काठमाडौं। बालेन्द्र शाहले चुनावी क्याम्पेनका क्रममा भनेका थिए – ‘सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई!’ त्यतिबेला उनले बडीमालिका, रामारोशन र खप्तड जस्ता गन्तव्यको उदाहरण दिँदै सुदूरपश्चिमको प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नुपर्ने बताएका थिए।
‘हामी नेपालीहरू आफूसँग भएको सम्पदाको मूल्य बुझ्न नसक्ने अवस्थामा छौं। सुदूरपश्चिमलाई देशको मूलधारसँग प्रभावकारी रूपमा जोड्न सकेका छैनौं,’ उनले भनेका थिए।
अब सरकारले यही अवधारणालाई कार्यान्वयन गर्दै सुदूरपश्चिमलाई सडक, पर्यटन र पूर्वाधारमार्फत काठमाडौंसँग थप मजबुत रूपमा जोड्ने तयारी थालेको छ।
आगामी आर्थिक वर्षको बजेटमार्फत सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यलाई राष्ट्रिय सडक संजालसँग जोड्ने महत्वाकांक्षी योजना अघि सार्ने तयारी सरकारको छ। सरकारले बडिमालिका, रामारोशन र खप्तडलाई केन्द्रमा राखेर एकीकृत पर्यटन पूर्वाधार तथा सडक आयोजना अगाडि बढाउने तयारी गरेको हो।
सरकारले ल्याउन लागेको ‘बडिमालिका-रामारोशन-खप्तड पर्यटन सडक आयोजना’ अन्तर्गत बाजुराको बडीमालिका, अछामको रामारोशन र डोटी-बझाङ क्षेत्रको खप्तडलाई एउटै पर्यटन सर्किटका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। योजना अनुसार ती क्षेत्रलाई सडक, पदमार्ग र आधुनिक पर्यटकीय पूर्वाधारमार्फत एकीकृत गरिनेछ।
सरकारले संवेदनशील पर्यावरणीय क्षेत्रसम्म सिधै सडक नपुर्याई सीमित विन्दुसम्म मात्रै सडक विस्तार गर्ने र त्यसपछि केबलकारमार्फत पहुँच विस्तार गर्ने अवधारणामा समेत छलफल अघि बढाएको छ। यस विषयमा निजी क्षेत्रसँग प्रारम्भिक छलफल भइसकेको सरकारी स्रोतले जनाएको छ।
खप्तड क्षेत्रमा झिग्राना–खप्तड मुख्यालय जोड्ने करिब ७ किलोमिटर लामो केबलकार परियोजनाको प्रस्ताव अघि सारिएको छ। डोटीको झिग्रानादेखि खप्तड राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रमा पुग्ने उक्त परियोजनाका लागि करिब २८ अर्ब रुपैयाँ खर्च अनुमान गरिएको छ। निजी क्षेत्रले यससम्बन्धी प्रारम्भिक परियोजना प्रतिवेदन सरकारलाई बुझाइसकेको बताइएको छ।
सरकारले आगामी बजेटमार्फत आयोजनाको प्रारम्भिक अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र पूर्वतयारीका लागि बजेट विनियोजन गर्ने तयारी गरेको छ। त्यसपछि अर्को आर्थिक वर्षदेखि यसलाई ‘रूपान्तरणकारी आयोजना’का रूपमा अघि बढाइने जनाइएको छ।
हाल यी तीनै गन्तव्यसम्म सहज सडक पहुँच छैन। कतिपय सडक निर्माणाधीन छन् भने केही मार्ग अझै अलपत्र अवस्थामा रहेका छन्।
खप्तड क्षेत्रमा अहिले डोटीको झिग्राना र बझाङको मेल्तडीसम्म मात्र कच्ची सडकको ट्र्याक खुलेको छ। त्यसपछि खप्तड पुग्न अझै ४ देखि ८ घण्टासम्म पैदल यात्रा गर्नुपर्ने अवस्था छ। सडक स्तरोन्नति र कालोपत्रे नहुँदा वर्षायाममा यातायात अवरुद्ध हुने समस्या कायम छ।
बडीमालिकामा बाजुराको सदरमुकाम मार्तडीसम्म सडक पुगे पनि मुख्य मन्दिर क्षेत्रसम्म सवारी साधन पुग्दैन। मार्तडी तथा साँफेबगरबाट बडीमालिका जोड्ने विभिन्न सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ।
रामारोशन क्षेत्रमा अछामको जयगढ वा तिमिल्सैनसम्म सवारी साधन पुग्ने भए पनि वर्षायाममा सडक अवरुद्ध हुने समस्या छ। मंगलसेन हुँदै रामारोशन पुग्ने मार्गमा स्तरोन्नतिको काम जारी रहेको बताइएको छ।
यी क्षेत्रलाई एकीकृत रूपमा विकास गर्ने उद्देश्यसहित ‘फार वेस्ट हेरिटेज ट्रेल’ अवधारणा अघि सारिए पनि पूर्वाधार विकास सुस्त गतिमा रहेको छ। सडक पहुँच कमजोर भएकै कारण पछिल्ला वर्षहरूमा खप्तड क्षेत्रमा हेलिकप्टर टुर र होमस्टे पर्यटनको अभ्यास बढ्दै गएको छ।
केन्द्र सरकार, सुदूरपश्चिम प्रदेश सरकार, राष्ट्रिय योजना आयोग तथा स्थानीय तहबीच संयुक्त समन्वयमार्फत यी क्षेत्रको एकीकृत विकास कार्ययोजना निर्माण भइरहेको बताइएको छ।
यससँगै महाकाली करिडोर, सेती लोकमार्ग र कर्णाली करिडोरजस्ता रणनीतिक सडक आयोजनालाई तीव्रता दिने तयारी पनि गरिएको छ। उत्तर-दक्षिण सडक सञ्जाल विस्तार, पूर्व-पश्चिम राजमार्गलाई चिसापानीदेखि गड्डाचौकीसम्म ६ लेनमा स्तरोन्नति गर्ने तथा भीमदत्त र मध्यपहाडी राजमार्गलाई सुरक्षित डबल लेन सडकमा रूपान्तरण गर्ने विषय पनि सरकारी प्राथमिकतामा परेको छ।










