म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा आर्सनल २२ वर्षपछि बन्यो प्रिमियर लिग च्याम्पियन



बिजमाण्डू
२०८३ जेठ ६ गते ०६:१७ | May 20, 2026
म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा आर्सनल २२ वर्षपछि बन्यो प्रिमियर लिग च्याम्पियन
च्याम्पियन टोली आर्सनल। तस्बिर: प्रिमियर लिग


आर्सनल २२ वर्ष इङ्ग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ। लिगमा गएराति सम्पन्न खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी बर्नेमाउथसँग १-१ गोलको बराबरीमा रोकिएसँगै शीर्ष स्थानको आर्सनल च्याम्पियन बनेको हो। यी दुबै टोलीले अन्तिम खेल खेल्न बाँकी छँदा आर्सनलको ८२ र सिटीको ७८ अंक छ।

Tata
GBIME

उपाधि होड जीवित राख्न सिटीलाई बर्नेमाउथविरुद्ध जित आवश्यक थियो। तर, पहिलो हाफमै एली जुनियर क्रोउपीको गोलमा बर्नेमाउथले अग्रता बनायो। त्यसैले उत्साहीत बनेका आर्सनल समर्थकहरू इमिरेट्स स्टेडियम बाहिर र आसपासका पबहरूमा भेला भएर खेल हेरिरहेका थिए। खेलको अन्तिम समयमा अर्लिङ हल्याण्डले गोल फर्काए पनि सिटीको बराबरीले पनि आर्सनललाई च्याम्पियन बन्ने समीकरण थियो। खेलपछि इमिरेट्स स्टेडियमबाहिर आर्सनलका समर्थकहरु भेला भएर सेलिब्रेट गरिहरेका थिए भने उता आर्सनलको प्रशिक्षण मैदानमा पनि खेलाडी र प्रशिक्षक टोली भेला भएर उपाधि सेलिब्रेट गरिरहेका थिए।

यो आर्सनलको १४ औँ लिग उपाधि हो। सन् २००३/४ को सिजनमा आर्सनलले कुनै हार नब्यहोरी च्याम्पियन बनेको थियो। लिग च्याम्पियन बनेर उत्साहित आर्सनलको नजर अब च्याम्पियन्स लिगमा रहनेछ। च्याम्पियन्स लिगको फाइनलमा आर्सनलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग प्रतिस्पर्धा गर्दैछ।