फिलिपिन्सको मिन्डानाओ नजिक शक्तिशाली भूकम्प, सो क्षेत्रका देशहरूमा सुनामीको चेतावनी



बिजमाण्डू
२०८३ जेठ २५ गते ०७:०० | Jun 8, 2026
फिलिपिन्सको मिन्डानाओ नजिक शक्तिशाली भूकम्प, सो क्षेत्रका देशहरूमा सुनामीको चेतावनी
Photo: Philippine Institute of Volcanology and Seismology

फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ७ः३७ बजे गएको भूकम्पपछि फिलिपिन्ससहित सो क्षेत्रका विभिन्न देशमा सुनामीको चेतावनी जारी गरिएको छ।

Tata
GBIME
Nepal Life

भूकम्पको तीव्रता र गहिराइबारे फरक-फरक विवरण सार्वजनिक भएका छन्। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले भूकम्पको तीव्रता ७.० र गहिराइ १० किलोमिटर रहेको जनाएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणले यसको तीव्रता ७.८ र गहिराइ ३५ किलोमिटर रहेको उल्लेख गरेको छ भने जर्मन भूगर्भ अनुसन्धान केन्द्रले ७.८ तीव्रता र ५० किलोमिटर गहिराइ जनाएको छ।

भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओस्थित जनरल सान्तोस सहरको तटीय क्षेत्र नजिक रहेको बताइएको छ। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापानले सुनामीको चेतावनी जारी गरेका छन्।

फिलिपिन्स सरकारले तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिएको छ। केन्द्रबिन्दु नजिकको साराङ्गानी प्रान्तमा विद्युत र सञ्चार सेवा प्रभावित भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

जापानले ओकिनावादेखि टोकियोको उत्तरपूर्वी क्षेत्रमा पर्ने इबाराकी प्रान्तसम्मका प्रशान्त तटीय क्षेत्रमा सुनामी सतर्कता जारी गरेको छ। अमेरिकी अधिकारीहरूले पनि आगामी ३ घण्टाभित्र फिलिपिन्स, इन्डोनेसिया, पलाउ, ताइवान र पपुवा न्यू गिनीसहितका तटीय क्षेत्रमा खतरनाक सुनामी छाल आउन सक्ने चेतावनी दिएका छन्।

प्रशान्त सुनामीको चेतावनी केन्द्रका अनुसार फिलिपिन्सका केही तटीय क्षेत्रमा तीन मिटरसम्म उचाइका छाल आउन सक्ने सम्भावना छ। इन्डोनेसिया र मलेसियाका केही तटमा पनि एक मिटरसम्मका छाल पुग्न सक्ने अनुमान गरिएको छ।

भूकम्पपछि क्षति र मानवीय हताहतीको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन। उद्धार तथा विपद् व्यवस्थापन निकायहरू प्रभावित क्षेत्रमा परिचालन गरिएका छन्।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस नुनियरले भूकम्पपछि तत्काल प्रतिक्रिया जनाउँदै सबै सम्बन्धित सरकारी निकायलाई तुरुन्त काममा जुट्न निर्देशन दिएको बताएका छन्। सरकारले अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।