सार्वजनिक सवारीको दर्ता रोक्काले व्यवसायी मारमा, भन्सार पास भएका गाडी बिक्री गर्न पाएनन्

बिजमाण्डू
२०८३ जेठ १२ गते १६:३४ | May 26, 2026
सार्वजनिक सवारीको दर्ता रोक्काले व्यवसायी मारमा, भन्सार पास भएका गाडी बिक्री गर्न पाएनन्
फाइल तस्वीर


काठमाडौं। सरकारले आकास्मिकरुपमा नयाँ सार्वजनिक सवारीसाधनको दर्ता रोक्का गरेपछि अटो व्यवसायी मारमा परेका छन्। 

Vigo
GBIME
Tata

सरकारले केही दिन अगाडि सार्वजनिक सवारीसाधनको दर्तामा रोक लगाएपछि अटो व्यवसायी भन्सार पास भएकै गाडी बेच्न नसकेर मारमा परेका हुन्।

भन्सार पास गरेको १५ दिनभित्र दर्ता गर्नुपर्ने व्यवस्था छ। त्यसपछि दर्ता गर्दा जरिबाना लाग्छ। सरकारले नयाँ व्यवस्था ल्याएर स्टकमा रहेका गाडी बिक्री गर्न समस्या पार्ने हो कि भन्ने भय पनि व्यवसायीहरुमा छ।

एक अटो व्यवसायीका अनुसार सार्वजनिक सवारीसाधनको दर्ता रोकिएपछि नयाँ गाडीको बुकिङ र डेलिभरीको साइकल नै रोकिएको छ। भन्सार छुटाएर राखिएका गाडी आफूहरुसँग धेरै रहेको ती व्यवसायीले बताए।

‘गाडी दर्ता रोकिएर स्टकमा हुँदा फण्डको साइकल नै रोकियो। स्टकमा भएका गाडी बिक्री गर्न नमिल्ने भएमा थप समस्या हुन्छ,’ उनले भने।

कतिपय सवारीसाधन आयातको क्रममा बाटोमा छन्।

केही व्यवसायीले भने विशेषगरी ट्याक्सीको नम्बर प्लेटमा सिन्डिकेट तोड्न दर्ता रोकेको अनुमान गरेका छन्। कमर्सियल इभी बिक्री गर्दै आएको पूजा इण्टरनेसनल नेपालका महाप्रबन्धक विवेक बिजुक्छेले दर्ता लामो समय रोकिए मात्र असर गर्ने बताए। 

‘पहिला छुटाएका गाडीको हकमा केही समस्या भएको छ,’ उनले भने, ‘तर केही दिनमा नै खुलाउने कुरा सुनिएको छ।’

बागमतीमा इभी मात्रै दर्ता हुने भएकाले ५०० युनिटभन्दा धेरै इन्धन ट्याक्सी पुरानै नम्बर प्लेटका लागि राखिएका छन्। केही व्यवसायीले बागमतीमा नयाँ मापदण्ड बनाएर समान रुपमा पेट्रोल ट्याक्सी पनि ल्याउन चाहेका छन्।

यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलका अनुसार अहिले समिति बनाएर यस विषयमा अध्ययन भइरहेको छ। ‘हामीले अहिले आन्तरिक रुपमा अध्ययन गरिरहेका छौं। दर्ता रोक्ने निर्णयले देखिएका समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उपायबारे हामी छलफलमा छौं,’ उनले भने।

उनका अनुसार समितिले कुन स्थानमा कति सवारीसाधन आवश्यक छन् भन्ने पनि अध्ययन गरिरहेको छ। पोखरेलले सार्वजनिक सवारीसाधनको दर्ता एक महिनाभन्दा बढी नरोकिने बताए।