काठमाडौं । विगत १९ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा अनवरत सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ।
वि.सं. २०६४ साल बैशाख ७ गते २० औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको यस बैंकले आजदेखि २० औँ वर्षमा प्रवेश गरेको हो।
यस अवधिमा बैंकले करिब २० लाख ११ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको जनाएको छ। बैंकको पछिल्लो वित्तीय विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिब २ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। कर्जा तर्फ १ खर्ब ७७ अर्ब रुपैयाँ परिचालन गरिएको जनाइएको छ।
हाल देशका ६१ जिल्लामा २०० वटा शाखा, १६९ वटा एटिएम, ३ वटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरु मार्फत बैंकले सेवा दिइरहेको छ। त्यस्तै, सातवटै प्रदेशमा बैंकका आफ्नै भवनमा प्रादेशिक कार्यालयहरु संचालनमा रहेका छन्।
वार्षिकोत्सवको अवसरमा बैंकले सातवटै प्रदेशमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरेको छ। वित्तीय साक्षरता अभिवृद्धिका लागि देशभरका ९४६ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी आयोजना गरिएको छ।
त्यस्तै, ’रक्तदान नै जीवनदान’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा २० वटा शाखाहरुबाट ५५० जनाले रक्तदान गरेका छन्।
यसका साथै कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न दुर्गम शाखाहरुमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको बैंकले जनाएको छ। त्यहाँबाट करिब ५०० जनाले स्वास्थ्य परीक्षण र औषधि प्राप्त गरेको जनाइएको छ।
बैंकले ग्राहकहरुको सहजताका लागि नयाँ प्रविधिहरुलाई आत्मसात गरिरहेको जनाएको छ। अब ग्राहकहरुले ‘डिजी बैकिङ’ मार्फत घरमै बसेर आफ्नो केवाइसी विवरण अद्यावधिक गर्न सक्ने जनाइएको छ।
त्यस्तै, नेपालमै पहिलो पटक व्यावसायिक बैंकिङका लागि इआरपी प्रणालीलाई बैंक खातासँग प्रत्यक्ष जोड्ने एपीआई प्रणाली सुरु गरिएको छ। यससँगै, साना तथा ठूला कर्पोरेट ग्राहकहरूका लागि भौतिक उपस्थिति बिना नै कारोबार गर्न सकिने गरी फोनपेसँगको सहकार्यमा ‘फोनपे कर्पोरेट सोलुसन्स’ सेवा पनि सुरु गरिएको जनाइएको छ।
विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२४ र २०२५ अवार्ड प्राप्त गरेको बैंकले आगामी दिनमा अझ सुरक्षित र प्रविधिमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।











