(3).jpg)
‘मार्केट डेप्थ’ लाई नेपाली भाषामा सिधा रूपमा भन्नुपर्दा ‘बजारको गहिराई’ भनेर बुझ्न सकिन्छ। यसले बजारमा उपलब्ध कारोबार आदेशहरुले कुनै कम्पनीको मूल्यलाई ठूलो परिमाणमा असर नपारी के कति मात्रामा अवशोषण गर्ने क्षमता बजारसँग छ भन्ने कुराको जानकारी गराउँदछ।
‘मार्केट डेप्थ’ अन्तर्गत खरिद एवं बिक्रीतर्फ के कति संख्यामा के कति कित्ता सेयर खरिद वा बिक्रीका लागि लगानीकर्ताहरु आदेश दिएर बसेका छन् भन्ने तथ्य बताइराखेको हुन्छ। तसर्थ खरिद र बिक्री गर्नु अगाडि लगानीकर्ताहरु ‘मार्केट डेप्थ’ हेर्ने गर्दछन्। ‘मार्केट डेप्थ’ले समग्र तहमा लगानीकर्ताहरुबाट राखिएका खरिद तथा बिक्री आदेशहरुका साथै त्यस्ता आदेश दिने लगानीकर्ताको संख्यालाई व्यक्त गरिरहेको हुन्छ, जसबाट कुनै पनि एक कम्पनीको बजार चौडाइलाई आकलन गर्न मद्दत गरिराखेको हुन्छ।
बजारमा जति धेरै तरलता बढी हुन्छ खरिद तथा बिक्री आदेशको गहिराई त्यति नै धेरै हुने गर्दछ। सामान्यतः धेरै खरिदबिक्री हुने, ठूलो आकारका कम्पनीहरुका साथै माग तथा आपूर्ति अत्यधिक रहने कम्पनीहरुको ‘मार्केट डेप्थ’ गहिरो तथा ‘मार्केट ब्रेड्थ’ अर्थात बजार चौडाइ ठूलो हुने गर्दछ।
यो पनि पढ्नुस्: एओएन विवाद: सेयर बजारमा कसरी हुन्छ चलखेल? कृष्ण गिरीको लेख
‘मार्केट डेप्थ’ले समग्रमा कुनै एक कम्पनीको वर्तमान अवस्थामा खरिद बिक्री भएको अन्तिम कारोबार मूल्यका साथमा खरिद एवं बिक्रीतर्फका आदेश संख्या, कित्ता संख्या र मूल्यको सूचना प्रवाह गरिरहेको हुन्छ। यस्तो अवस्थालाई समग्रमा बजारको तस्वीरको रूपमा हामीले लिने गर्दछौं। तल एक कम्पनीको ‘मार्केट डेप्थ’ सहितको तस्वीरलाई प्रस्तुत गरिएको छ।
‘मार्केट डेप्थ’ अन्तर्गत खरिदतर्फको सबैभन्दा उच्च मूल्य र बिक्रीतर्फको सबैभन्दा न्यून मूल्यबीचको फरकलाई ‘स्प्रेड’ वा अन्तर भनिन्छ। यस्तो ‘स्प्रेड’ले म्याचिङ हुने क्रममा उपलब्ध सबैभन्दा नजिकको दुई मूल्य बीचको फरकलाई जनाउँदछ।
तसर्थ माथिको तस्वीरमा खरिदतर्फको अधिकतम मूल्य ५०० र बिक्रीतर्फको न्यूनतम मूल्य ५०५ रहेको हुँदा यी दुई बीचको फरक रु. ५ यो कम्पनीको स्प्रेड हो। यस्तो स्प्रेड कम्पनीको माग र आपूर्तिअनुरुप बारम्बार परिवर्तन भइराख्ने हुन्छ।
‘मार्केट डेप्थ’ नेपालमा कहिलेबाट?
सुरुवाती दिनमा नेपालको पुँजीबजार सेमी अटोमेसन अर्थात् धितोपत्र दलालले आफ्नो कार्यालय तथा शाखाहरुबाट कारोबार सञ्चालन गर्ने गर्थे। धितोपत्र दलालहरुले मात्रै यस्तो ‘मार्केट डेप्थ’ हेर्न पाउने सुविधा थियो। तर २०७२ पुस १२ देखि नेपाल स्टक एक्सचेन्ज अन्तर्गतको वेबसाइटबाट समेत ‘मार्केट डेप्थ’ हेर्न पाउने व्यवस्थाको शुरुवात भयो। खासगरी सबै किसिमका लगानीकर्ताहरुले आफैंले ‘मार्केट डेप्थ’ हेरेर धितोपत्र दलालहरुलाई खरिदबिक्रीको आदेश दिन सजिलो होस् र कारोबार पारदर्शी बनाउन सकियोस् भन्ने अभिप्रायले यसको शुरुवात भएको थियो।
तथापि शुरुवात भएको केही समयदेखि नै बजारमा पकड बनाउन सफल ठूला कारोबार गर्न सक्ने लगानीकर्ताहरुले कारोबार गर्ने क्रममा ‘मार्केट डेप्थ’लाई हतियार बनाई वास्तविक तथा कारोबार गर्न मिल्ने किसिमले भन्दा पनि बजारलाई अस्थिर तथा आफ्नो हिसाबले चाहेको दिशामा लैजाने किसिमले दुरुपयोग गर्ने गरेको पाइन्छ।
कसरी हुन्छ ‘मार्केट डेप्थ’ को दुरुपयोग ?
एक अर्ब ३८ करोड ५१ लाख ८६ हजार २ सय चुक्ता पुँजी रहेको नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सूचीकृत सेयर संख्या १ करोड ३८ लाख ५१ हजार ८ सय ६२ कित्ता छ।
यस्तोमा सबै कित्ता खरिद गर्न चाहेमा पनि अधिकतम सूचीकृत भएबराबरको सेयर मात्रै खरिद गर्न सकिन्छ।
तर, गत जेठ ३० गतेको ‘मार्केट डेप्थ’ हेर्ने हो भने ४ अर्ब २९ करोड ४९ लाख ५९ हजार ७ सय ११ कित्ताको लागि खरिद आदेश नेप्सेको अर्डर बुकमा दाखिल भएको देखिन्छ।
यो भनेको सूचीकृत सेयरको संख्याभन्दा करिब ३ सय १० गुणाले बढी हो।
सामान्यतः ‘मार्केट डेप्थ’मा उत्कृष्ट पाँचवटा खरिद आदेश तथा बिक्री आदेश देखाइने गरिन्छ र त्यसभन्दा बाहेकका सबै आदेशलाई मिलाएर जोडफलका रूपमा कूल आदेश भनेर देखाइने गरिन्छ। तर टीएमएसमा विभिन्न कम्पनीहरुको ‘मार्केट डेप्थ’मा कूल आदेशमा जम्माको रूपमा देखिने गरी त कहिलेकाहीँ टप पाँच भित्रै पर्नेगरी ठूलो संख्यामा खरिद गर्न बसेको वा बिक्री गर्न बसेको देखाउने अभिप्रायका साथ लगानीकर्ताहरु यसरी अवास्तविक ओदशहरु ‘मार्केट डेप्थ’ राखी अन्य लगानीकर्ताहरुको लगानी निर्णयलाई प्रभावित तुल्याउने कोसिस गरिरहेका हुन्छन्।
‘मार्केट डेप्थ’बाट लगानीकर्ताहरुको लगानी निर्णयलाई प्रभावित तुल्याउन गएको मे ५ तारिखको कारोबारमा मेरो माइक्रो फाइनान्स कम्पनीको मार्केट डेप्थमा समेत कुल आदेश संख्यामा ठूलो मात्रामा आदेश देखिएको थियो।
बिक्री गर्न चाहनेको सेयर डिम्याट खातामा हुनैपर्छ। बेच्न चाहने बढेर चाहन्छ र उसँग कति संख्यामा सेयर छ भन्ने प्रष्टै हुन्छ। यसले बिक्रीतर्फको आदेश धितोपत्र बजारमा नियन्त्रणमा रहेको देखिन्छ। तर खरिद गर्न चाहने घटेको मूल्य चाहन्छ र बिक्रीका लागि उपलब्ध संख्याभन्दा निकै अस्वभाविक संख्यामा अर्डर दाखिल गरेको हुन सक्छ।
प्रचलित दरमा न्यूनतम कति घटेर वा बढाएर कारोबार गर्न पाइन्छ भन्ने मापदण्ड छ। तर खरिद आदेशकर्ताले एउटा रेट तोकेर दाखिल गरेका सबै अर्डरमा कारोबार हुने ग्यारेन्टी रहन्न।
खरिद अर्डर दाखिलाको प्रवृत्तिमा धेरै उतारचढाव छ। खरिद अर्डरले कम्पनीका सेयर मूल्य प्रभावित पारिरहेको हुन्छ। यसमा जटिलता पनि छन्, जहाँबाट बजारमूल्य माथि चलखेल हुन्छ। खरिदतर्फ बारम्बार विभिन्न कम्पनीहरुमा ‘मार्केट डेप्थ’को दुरुपयोग भइराखेको देख्न गाह्रो छैन।
खरिद आदेशहरु सबै वास्तविक कारोबारकै लागि हुन्छन् भन्ने ग्यारेन्टी नहुनु यसको मुख्य जटिलता हो। खरिद आदेश दाखिला गरेर बजारमा उक्त मूल्य आइपुगेन भने कारोबार हुँदैन। यसले गर्दा नियामक निकाय ‘मार्केट डेप्थ’को दुरुपयोग नियन्त्रण गर्न सकिरहेको छैन वा गर्न नचाहेको हो भन्ने प्रश्न उठाएको
यसरी ‘मार्केट डेप्थ’को माध्यमबाट मूल्य र बजारको दिशालाई प्रभावित बनाउने प्रयत्न बारम्बार भइराखेको देख्न सकिन्छ। कुनै पनि कम्पनीको बजार मूल्य बढाउन खोजिएको हो भने खरिदतर्फ धेरै आदेश देखाएर माग धेरै रहेको देखाउने गरिन्छ। त्यसैगरी मूल्य घटाउन खोजिएको छ भने बिक्रीतर्फ ठूलो संख्यामा आदेश देखाउने गरिन्छ। हिजोआज बिक्री गर्न डिम्याट खातामा सेयर हुनैपर्ने भएकाले बिक्रीतर्फको आदेशमा भने नियन्त्रणमा रहेको देखिन्छ तर खरिदतर्फ भने बारम्बार विभिन्न कम्पनीहरुमा ‘मार्केट डेप्थ’को दुरुपयोग भइराखेको देख्न सकिन्छ।
नियन्त्रण कसरी गर्न सकिन्छ?
‘मार्केट डेप्थ’को प्रयोग सहि ढंगमा भएको छ वा छैन भन्ने कुराको जानकारी पक्कै पनि बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज र नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डलाई हुनुपर्छ। यसका साथै कारोबार सदस्यका रूपमा बजारमा प्रत्यक्ष हात रहने सम्बन्धित धितोपत्र दलाल व्यवसायीहरुलाई पनि यसबारेमा जानकारी रहेको हुनुपर्छ।
कतिपय लगानीकर्ताहरुको भनाई आफूसँग रहेको लिमिटअनुसार आदेश दिन पाउने कि नपाउने भन्ने पनि हुन सक्छ। वास्तवमा साँचो आदेश र कारोबार गराउने अभिप्रायले राखिने आदेशले ‘मार्केट डेप्थ’मा पक्का पनि स्थान पाउनुपर्छ। त्यसो हो भने साँचो आदेश कस्तोलाई मान्ने र झुटो आदेश कस्तोलाई मान्ने भन्ने पनि कुराहरु आउन सक्छ। कतिपय अवस्थामा हालिएका आदेशहरु साँचो र खरिद गर्ने अभिप्रायले राखिएता पनि कतिपय अवस्थामा बजारमा त्यो मूल्यसम्म नआइपुगेका कारणले कारोबारमा आउँदैनन्।
त्यसैकारण धितोपत्र दलाल सदस्यका साथै नेपाल स्टक एक्सचेन्ज र नियामक निकायले समेत यसलाई सहि अर्थमा ‘मार्केट डेप्थ’को दुरुपयोग भए पनि नियन्त्रण गर्न नसकेका हुन् कि? तर त्यसो भन्दैमा ‘मार्केट डेप्थ’को दुरुपयोगलाई नजरअन्दाज गर्दै बस्न पनि सकिँदैन। बरु यसको नियन्त्रणका लागि तीनै पक्षले आफ्नो ठाउँबाट आवश्यक कदमहरु चाल्नुपर्ने हुन्छ।
- कुन लगानीकर्ता कस्तो किसिमको हो? त्यो लगानीकर्ता कारोबारी हो कि दीर्घकालीन लगानीकर्ता हो? उसको कारोबार क्षमता के कति छ? उसलाई लिमिट दिँदै गर्दा ग्राहकबाट लिमिटको प्रयोग कसरी भइराखेको हुन्छ? लिमिटका लागि राख्नुपर्ने २५ प्रतिशत रकम जम्मा गरेको हो वा होइन? अथवा त्यस्ता कारोबारीलाई अलि निरुत्साहित गर्नका लागि ४ गुणासम्म लिमिटको ठाउँमा २ गुणा मात्रै वा जम्मा गरेको रकम बराबरमात्रै लिमिट दिनुपर्ने हो कि लगायत आफ्ना ग्राहक लगानीकर्ताहरुको बारेमा सुक्ष्म जानकारी धितोपत्र दलालहरुसँग हुने गर्दछ।
- यसक्रममा ठूलो संख्यामा मिलान नहुने गरी आदेश राख्ने लगानीकर्ताहरुलाई बारम्बार त्यस्तो गरेको पाइएको सचेत गराउने, त्यस्तो नगर्न हिदायत दिने वा पटक पटक जानकारी गराउँदा पनि अटेर गरेको पाइएमा लिमिट कम गरिदिने वा नेपाल स्टक एक्सचेन्ज वा नेपाल धितोपत्र बोर्डलाई रिपोर्टिङ गरिदिने कार्य गरेको खण्डमा धेरैहदसम्म यस्तो कार्यको रोकथाम हुन सक्छ।
- यसैगरी नेपाल स्टक एक्सचेन्जले पनि आफ्नो सर्भेलिएन्सको पार्टलाई सबल बनाउँदै ठूलो संख्यामा आदेश राखेर त्यस्ता आदेशलाई क्यान्सिल गर्ने वा म्याचिङ हुन नदिइने हिसाबले मूल्य नियन्त्रण गर्ने कार्य गरिरहेका टीएमएस युजरहरुलाई ट्रयाक गर्न सक्दछ। यसरी गरिएको ट्रयाकबाट निरन्तर अवास्तविक लाग्ने आदेश दिने लगानीकर्तालाई स्पष्टीकरण सोध्ने वा कारोबार रोक्ने कार्यका लागि आवश्यक प्रक्रिया अपनाउने तथा त्यस्ता लगानीकर्ताहरुको विवरण वेबसाइटमा प्रकाशित गर्ने कार्य गरेको खण्डमा यसले पनि नियन्त्रण गर्न सहयोग पुर्याउँदछ। यसका साथै नेप्सले आफ्नो कारोबार प्रणालीमा सुधार गर्दै बल्क कारोबार वा ब्लक कारोबार गर्न चाहने लगानीकर्ताहरुको लागि निश्चित आकारभन्दा ठूलो कारोबार गर्नुपर्ने देखिएमा अड लटको जस्तै अलग्गै विण्डो प्रदान गर्ने व्यवस्था गर्न सक्दछ। यसरी एउटा थ्रेसहोल्डभन्दा माथिको कारोबारका लागि वा म्याचिङ कारोबारका लागि अलग्गै विण्डो भएको खण्डमा यसरी ठूलो कित्ता आदेश राखी ‘मार्केट डेप्थ’को दुरुपयोग हुने प्रवृत्ति कम हुन सक्छ।
- नेपाल धितोपत्र बोर्डले पनि ‘मार्केट डेप्थ’को दुरुपयोगलाई न्यूनीकरण गर्नको लागि विभिन्न नीतिगत दण्डसजाय लगायतका व्यवस्थाहरु गरेर दुरुपयोग गर्ने लगानीकर्ताहरुलाई निरुत्साहित गर्नुपर्दछ। यसका लागि सबैभन्दा पहिले नेप्सेलाई आफ्नो कारोबार प्रणालीमा एउटा थ्रेसहोल्ड भन्दा माथिको कारोबार वा म्याचिङको लागि अलग्गै विण्डो बनाई सञ्चालनमा ल्याउने निर्देशन दिनु पर्छ। साथै निश्चित संख्याभन्दा माथि बारम्बार आदेश मिलान नहुने अर्डर राख्ने लगानीकर्ताहरुको पहिचान गरी तिनीहरुको कारोबारको छानबिन गर्नुका साथै त्यस्तो कारोबार गर्न अनुमति दिने धितोपत्र दलालहरुलाई समेत स्पष्टीकरण सोध्नुका साथै बारम्बार त्यस्ता कार्य गर्ने लगानीकर्ताहरु तथा तिनीहरुका धितोपत्र दलालहरुलाई वित्तिय जरिवाना लगाउने वा ग्राहकहरुको कारोबार खाता रोक्का गर्नेलगायतका कार्यहरु गर्नका लागि आवश्यक नीतिगत व्यवस्थाहरुको विकास गर्न सक्दछ।
तसर्थ, पुँजीबजारको नियामक, बजार सञ्चालक तथा कारोबार सदस्यहरु सबैले आफ्नो पक्षबाट आवश्यक कार्यहरु गरिदिएको खण्डमा बजारमा कारोबार गर्न सजिलोका लागि दिइएका सुविधाहरुको दुरुपयोग हुने प्रवृत्तिमा न्यूनीकरण हुन सक्दछ।
अन्त्यमा,
कारोबार गर्ने क्रममा लगानीकर्ताले किनबेच गर्नुअघि सबैले ‘मार्केट डेप्थ’ हेर्ने गर्दछन्। ‘मार्केट डेप्थ’ जति गहिरो र सघन हुन्छ कारोबार पनि त्यति नै विस्तारित र सुरक्षित हुन्छ। थोरै संख्यामा सेयर भएका कम्पनीका सेयरहरुमा विशेषगरी हामीले यस्तो गतिविधिहरु भइराखेको देख्छौं। तसर्थ सबै लगानीकर्ताहरुले आफ्नो कारोबारलाई सुरक्षित बनाउने तथा आफ्नो कारोबारबाट बजारको गतिलाई समेत सबल बनाएर जाने ढंगबाट कारोबार गरिनुपर्दछ।
आफू एक्लै वा समूहको विकास गरेर अप्राकृतिक रुपमा आदेशहरु देखाएर खरिदबिक्री गर्दा केही दिन नाफा भएतापनि यसको ठूलो असर त्यस्ता कम्पनीका सेयरहरु खरिद गर्ने अन्यमा पर्न सक्दछ।
यस्तो गतिविधिबाट बजारमा कुनै ठूलो दुर्घटना परेको खण्डमा यसले भर्खर विकास हुँदै गएको नेपाली पुँजीबजार प्रति ठूलो संख्यामा रहेका लगानीकर्ताहरुमा निराशा तथा अविश्वास सिर्जना गराउन सक्दछ। जसको असर अन्तिममा यो बजारमा संलग्न सबैलाई पर्नेछ। तसर्थ सबै पक्षबाट पुँजीबजारमा हुने गलत क्रियाकलापहरुप्रति खबरदारी गर्दै अगाडि बढ्नु बजारको अहिलेको आवश्यकता हो।











