काठमाडौं। प्रधान्यायाधीश नियुक्तिको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाटी, अधिवक्ता विपिन ढकाल लगायत संवैधानिक परिषद्को निर्णयविरुद्ध शुक्रबार रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्।
रिटमा वरिष्ठ न्यायाधीशलाई पन्छाएर रोलक्रममा चौथो नम्बरमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गर्न गरिएको सिफारिस खारेज गर्न माग गरिएको छ। परिषद्को सिफारिस कार्यान्वयन भएको अवस्थामा न्यायपालिका ध्वस्त हुने दाबी गरिएको छ।
संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले रोलक्रममा चौथो नम्बरमा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो।
वरीयतामा सपना प्रधान मल्ल पहिलो नम्बरमा थिइन्। उनी एक महिनादेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छिन्। रोलक्रममा दोस्रो वरीयतामा रहेका कुमार रेग्मी र तेस्रो वरीयतामा रहेका हरि फुयाल भने शर्मासँगै २०७६ वैशाखमा एकैदिन न्यायाधीश नियुक्त भएका हुन्।
शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता र राष्ट्रिय सभाका अध्यक्ष भीष्मराज आङदेम्बेले लिखित असहमति जनाएका थिए।










