लखनउलाई हराउँदै पञ्जावको प्लेअफको सम्भावना कायम, आजै टुंगिन सक्छ समीकरण!



बिजमाण्डू
२०८३ जेठ १० गते ०५:३८ | May 24, 2026
लखनउलाई हराउँदै पञ्जावको प्लेअफको सम्भावना कायम, आजै टुंगिन सक्छ समीकरण!
पञ्जावको ब्याटिङ। तस्बिर: आईपीएल


पञ्जाव किंग्सले लखनउ सुपर जायन्टलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जावले लखनउमाथि ७ विकेटको जित निकाल्दै ६ खेलको हारको शृङखला तोडेको हो।

Tata
GBIME

लखनउस्थित अटल बिहारी बाजपेयी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। उसका लागि जोस इनग्लिसले सर्वाधिक ७२ रन बनाउँदा आयुष बडोनीले ४३ तथा अब्दुल समदले अविजित ३७ रनको महत्वपूर्ण योगदान दिए। बलिङमा युजवेन्द्र चहल र मार्को जेनसनले समान २ विकेट लिँदा अजमतुल्ला ओमरजाइ र शशांक सिंहले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पञ्जावले २ ओभर बाँकी छँदै ३ विकेट गुमाएर लक्ष्य भेट्टायो। पहिलो बलमै विकेट गुमाएको पञ्जावका लागि कप्तान श्रेयस ऐय्यरले सर्वाधिक अविजित १०१ रन बनाउँदा प्रभशिमरन सिंहले ६९ रन बनाए। बलिङमा लखनउका मोहम्मद समीले २ तथा अर्जुन तेन्दुल्करले १ विकेट लिए।

योसँगै पञ्जावले लगातार ६ खेलको हारको शृङखला तोड्दै प्लेअफको सम्भावनालाई कायम राखेको छ। अब, पञ्जावलाई प्लेअफ पुग्न राजस्थानको आजको खेलमा हार र भोली दिल्लीको हार आवश्यक पर्नेछ। राजस्थानको १४ अंक छ भने सबै खेल खेलिसकेको पञ्जावको १५ अंक छ। कोलकाताको १३ अंक छ।  आज राजस्थानले जित निकाल्न सके प्लेअफका सबै समीकरण टुंगाउदै इलिमिनेटरमा पुग्नेछ।

आज मुम्बई इण्डियन्स र राजस्थान रोयल्स भिड्दैछन्।