता ठेक्का सम्झौता अन्त्य गरिएको थियो।
आयोजनामा पहिलो चरणको ठेक्का अन्तर्गत सुरुङ खन्ने काम यसअघि नै सम्पन्न भइसकेको छ। आयोजनाले पटेल-रमण जेभीको बैंक जमानत समेत जफत गरेर सिभिल हाइड्रोमेकानिकल कम्पोनेन्ट र सोसँग सम्बन्धित मुख्य संरचना (बाँध र विद्युतगृह) निर्माणका लागि नयाँ ठेक्का आह्वान गरेको हो।
ठेक्काका मुख्य सर्त र योग्यता
आयोजनाका अनुसार यो ठेक्का ‘अन्तर्राष्ट्रिय प्रतिष्पर्धात्मक बोलपत्र’ (आइसीबी) तथा ‘सिंगल स्टेज टु एन्भेलप’ प्रणाली अन्तर्गत अघि बढाइएको छ।
बोलपत्रको सूचना अनुसार आवेदनकर्ताको विगत १० वर्षभित्रका सबैभन्दा उत्कृष्ट र ३ वर्षको औसत वार्षिक निर्माण कारोबार न्यूनतम ४२.१८१ मिलियन अमेरिकी डलर हुनुपर्ने छ।
यस्तै बिड सेक्युरिटीबापत ४६ करोड ४० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी पेस गर्नु पर्नेछ। असार २४ गते दिउँसो १:०० बजे आयोजनाको सिन्धुलीस्थित कार्यालयमा टेण्डर खोलिने छ।










