इभीमा बीवाइडीको ‘फ्ल्यास चार्जिङ’ प्रणाली, ५ मिनेटमै ७० प्रतिशतसम्म ब्याट्री चार्ज!

बिजमाण्डू
२०८३ जेठ ४ गते १६:४३ | May 18, 2026
इभीमा बीवाइडीको ‘फ्ल्यास चार्जिङ’ प्रणाली, ५ मिनेटमै ७० प्रतिशतसम्म ब्याट्री चार्ज!


विद्युतीय गाडी उत्पादक चिनियाँ कम्पनी बीवाइडीले चार्जिङ सुविधामा छलाङ मार्न ‘फ्ल्यास चार्जिङ’ प्रणाली विकासलाई तीव्रता दिएको छ।

Vigo
GBIME
Tata

कम्पनीले पेट्रोल तथा डिजेल गाडीमा इन्धन भरेजस्तै छोटो समयमा गाडी चार्ज गर्न सकिने गरी ‘फ्ल्यास चार्जिङ’ प्रणाली विकास गरिरहेको हो।

सामान्यतया इन्धन गाडीमा केही मिनेटमै ट्यांकी भरिन्छ। इभी गाडी चार्ज गर्न भने केही घण्टा लाग्छ। त्यही अन्तर हटाउन बीवाइडीले मेगावाट स्तरको अल्ट्रा फास्ट चार्जिङ प्रणाली विकास गरिरहेको हो। यो प्रणाली प्रयोगमा आएपछि धेरै किलोमिटर यात्रा गर्न पुग्ने चार्ज केही मिनेटमै गर्न सक्ने दाबी गरिएको छ।

बीवाइडीको फ्ल्यास चार्जिङ प्रणालीमा १ हजार ५०० किलोवाटसम्मको क्षमता छ। कम्पनीको नयाँ ब्याट्री जडित सवारी साधन यी चार्जरमार्फत केवल ५ मिनेटमै १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज हुन सक्ने बताइएको छ।

बीवाइडीका अनुसार नयाँ फ्ल्यास चार्जिङ प्रविधिमार्फत सवारी साधनलाई १० प्रतिशतबाट ९७ प्रतिशतसम्म (जसलाई अधिकांशले पूर्ण चार्ज मान्छन्) केवल ९ मिनेटमै चार्ज गर्न सकिन्छ। अत्यधिक चिसो अर्थात् माइनस ३० डिग्री सेल्सियस तापक्रममा समेत २० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज हुन करिब १२ मिनेट मात्र लाग्ने बताइएको छ।

कम्पनीले अहिले आफ्नो नयाँ ब्याट्री तथा फ्ल्यास चार्जिङ प्रविधि लोकप्रिय इभी मोडलहरुमा विस्तार गर्न थालेको छ। चीन बाहिर बीवाइडी एटो३ नामले बिक्री हुने बीवाइडी युयान प्लसलाई समेत नयाँ ब्याट्री प्रणालीसहित अपग्रेड गरिएको छ। यो प्रविधि पुराना मोडलमा भने लागू हुँदैन।

केही वर्षयता ब्याट्री रेन्ज, सफ्टवेयर, उत्पादन क्षमता र एक्सेलेरेसनमा तीव्र प्रगति भए पनि लामो चार्जिङ समय इभी विस्तारमा मुख्य अवरोध मानिएको थियो। यही समस्यालाई समाधान गर्न बीवाइडीले केही मिनेटमै सयौं किलोमिटर दूरीका लागि आवश्यक ऊर्जा भर्न सक्ने नयाँ चार्जिङ प्रणाली विकास गरिरहेको हो।

कम्पनीको दोस्रो पुस्ताको ‘ब्लेड ब्याट्री’ र मेगावाट स्तरको चार्जिङ प्रणाली यस रणनीतिको केन्द्रमा छन्।

द्रुत गतिमा चार्जिङ हुने प्रणाली विकास भएपछि विश्वभर इभीको प्रयोग तीव्र गतिमा बढ्ने विश्लेषकहरुको बुझाइ छ। अहिले धेरैजसो उपभोक्ता चार्जिङ स्टेसनको सीमितता र लामो प्रतीक्षा समयका कारण इभी खरिदमा हिच्किचाउने गरेका छन्।

त्यसैले अहिले इभी उत्पादक कम्पनीले गाडी बिक्रीमा मात्र होइन, चार्जिङ पूर्वाधार, ब्याट्री प्रविधि, एआई, सफ्टवेयर र स्वचालित ड्राइभिङ प्रणालीमा समेत प्रतिस्पर्धा गरिरहेका छन्।

टेस्लाले आफ्नो सुपरचार्जर नेटवर्कमार्फत लामो समयदेखि फास्ट चार्जिङ बजारमा अग्रता कायम राख्दै आएको छ। तर बीवाइडीले ब्याट्री उत्पादन, कम मूल्य र छिटो चार्जिङ क्षमताका कारण टेस्लालाई कडा चुनौती दिन थालेको छ।

ब्याट्री उत्पादन, खनिज प्रशोधन र अनुसन्धानमा चीनको अग्रता रहेकाले बीवाइडी, सीएटीएल जस्ता कम्पनी विश्व बजारमा प्रभावशाली बनेका छन्।

अल्ट्रा फास्ट चार्जिङ प्रविधिमा चुनौती पनि छन्। मेगावाट स्तरको चार्जिङका लागि धेरै विद्युत्, आधुनिक ग्रिड प्रणाली, ट्रान्सफर्मर तथा महँगो पूर्वाधार आवश्यक पर्छ। विशेषगरी ग्रामीण तथा विकासोन्मुख देशहरुमा यस्तो पूर्वाधारको निर्माण चुनौतीपूर्ण हुन सक्ने अनुमान छ।

अत्यधिक छिटो चार्जिङले ब्याट्रीको दीर्घकालीन क्षमतामा असर पार्न सक्ने चिन्ता पनि छ। छिटो चार्जिङका क्रममा अत्यधिक ताप उत्पन्न हुने भएकाले कम्पनीहरूले नयाँ कूलिङ प्रणाली र उन्नत ब्याट्री रसायनमा काम गरिरहेका छन्।