एफएनसीसीआईमा अञ्जनलाई सहज हुने गरी चुनियो नयाँ नेतृत्व, एसोसियट उपाध्यक्षमा पाण्डे



बिजमाण्डू
२०८३ बैशाख २३ गते १५:०० | May 6, 2026
एफएनसीसीआईमा अञ्जनलाई सहज हुने गरी चुनियो नयाँ नेतृत्व, एसोसियट उपाध्यक्षमा पाण्डे


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

Tata
GBIME
Nepal Life

विधानको व्यवस्था अनुसार स्वत: अध्यक्ष बनेका अञ्जन श्रेष्ठलाई सहज हुने गरी नयाँ नेतृत्व चयन भएको छ।

एसोसियटतर्फको उपाध्यक्षमा अञ्जनको समूहका प्रवल जंग पाण्डे निर्वाचित भएका छन्।

पाण्डे प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठलाई ३२९ मतले पछि पार्दै निर्वाचित भएका हुन्।

पाण्डेले १०७९ मत ल्याउँदा श्रेष्ठले ७५० मतमा चित्त बुझाइन्। श्रेष्ठ उपाध्यक्षमा दोहोरिन चुनावी मैदानमा उत्रिएकी थिइन्। उनी हेमराज ढकाल प्यानलकी हुन्।

एसोसियट महिला सदस्यमा पनि पाण्डेकै प्यानलका उम्मेदवार निर्वाचित भएका छन्। जुना माथेमा ११५६ र अभिज्ञा मल्ल १०५९ मतसहित निर्वाचित भएका हुन्। ज्योत्सनाको प्यानलका शोभा ज्ञवालीले ७२१ र जमुना पौडेलले ७३२ मत पाए।

एसोसियटतर्फ निर्वाचित अरु १७ सदस्यमध्ये १६ जना पाण्डेको प्यानलका हुन्।

एसोसिएट सदस्यतर्फ सचिन ढकालले १३१८, हेमन्त गोल्छा १२०२, अम्बिका प्रसाद पौडेल ११८३, उज्ज्वल कुमार श्रेष्ठ ११५६, शक्ति कुमार बेगानी ११४२, ऋषि अग्रवाल ११२२, सुशिल थापा १०९४, राजेश कुमार अग्रवाल १०८२, सुयस प्याकुरेल १०६९, रामशरण भण्डारी १०४३, बाबुकाजी कार्की १००६, दिवश न्यौपाने ९९१, कृष्णलाल महर्जन ९७४, प्रियराज रेग्मी ९५४, ईश्वरबहादुर जीसी ९४९, सुरज उप्रेती ९०७ र बटु लामिछाने ८६० मत ल्याएर विजयी भएका छन्। बटु ज्योत्सनाको प्यानलका हुन्।

जिल्ला नगर उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन्। शर्माले ८७ मत र श्रेष्ठले ८० मत पाए। उनीहरु दुवै जना अञ्जनको समूहका हुन्।

अञ्जनको समूहका अधिकांश उम्मेदवार निर्वाचित हुँदा वस्तुगत उपाध्यक्ष भने हेमराजको समूहले पाएको छ।

वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन्। उनले ६३ मत ल्याउँदा प्रतिस्पर्धी शिव घिमिरेले ६० मत पाए।