कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बईमाथि ४ विकेटको जित निकाल्दै कोलकाताले प्लेअफको सम्भावनलाई जीवित राखेको हो।
कोलकातास्थित इडन गार्डन स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। यसक्रममा कोरबिन बोसले सर्वाधिक अविजित ३२ रन बनाउँदा हार्दिक पाण्ड्याले २६ तथा तिलक वर्माले २० रन बनाए। बलिङमा कोलकाताका सौरभ दुबे, क्यामरन ग्रीन र कार्तिक त्यागीले समान २ विकेट लिँदा सुनिल नारायणले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले १८.५ ओभरमा ६विकेट गुमाएर लक्ष्य भेट्टायो। यसक्रममा मनिष पाण्डेले सर्वाधिक ४५ रन बनाउँदा रोभमन पावेलले ४० तथा अजिंक्य रहाणेले २० रन बनाए। बलिङमा मुम्बईका कोर्बिन बोसले सर्वाधिक ३ विकेट लिँदा दीपक चहर, जसप्रीत बुमराह र एएम गजान्फरले समान १ विकेट लिए।
जितसँगै १३ खेलबाट १३ अंक बनाएको कोलकाताले प्लेअफको होडमा आफूलाई कायम राख्न सफल भएको छ। मुम्बई प्लेअफ होडबाट बाहिरिसकेको छ। प्लेअफ खेल्ने तीन टोलीको टुंगो लागिसकेको स्थितिमा अब चौथो स्थानका लागि पाँच टोली होडमा छन्। यी मध्ये राजस्थान रोयल्सले आफ्नो अन्तिम खेल जिते पुग्नेछ भने बाँकीले राजस्थानको हारसँगै आफूले खेल जित्नुपर्ने समीकरण छ।
आईपीएलमा आज चेन्नइ सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन्। चेन्नइका लागि यो खेल प्लेअफको समीकरण जीवित राख्न जित्नै पर्ने दवाबको छ भने गुजरातका लागि शीर्षदुईमा रहँदै क्वालिफायर खेल्न जित आवश्यक हुनेछ।










