अस्ट्रेलिया बाहिर बिग ब्यास लिगको उद्घाटन, पहिलो खेल भारतको चेन्नइमा हुने चर्चा



बिजमाण्डू
२०८३ जेठ ५ गते १३:११ | May 19, 2026
अस्ट्रेलिया बाहिर बिग ब्यास लिगको उद्घाटन, पहिलो खेल भारतको चेन्नइमा हुने चर्चा
Photo: BBL


अस्ट्रेलियाको चर्चित घरेलु टी-२० प्रतियोगिता बिग ब्यास लिग (बीबीएल) को खेल पहिलो पटक अस्ट्रेलिया बाहिर आयोजना हुने सम्भावना देखिएको छ। आगामी सिजनको उद्‌घाटन खेल भारतको चेन्नईस्थित प्रसिद्ध एम.ए. चिदम्बरम स्टेडियममा आयोजना गर्न भारतीय क्रिकेट नियन्त्रण बोर्डले आधिकारिक रूपमा स्वीकृति दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

Tata
GBIME

यस योजनालाई मूर्त रूप दिन क्रिकेट अस्ट्रेलियाको ५ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल हालै चेन्नई पुगेर मैदानको निरीक्षण समेत गरिसकेको छ।

अस्ट्रेलियन प्रतिनिधिमण्डलले सोमबार स्टेडियमको ड्रेसिङ रुम र अन्य सुविधाहरूको विस्तृत निरीक्षण गरेको थियो। सो क्रममा उनीहरूले त्यहाँ भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद बीचको खेल समेत रंगशालामै बसेर अवलोकन गरेका थिए।

निरीक्षणका क्रममा बीसीसीआईका अध्यक्ष मिथुन मन्हास, तमिलनाडु क्रिकेट एसोसिएसनका पदाधिकारी र अस्ट्रेलियाली व्यापारिक समुदायका प्रतिनिधिहरू बीच चेन्नईमा महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बीसीसीआई र टीएनसीए दुवैले यस खेलका लागि पूर्ण सहमति दिइसकेका छन् भने अब सरकारी स्तरको अन्तिम सम्झौता मात्र हुन बाँकी रहेको जनाइएको छ

आगामी डिसेम्बर २०२६ को दोस्रो हप्ता आयोजना हुने यस ऐतिहासिक उद्घाटन खेलमा साविक विजेता पर्थ स्कोर्चर्स  र उपविजेता सिड्नी सिक्सर्स बीच प्रतिस्पर्धा हुने बलियो सम्भावना छ।

भारत रोज्नुको मुख्य कारण र रणनीतिक स्वार्थ

क्रिकेट अस्ट्रेलियाले यो खेल भारतमा गराउनुको पछाडि बलिया रणनीतिक र व्यापारिक कारणहरू रहेका छन्।

पहिलो त भारतीय बजार र फ्यान फलोइङ नै मुख्य कारणमा देखिन्छ। भारत क्रिकेटको सबैभन्दा ठूलो बजार हो। बिग ब्यासलाई भारतीय दर्शकमाझ अझ बढी लोकप्रिय बनाउन यो सुनौलो अवसर हुनेछ।

दोस्रो भनेको फ्रेन्चाइजको निजीकरण र भारतीय लगानी रहेको छ। क्रिकेट अस्ट्रेलियाले भविष्यमा बिगब्यासका केही टोलीहरूलाई निजीकरण गर्ने र त्यसमा आईपीएलका भारतीय लगानीकर्ताहरूलाई आकर्षित गर्ने दीर्घकालीन योजना बनाएको छ।

अर्को द्विपक्षीय र व्यापारिक सम्बन्ध पनि रहेको छ। अस्ट्रेलियाली सरकार र क्रिकेट बोर्डले यस खेललाई खेलकुदको माध्यमबाट भारत र अस्ट्रेलियाबीचको व्यापारिक तथा कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने माध्यमको रूपमा हेरेका छन्।