काठमाडौं। चुनावी गुटले कमजोर बन्दै गएको निजी क्षेत्रको संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा बुधबार कार्यसमिति बैठक थियो।
दिउँसो १ बजेका लागि तय बैठक केही घण्टामै सकिने अनुमान थियो। तर, कार्यसमिति बैठक महासंघको इतिहासमै लामो मात्र भएन, विवाद समाधान नै नहुने अवस्था सिर्जना भयो।
छलफल सहमतिमा पुग्नै नसक्ने अवस्था आएपछि अन्तिममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो निर्णय सुनाउँदै बैठक समाप्तिको घोषणा गरे।
महासंघका एक पदाधिकारीका अनुसार ढकालले सुनाएको निर्णयमा वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ ‘नोट अफ डिसेन्ट’ लेख्ने भन्दै बाहिरिए। अन्जन बैठकपछि डिनरमा छोडेर हिंडेको ती पदाधिकारीले जानकारी दिए।

‘अध्यक्षज्यूले निर्णय सुनाउँदै कार्यसमिति सदस्य पशुपतिदेव पाण्डेको रेष्टुरेन्टमा डिनर गर्न सबै सहभागी हुनुहोस् भन्नुभएको थियो। तर, वरिष्ठ उपाध्यक्ष त्यहाँ जानुभएन,’ उनले बिजमाण्डूसँग भने।
ती पदाधिकारीका अनुसार उच्च अदालत पाटनले दिएको आदेश अनुसार सदस्यताका लागि आवेदन दिएका १८ वटा वस्तुगत संघलाई सदस्यता दिने/नदिने विषयमा आसन्न चुनावको मत परिणामलाई हेरेर महासंघका पदाधिकारी दुई गुटमा विभाजन भएका थिए।
त्यही भएर बुधबारको कार्यसमिति बैठकमा १८ वटा संघलाई सदस्यता दिने/नदिने निर्णय छलफलबाट नटुंगिए भोटिङसम्म गर्ने कसरत भएको थियो। भोटिङसम्मको कसरतकै कारण साढे ७ घण्टा लामो बैठकमा सबै सदस्य एकाकार भएर बसेका थिए।
१८ वटा वस्तुगत संघलाई सदस्यता र मताधिकार दिनुपर्ने पक्षको नेतृत्व वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका उपाध्यक्ष हेमराज ढकालले गरेका थिए।

उनलाई वस्तुगततर्फ उपाध्यक्ष उम्मेदवार नरेशलाल श्रेष्ठ र एसोसिएटतर्फ उपाध्यक्षमा दोहोरिन चाहेकी ज्योत्सना श्रेष्ठले साथ दिए।
१८ वटा संघलाई सदस्यता दिन नहुने पक्षमा समूहको अगुवाइ गरेका वरिष्ठ उपाध्यक्ष अन्जनको पक्षमा वस्तुगत उपाध्यक्षका उम्मेद्वार शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षका उम्मेद्वार प्रवलजंग पाण्डे र जिल्लानगर उपाध्यक्षका उम्मेद्वार सुरकृष्ण श्रेष्ठ उभिए।

महासंघको अबको अधिवेशनमा १८ संघको सदस्यताले मत परिणाममा प्रभाव पर्छ। त्यही कारण महासंघमा दुई पक्ष दुई कित्तामा उभिएको हो। उच्च अदालत पाटनले चैत २६ गते विभिन्न १८ वटा वस्तुगत संघलाई सदस्यता दिएर अधिवेशनमा सहभागी गराउन अन्तरिम आदेश दिएको थियो।
अदालतको आदेशकै कारण चैत २९ र ३० गतेका लागि तय अधिवेशन स्थगित भएपछि महासंघले साधारण सभा वैशाख २१ र २२ गतेका लागि सारेको थियो।
अधिवेशन फेरि पनि सर्ने भयका कारण अन्जनको समूह एकजुट भएर कार्यसमिति बैठकमा प्रस्तुत भएको थियो। स्रोतका अनुसार कार्यसमिति बैठक सुरु हुनासाथ वस्तुगत उपाध्यक्षका उम्मेदवार घिमिरेले १८ वटा संघलाई सदस्यता दिने प्रक्रियाका विषयमा प्रश्न उठाए।
‘विधि र प्रक्रिया अनुसार सदस्यता दिने विषय जायज हुन्छ। हामीले यो विषयलाई समाधानको बाटोमा लगेर महासंघको गरिमालाई पनि जोगाउनुपर्छ,’ उनले भने।
बैठकमा १८ वटा संघलाई सदस्यता दिने/नदिने विषयमा कार्यसमिति बै्ठकमा ठूलै रस्साकस्सी भयो। ‘हेमराज समूहले सदस्यता दिनुपर्ने तर्क राखेपछि अर्को समूहले सदस्यता सिफारिस समितिका संयोजक तथा पूर्वअध्यक्ष शेखर गोल्छाले मापदण्ड नपुगेको भनेर सिफारिस गरेको कुरा अर्को समूहले उठायो,’ कार्यसमितिका एक सदस्यले भने, ‘त्यसमै फेरि हेमराज समूहले गोल्छाको एकल निर्णय मान्न नसकिने तर्क राखेपछि विवाद थप चर्कियो।’
स्रोतका अनुसार विवाद चर्किंदै गएपछि जिल्ला नगर उपाध्यक्ष उम्मेदवार कल्पना गैरेले अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठको लडाइँले महासंघलाई बन्दी बनाउन नहुने धारणा राखिन्। त्यसपछि अन्जनले आक्रोशित हुँदै भने, ‘हामीले पौंठेजोरी खेलेका छौं र?’
स्रोतका अनुसार १८ वटा संस्थाको मापदण्डका बारेमा प्रश्न उठाइएपछि कार्यसमिति सदस्य लिलेन्द्र प्रधानले अहिले सदस्य रहेका १२० वटै संस्थाको परीक्षण गर्नुपर्ने धारणा राखे।
‘१८ वटाको मात्रै परीक्षण गर्ने कुरा राम्रो होइन। पहिला सदस्य भइसकेका १२० वटाकै परीक्षण गर्नुपर्छ,’ उनले भने, ‘सदस्यता दिने विधि छन्। त्यही विधि र महासंघको संरचनाका आधारमा कतिपयलाई सदस्यता दिएको होला। हामीले सबैमा कडा नियम कार्यान्वयन गर्नु उचित हुँदैन।’
उनले चुनावी रणनीतिकै लागि यसअघि धेरै सदस्य भएको जिकिर गर्दै त्यो विषयलाई आगामी दिनमा सुरुमै कडिकडाउ गरेर रोक्नुपर्ने मत राखे।
त्यसअघि कार्यसमितिका केही सदस्यले घुमाउरो रुफमा अध्यक्ष ढकालले आफ्नो कार्यकाल लम्ब्याउनका लागि विवाद समाधानमा बेवास्ता गरेको आरोप लगाएका थिए। स्रोतका अनुसार महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीको भनाइ उद्यृत गर्दै ढकालमाथि कार्यकाल लम्ब्याउन खोजेको आरोप लगाइएको थियो।

त्यसपछि अध्यक्ष ढकालले आफूले कार्यकाल लम्ब्याउन नखोजेको बरु कानुनी उल्झन हटाएर ग्रेसफूल एक्जिट चाहेको जवाफ फर्काए।
‘मैले कार्यकाल लम्ब्याउन खोजेको भनिएको छ। मलाई कार्यकाल लम्ब्याउनु छैन। तपाइँहरु यो विवाद समाधानका लागि लचिलो बन्नुस् मेरो विन्ती छ,’ उनले भने, ‘हामीले कानुनी उल्झनमा फसेर महासंघलाई कमजोर बनाउनु हुँदैन।’
यसअघि उनले १८ संस्थाका केही प्रतिनिधिलाई भेटेर अनावश्यक विवाद गरेर साधारण सभा प्रभावित नबनाउन आग्रह गरेको स्रोतले बतायो।

अध्यक्ष ढकालले विवाद समाधानका लागि अडान छोड्न दुवै पक्षलाई आग्रह गरेपछि १८ संस्थालाई सदस्यता दिने तर मताधिकार नदिने मध्यमार्गी प्रस्ताव हलबाट आयो।
यो प्रस्तावमा मुद्दामा नजाने ग्यारेन्टी चाहिने कुरा उठ्यो। मुद्दा मामिला रोक्न आग्रह गर्ने सहमति भयो। यो सहमतिमा अन्जन समूहका घिमिरे र पाण्डेले समर्थन जनाए।
स्रोतका अनुसार १८ संस्थालाई सदस्यता दिने तर नयाँ विधान अनुसार तीन वर्ष नवीकरण नभएसम्म मताधिकार नपाउने व्यवस्था उनीहरुका हकमा पनि लागू हुने प्रस्तावमा घिमिरे र पाण्डे राजी भए।
तर, अन्जनले सदस्यता दिनै नहुने अडान राखे।

साढे ८ बजेसम्म पनि विवाद समाधान नभएपछि अध्यक्ष ढकालले १८ संस्थालाई सदस्यता दिने तर मताधिकार भने तीन वर्ष नवीकरण गरेपछि मात्रै पाउने निर्णय सुनाएर बैठक समाप्तिको घोषणा गरे। यो घोषणामा अन्जन आफ्नो ‘नोट अफ डिसेन्ट’ रहने भन्दै बैठकबाट बाहिरिएका थिए।











