एओएन विवाद: सेयर बजारमा कसरी हुन्छ चलखेल? कृष्ण गिरीको लेख

बिजमाण्डू
२०७८ जेठ ३१ गते ०९:०० | Jun 14, 2021
एओएन विवाद: सेयर बजारमा कसरी हुन्छ चलखेल? कृष्ण गिरीको लेख

Tata
GBIME
Nepal Life

नेपालको पुँजी बजारको परिसूचक नेप्से अहिले सर्वाधिक उचाइको तहमा रहँदै गर्दा कारोबार रकम तथा कारोबारको आकारमा समेत ठूलो वृद्धि भएको छ। यसरी वृद्धि हुँदै गर्दा बजारको विकास तथा विस्तारका लागि उपलब्ध विभिन्न सुविधाहरुको दुरुपयोग हुँदै आएको चर्चा अहिले सर्वत्र सुन्न सकिन्छ। 

यसरी दुरुपयोग भएकोमध्ये एओएन समेत रहेको भनेर सर्वसाधारण लगानीकर्ताहरुले विभिन्न सामाजिक सञ्जालमा यसको सुधारका लागि आवाजहरु उठाउँदै आएका छन्। 

लगानीकर्ता वा धितोपत्र दलालले टिएमएसमार्फत कारोबार गर्ने क्रममा दुई प्रकारले अर्डर राख्न सक्दछन्। पहिलो- मार्केट अर्डर र दोश्रो- लिमिट अर्डर। 

मार्केट अर्डर अन्तर्गत बिक्री गर्न बसेका बिक्रेताले खरिदकर्ताले खरिद गर्न चाहेको मुल्यमै बिक्री गर्दछन् र खरिद गर्न खोजेका खरिदकर्ताले बिक्रेताले बिक्री गर्न चाहेकै मुल्यमा खरिद गर्दछन। टिएमएसमा मार्केट अर्डर छनौट गरेपछि खरिद वा बिक्री गर्न खोजेको कम्पनीको कति कित्ता बिक्री गर्न खोजेको हो त्यो संख्या मात्रै हाल्न सकिन्छ। मूल्य हाल्न सकिन्न। किनकी यसमा खरिद वा बिक्रीका लागि उपलब्ध रहेको मूल्यमै आफूले खरिद वा बिक्री गर्नुपर्ने हुन्छ। 

मार्केट अर्डरमा थप अन्य कुनै पनि कन्डिसन हेरिँदैन। बिक्री गर्न मन लागेमा मार्केट डेप्थमा खरिदकर्ता कति मूल्यमा कति संख्यामा खरिद गर्न बसेका छन् भनेर हेरिन्छ र खरिद गर्न बसेको मूल्यमै बिक्री गरिन्छ। त्यस्तै खरिदकर्तालाई खरिद गर्न मनलागेमा मार्केट डेप्थमा बिक्रेता कति मूल्यमा बिक्री गर्न बसेकाछन् हेरिन्छ र बिक्रेताले बिक्री गर्न चाहेकै मूल्यमा खरिद गरिन्छ। 

त्यस्तै लिमिट अर्डर अन्तर्गत खरिदकर्ता वा बिक्रीकर्ताले निरन्तर बजार मूल्यमा बार्गेनिङ गर्ने कार्य गर्दछन् र आफूले खरिद वा बिक्री गर्ने क्रममा हाल कारोबार भइरहेको मूल्यभन्दा केही तल वा माथिको मूल्यमा खरिद वा बिक्री गर्न अर्डर दिन्छन्। 

यस्तो अर्डर हालेपछि खरिदकर्ता वा बिक्रेताले हालेको मूल्यमा अर्कोतर्फबाट कसैले बिक्री गर्न वा खरिद गर्न चाहेमा मात्र कारोबार सम्पन्न हुन्छ। यदि लिमिट अर्डर अन्तर्गत हालिएको मूल्यमा खरिदकर्ता वा बिक्रेताले बिक्री गर्न चाहेन भने त्यस्तो अर्डर सम्पन्न हुन सक्दैन। 

हाम्रो टिएमएसमा दैनिक कारोबार समयको भ्यालिडिटीसहितको लिमिट अर्डर हाल्न पाउने डिफल्ट व्यवस्था रहेको छ। टिएमएसमा अर्डर टाइपमा लिमिट छनोट गरेपछि डिफल्टमा अर्डर भ्यालिडिटि डे भनेर आउँछ जसको अर्थ हो अर्डर हालेको दिनको कारोबार समयसम्मको भ्यालिडिटी। 

यस अन्तर्गत हालेको अर्डर कारोबार समयभित्र म्याचिङ भयो भने कारोबार सम्पन्न हुन्छ अन्यथा हालेको अर्डर कारोबार समय पश्चात रद्द हुन्छ। लिमिट अर्डर अन्तर्गत डे तथा अन्य केही भ्यालिडिटिका सर्तहरुसहित अर्डर राख्ने व्यवस्थाहरु टिएमएसमा गरिएको छ। त्यसमध्ये हाल सबैभन्दा बढी विवादित बनेको एओएन अर्थात 'अल अर नन'को बारेमा आज हामी चर्चा गर्दैछौं। त्यसबाहेक पनि फिल अर किल, इम्मिडिएट अर क्यान्सिल, जिटिसी र जिटिडी लगायतका भ्यालिडिटीहरुको व्यवस्था लिमिट अर्डरमा रहेको छ। 

अल अर नन (एओएन) के हो?
कारोबार गर्ने क्रममा आफूसँग रहेको कुनै एक सेयरको सबै कित्ता एकै पटक एकै कारोबारमा खरिद वा बिक्री सम्पन्न होस अन्यथा कारोबार सम्पन्न हुँदै नहोस् भनेर लिमिट अर्डर अन्तर्गतको अर्डर भ्यालिडिटीलाई अल अर नन् अर्थात संक्षेपमा एओएन भनिन्छ। 

सामान्यतः अल अर ननको व्यवस्था कारोबार टुक्राएर गर्नु नपरोस भनेर प्रयोग गर्ने गरिन्छ। हाम्रो सेयर बजारमा जति सानो रकमको कारोबार भयो कमिसन दर त्यति नै बढ्दै जानुका साथै कहिलकाही आफूसँग १० कित्ताभन्दा तलको संख्यामा सेयर कित्ता बाँकी रहेमा त्यस्तो बाँकी रहेको सेयरलाई फेरि कारोबार गर्नुपरेमा अडलट अन्तर्गत पुनः अर्डर हाल्नुपर्ने हुन्छ। 

यसरी राखिएको अडलटको आदेशलाई अर्कोतर्फबाट खरिद वा बिक्री गर्ने अर्डर आएको खण्डमा मात्रै अडलटमा कारोबार हुन्छ अन्यथा यस्तो सेयर कित्ता टुक्राको रूपमा बसिरहने हुन्छ। त्यसैले पनि सयको राउण्ड फिगर भन्दा कम कित्ता भएको खण्डमा सर्वसाधारण लगानीकर्ताले खरिद वा बिक्री गर्दा अल अर नन भ्यालिडिटिको प्रयोग गर्ने गरेको पाइन्छ। 

अल अर ननको व्यवस्था हाम्रो पुँजी बजारमा मात्रै रहेको कुनै अनौठो व्यवस्था भने होइन। विश्वव्यापी मान्यता अनुसार नै लिमिट अर्डर अन्तर्गत भ्यालिडिटीमा उपलब्ध हुने विभिन्न सुविधामध्ये यो एक सुविधा हो। यसलाई माथि भनिएको अनुसार प्रयोग गर्न सकेमा यसले खरिद वा बिक्री गर्ने क्रममा कारोबारलाई सहज तरिकाबाट सम्पन्न गराउन तथा लागत कम गराउनलाई भूमिका खेलिरहेको हुन्छ। 

तर हाम्रो पुँजी बजारको उचाइ बढ्दै जाँदा यसलाई खरिदकर्ता तथा बिक्रीकर्ताले माग तथा आपूर्ति अत्यधिक रहेको देखाई बजारलाई अस्वाभाविक रूपमा घटाउन वा बढाउनका लागि यसको प्रयोग भएको आरोपहरु बढिरहेकाले कतै यो अनावश्यक सुविधा त होइन भन्ने प्रश्न सर्वसाधारण लगानीकर्ताहरुमा रहेको पाइन्छ। 

कसरी दुरुपयोग हुन्छ एओएन को?


ब्रोकर टर्मिनल तथा लगानीकर्ताको टिएमएसबाट माथि दिइएको जस्तै गरी मार्केट डेप्थ हेर्न सकिने व्यवस्था रहेको छ। यस्तोमा यदि कुनै एक कम्पनीको सेयर मूल्यलाई बढाउनु छ भने खरिदकर्तामध्ये कसैले पनि सो कम्पनीको मार्केट डेप्थमा एओएन गरेर यस्तै गरी ठूलो कित्ता खरिद आदेश देखाउन सक्दछन। 

सामान्यतः यस्ता खरिद आदेश दिनेहरुको उद्देश्य वास्तविकतामा भने खरिद गर्ने रहेको हुँदैन। केवल  माथिको टेबलमा जस्तै गरी सबैभन्दा माथिल्लो वा कुनै पनि तहमा खरिदकर्ताले खरिद आदेश देखाउनका लागि राखिदिने गर्दछन्। यस्तो किसिमको आदेशको प्रयोजन भनेको समग्रमा ठूलो माग देखाउनु र लगानीकर्ताको निर्णयमा प्रभाव पार्नु नै हो। 

यसैगरी बजारलाई घटाउनु छ वा मूल्य कम गराउनु छ भने बिक्रेताले यस्तै गरी सबैभन्दा कम मूल्य राखी एओएनमा ठूलो कित्ताको अर्डर राख्न सक्दछन्। जसले गर्दा आपूर्ति धेरै देखिन गई मूल्य तल आउने सम्भावना रहन्छ। 

कसरी रोकथाम गर्न सकिन्छ?
नेपाल धितोपत्र बोर्डले हालै एओएनबाट बजारमा चलखेल हुने गरेको भन्दै कारोबार प्रणालीमा अर्को निर्देशन नहुन्जेलसम्मका लागि एओएनलाई हटाउन बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ। नेप्सेले पनि यो आइतबारबाटै लागू गरिसकेको जनाएको छ। 

के नेपाल धितोपत्र बोर्डले एओएन हटाउनु नै सही समाधान हो त? एओएन विकसित तथा विकासोन्मुख देशका पुँजीबजारमा धेरै पहिलेदेखि कारोबार गर्ने क्रममा तिनका अनलाइन कारोबार प्रणालीमा उपलब्ध हुँदै आएको सुविधा हो। 

तसर्थ हाम्रो बजारलाई अन्य विकसित देशका पुँजीबजारको स्तरमा अगाडि बढाउँदै गर्दा त्यस्ता देशमा प्रयोगमा आइराखेका सुविधाहरुलाई हटाउँदै जाँदा पक्कै पनि हामीले हाम्रो बजारलाई अन्तर्राष्ट्रिय स्तरको बजारमा रुपमा रुपान्तरण गर्न सक्दैनौं। तसर्थ हटाउनु नै समाधान नभई रोकथामका विभिन्न उपायहरु अपनाउन सकिन्छ। 

१. थ्रेसहोल्ड तोकेर न्यूनतम ५०० वा १००० कित्ताभन्दा तलको कारोबारमा मात्रै एओएन दिने व्यवस्था गर्न सकिन्छ। यसले ठूलो कित्ता एओएनमा राखी चलखेल गर्न खोज्नेहरुलाई निरुत्साहित गर्दछ। 

२. अडलटमा अर्डर राख्दाखेरी ब्रोकरसँग कारोबार रकमको लिमिट लिएको हुनुपर्दछ। यसरी अडलटमा अर्डर राख्ने लगानीकर्ताहरुले ब्रोकरसँग मिलोमतोमा लिमिट लिई अर्डर राखेको हो वा साँच्चै उसले लिमिट हाल्न मिल्ने बराबरको रकम ब्रोकरमा जम्मा गरी कारोबार लिमिट लिएर अर्डर राखेको हो? त्यस्ता लगानीकर्ताहरुको ब्रोकरसँगको वित्तीय कारोबार छानबिन गर्नासाथ पत्ता लगाउन सकिन्छ। त्यस्तोमा मिलेमतोमा गरिएको रहेछ भने सम्बन्धित ब्रोकरसहित लगानीकर्तालाई समेत कारबाहीको दायरामा ल्याउन सकिन्छ। 

३. यसरी आदेश राख्ने लगानीकर्ताको विवरण लिई ती लगानीकर्ताले हालेका त्यस्तो अर्डर मध्ये कति प्रतिशत अर्डरको कारोबार भएको छ? यसको छानबिन गरी बजार मूल्य घटाउन वा बढाउनका लागि मात्रै अर्डर राख्दै आएको पाइएमा त्यस्ता लगानीकर्तालाई दण्ड सजाय दिई कारबाही गर्नुका साथै कारोबारमा प्रतिबन्ध समेत लगाउने अधिकार नियामक निकायसँग रहन्छ। 

अन्त्यमा, 
नङ बढ्यो भनेर नङ काट्नुको सट्टा औंला नै काट्नु समाधान पक्कै पनि होइन। तसर्थ एओएन हटाउनु नै सर्वोत्तम उपाय हैन। यसका केही फाइदाहरु पनि छन्। तसर्थ यसलाई हटाउनुका सट्टा रोकथामका उपायहरु छन्- ती उपायहरुको अवलम्बन गरी बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज तथा पुँजी बजारको सर्वोच्च नियामक नेपाल धितोपत्र बोर्डले वास्तविक समयमा एओएनलाई दुरुपयोग गर्न खोज्ने लगानीकर्ताहरुलाई पहिचान गरी तिनीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ। 

त्यसो हुन सकेमा यसरी दुरुपयोग गरी चलखेल गर्न खोज्नेहरुलाई निरुत्साहित हुनुका साथै बजार एवं नियामक प्रति सर्वसाधारण लगानीकर्ताको विश्वास अझै अभिवृद्धि भएर जानेछ।