काठमाडौं। नेपाली क्रिकेट टोलीले स्कटल्याण्डलाई हराएको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको खेलमा नेपालले स्कटल्याण्डमाथि ६ विकेटको जित निकालेको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ३९.१ ओभरमा अलआउट हुँदै १९४ रन बनाएको थियो। १९५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३८.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो।
नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै ठीकठाक सुरुवात दिलाए। आशिफ २९ रनमा रनआउट हुँदा कुशलले २८ रन बनाएर ब्राण्डन म्याकमुलेनको बलमा एलबीडब्लु आउट भए।
तेस्रो विकेटका लागि देब्रेहाते ब्याटर इशान पाण्डे र कप्तान रोहित पौडेलले बलियो साझेदारी गरे। अर्धशतकीय इनिङ्स खेलेका पाण्डेले ६१ बलमा ५५ रन बनाउँदा लयमा संघर्ष गरिरहेका कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतकीय इनिङ्स खेले। रोहितले ९८ बलमा ७४ रन बनाउँदै अविजित रहे। आरिफ शेख ८ रनमा अविजित रहे।
बलिङमा स्कटल्याण्डका मार्क वाटले २ विकेट लिँदा ब्राण्डन म्याकमुलेनले १ विकेट लिए।
स्कटल्याण्डको इनिङ्स
त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ३९.१ ओभरमा अलआउट हुँदै १९४ रन बनाएको थियो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा स्कटल्याण्डका लागि शीर्षक्रमका ब्याटर ब्राण्डन म्याकमुलेनले सर्वाधिक ७३ रन बनाउँदै इनिङ्सलाई आक्रामक हिसावले अघि बढाउन खोजेका थिए। ४४ बल खेलेका उनले समान ६ चौका र छक्का प्रहार गरे। उनको विकेट लिएर सन्दीप लामिछानेले नेपाललाई ब्रेकथ्रु दिलाएका थिए। उनीबाहेक माइकल इङ्ग्लिसले ५१ रन बनाउँदा जर्ज मुन्सेले २१ तथा मार्क वार्टले २० रनको योगदान दिए।

बलिङमा पेसरहरुले संघर्षगर्दा स्पीनरहरु हाबि भए। ललित राजवंशीले ४ तथा सन्दीप लामिछानेले ३ विकेट लिँदै स्कटल्याण्डको ब्याटिङलाई धराशायी बनाउँदा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान १ विकेट लिए। योसँगै सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा १५० विकेट पनि पूरा गरेका छन्। उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट लिने खेलाडी बनेका हुन्। उनले ७३ खेलबाट यो कीर्तिमान बनाउँदा ७७ इनिङ्सको कीर्तिमानलाई पछि पारे। यो कीर्तिमान अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो।
ललितले ८ ओभर बलिङ गरेर ३२ रन दिँदा लामिछानेले आफ्नो स्पेल पूरा गर्दै ४७ रन खर्चिए। महँगो सावित भएका सोमपाल कामीले ४ ओभर बलिङ गरेर १ विकेट लिँदै ३० रन खर्चिए।
अंकतालिकामा फड्को
स्कटल्याण्डलाई हराएसँगै दुई अंक जोडेको नेपाल २२ अंकसहित सातौँ स्थानबाट पाँचौँ स्थानमा उक्लिएको हो।
नेपाल २७ खेलबाट २२ अंक बनाउँदै पाँचौँ स्थानमा रहँदा २८ खेलबाट समान २२ अंक बनाएको नामिबिया छैटौं, २४ खेलबाट २१ अंक बनाएको क्यानडा सातौँ र २४ खेलबाट १४ अंक बनाएको यूएई तालिकाको पुछारमा छ।
हारको बावजुद स्कटल्याण्ड तालिकाको शीर्षस्थानमा ३८ अंकसहित छ। दोस्रो स्थानमा ३६ अंक बनाएको अमेरिका, तेस्रो स्थानमा ३१ अंक बनाएको ओमन र चौथो स्थानमा २८ अंक बनाएको नेदरल्याण्ड्स छ।










