काठमाडौं । विवादास्पद व्यापारी दीपक भट्टलाई हिरासतमा राख्न थप १० दिन म्याद थप भएको छ।
सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानको क्रममा हिरासतमा रहेका भट्टलाई थप राख्नको लागि सोमबार १० दिन म्याद थप गरिएको हो। न्यायधीश नवराज दुलालको इजलासले म्याद थप गरेको हो।
विभागको टोलीले भट्टलाई चैत १९ गते नियन्त्रणमा लिएको थियो। पहिलो पटकको १० दिनको म्याद सकिएर सोमबार दोस्रो पटक म्याद थप गरिएको हो। सोमबार विभागले थप १० दिन हिरासतमा राख्न मागेको थियो।
यसबीचमा विभागले भट्टसँग बयान पनि लिएको छ। त्यस्तै आवश्यक परेको खण्डमा थप बयान समेत गर्न सक्नेछ।
‘यो थपिएको अवधिमा नै लगभग अनुसन्धान सक्न भन्ने छ। तर अनुसन्धानले कहिले काहीँ फरक रूप लिँदा लम्बिन पनि सक्छ,’ एक अनुसन्धान अधिकृतले भने।
भट्टले पब्लिक कम्पनीको पैसा आफ्नो नाममा सेयर किन्न दुरुपयोग गरेका थिए। यसबारेमा बिजमाण्डूले विस्तृतमा समाचारहरु प्रकाशन गर्दै आइरहेको छ।
भट्टले पब्लिक कम्पनी हिमालयन रि इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड, हिमालयन इन्भेष्टमेन्ट बैंकरबाट २२ करोड, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड, एचएलआइ लार्ज क्याप फण्डबाट २५ करोड रुपैयाँ र हिमालयन क्यापसर्बबाट ३७ करोड रुपैयाँ निकालेर नेपाल रि इन्स्योरेन्सको १९ लाख ७९ हजार कित्ता, गार्जियन माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता र नेपाल माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता सेयर किनेका थिए।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल बिमा प्राधिकरणको अनुसन्धानबाट यो कर्तुत पत्ता लागेपछि भट्ट चैत १९ गते पक्राउ परेका थिए। पब्लिक कम्पनीको पैसाले उनको नाममा किनिएको सेयर कारोबार यसअघि नै रोक्का गरिएको छ।
त्यस्तै उनीसँग जोडिएका अन्य मानिसलाई पक्राउ गरेर अनुसन्धान गरिएको छ। विभागले यस घटनामा जोडिएका केही कर्मचारीसँग पनि बयान गरेको छ। अहिले विभागको नियन्त्रणमा भट्टसँगै सुलभ अग्रवाल पनि रहेका छन्।










