काठमाडौं। आर्थिक वर्ष २०८३/८४ को बजेटपछिको पहिलो सेयर कारोबारमै घटेको सेयर बजार मंगलबार दोहोरो अंकले बढेको छ।
मंगलबार कारोबार सुरु भएदेखि नेप्से परिसूचकमा उतारचढाव देखिएकामा अन्तिममा २२.२१ अंक बढेर २७७७.५८ विन्दुमा पुगेको छ। कारोबारमा आएका उत्पादन तथा प्रशोधन बाहेकका उपसमूहले बजार बढाएका हुन्। फाइनान्स उपसमूहको सेयर मूल्य सबैभन्दा धेरै ६.३ प्रतिशतले बढेको छ।
बजारमा सेयर मूल्य बढेका १८४ कम्पनीका लगानीकर्ताले कमाएका छन्। कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। सेन्ट्रल फाइनान्स १३.६७ र क्रेस्ट माइक्रोलाइफ १०.५७ प्रतिशतले बढेको छ।
बजारमा ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै ४६ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, नेपाल रिइन्स्योरेन्सको २६ करोड ७८ लाख, रिडी पावर २६ करोड ५ लाख र सेन्ट्रल फाइनान्सको २२ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
बजारमा ७७ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर छ। नबिल डिबेञ्चरको सेयर मूल्य सबैभन्दा धेरै ४.५९ प्रतिशतले घटेको छ।









