काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का निवर्तमान अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई आफूले ‘दबाब समूह’बाट ‘विकास साझेदार’का रूपमा स्थापित गर्ने प्रयास गरेको बताएका छन्।
उनले बुधबार एफएनसीसीआईका नयाँ अध्यक्ष अञ्जन श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरणपछि सामाजिक सञ्जालमार्फत लगानीमैत्री वातावरण निर्माण, आन्तरिक तथा बाह्य लगानी प्रवर्धन र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न निरन्तर पहल गरेको पनि उल्लेख गरेका छन्।
‘मैले सहकार्य, नीतिगत सुधार र संस्थागत रूपान्तरणमार्फत निजी क्षेत्रलाई ‘दबाब समूह’बाट ‘विकास साझेदार’का रूपमा स्थापित गर्ने प्रयास गरेको छु,’ उनले भनेका छन्, ‘लगानीमैत्री वातावरण निर्माण, आन्तरिक तथा बाह्य लगानी प्रवर्द्धन र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न निरन्तर पहल गरिएको छ।’
ढकालले राष्ट्रिय आर्थिक बहसलाई संस्थागत बनाउने, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमार्फत कानुनी सुधारको आधार तयार गर्ने, बृहत रूपमा स्वदेशी पुँजी परिचालनका लागि ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गर्ने तथा विधान संशोधनमार्फत एफएनसीसीआईको नेतृत्व चयन प्रक्रियालाई थप पारदर्शी र उत्तरदायी बनाउने कार्य आफ्नो कार्यकालका महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्।
उनले एफएनसीसीआईको अध्यक्षबाट बाहिरिए पनि मुलुकको आर्थिक विकास र निजी क्षेत्रको सुदृढीकरणमा निरन्तर योगदान गर्ने बताएका छन्।











